छोरी भागेपछि श्रीमती कुटे पहाडीले


काठमाडौं,साउन ११ । अनामनगरस्थित एक घर । दुई महिला जोडजोडले चिच्याइरहेका छन् । घरभित्र छिर्दा देखियो– कलाकार टीका पहाडी ती महिलालाई पिटिरहेका थिए । टीका निकै आक्रोशित मुद्रामा देखिन्थे । महिलहरूको चिच्याहट झन् बढ्दै छ । छेउमा हेर्ने मान्छेको भिड छ तर छुट्याउन कोही जाँदैन । कोहीकोहीचाहिँ महिलाहरू चिच्याउँदा हाँसिरहेका पो देखिन्छन् । हुँदाहुँदा पहाडी ती महिलालाई पेटीले हिर्काउन थाले । एक महिलाको घाँटी समातेर मार्नै आँटिसके । यत्तिकैमा कतैबाट आवाज आयो– कट । सबैजना सामान्य अवस्थामा आए । आक्रोशित पहाडी एकाएक मुस्काउन थाले । चिच्याइरहेका महिलाको अनुहार पनि यतिखेर मुस्कानले उज्यालिएको देखियो ।
प्रसंग हो– चलचित्र मञ्जरीको । बुधबार अनामनगरस्थित नूतन स्टुडियोमा यसको सुटिङ भइरहेको थियो । कलाकारहरू टीका पहाडी, कोपिला थापा र सरिता भण्डारी सट दिइरहेका थिए । छोरीको भूमिका चाहिँ सुजाता कोइरालाले गरेकी छन् । बाबुले पुलपुल्याएर राखेकी छोरी कसरी हराई र त्यसरी हराउँदा पनि समयमा नै किन खबर नगरेको भन्दै आफ्नै श्रीमती र भाइबुहारीलाई कुटेको दृश्य हो यो,’ निर्देशक गणेशदेव पाण्डेले छायांकन भइरहेको सो दृश्यबारे प्रस्ट्याए । बाबुको भूमिका लामो समयपछि चलचित्रमा देखिन थालेका पहाडीले गरेका छन् भने कोपिला आमा र सरिता काकी बनेका छन् ।

‘मैले निर्वाह गरेको पात्रकी सन्तान भनेकै एउटी छोरी हुन्छे । जसलाई ऊ असाध्यै माया गर्छ । जहिल्यै समयमै कलेजबाट फर्कने छोरी त्यस दिन राति ९ बजेसम्म पनि आइपुग्दिन । त्यसैले बेलैमा किन खबर नगरेको भनेर ऊ परिवारसँग आक्रोशित किसिमले स्पष्टीकरण सोध्छ, यही दृश्यको अभिनय गरेको हुँ,’ टीकाले आफ्नो भूमिकाबारे प्रस्ट्याए, ‘चलचित्रमा रियल लागोस् भनेर सकेसम्म खुलेर अभिनय गरेको छु ।’
चलचित्रमा फर्कन यत्तिको लामो समय किन लगाएका त टीकाले ? भने, ‘काठमाडौंबाहिरको बसाइ भएकाले केही वर्षयता ध्यान दिनै पाइएन ।’ चलचित्रको क्यामेरा फेरिए पनि निर्माणशैलीदेखि अन्य पक्षचाहिँ जहाँको तहीँ देख्दा आफूलाई दु:ख लागेको पनि उनले सुनाए । ‘यसमा मैले धनी मानिसकी श्रीमतीको भूमिका गरेकी छु, यस्ता कुटाइ खाने दृश्य त कति छन् कति †’ अभिनेत्री कोपिला थापाले सुनाइन् ।

नायिका सुजाताले भने १६ वर्षे चन्चले केटीको भूमिका निर्वाह गरेकी रहिछन्, जसले केटालाई आफूलाई भगाउन प्रेरित गर्छे । ‘यो चुलबुले भूमिकाले टिनएजमै आमा बन्ने र दु:ख पाउनेहरूको प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ,’ उनले भनिन् । नायक गौरव पहाडीचाहिँ सीधासाधा गरिब केटाको भूमिकामा रहेको सुनाउँछन् । आफ्नो भूमिकामा खरो उत्रन एक साता ग्यारेजमा काम गरेर अनुभव लिएको उनले बताए ।
विष्णु रिजाल, रेसम फिरिरीलगायतको पनि अभिनय रहने चलचित्रमा संगीत कालीप्रसाद बाँस्कोटाले दिएका छन् । चलचित्रमा महेश पौडेलको छायांकन र गम्भीर विष्टको नृत्यनिर्देशन रहेको छ । छायांकनको अन्तिम चरणमा रहेको चलचित्र सत्यघटनामा आधारित रहेको निर्देशक पाण्डेले बताए । चलचित्रलाई नरेश पाण्डे र महेश चालिसेले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रको मंगलबार त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा छायांकन भइरहँदा महानगरपालिकाका कर्मचारीले हस्तक्षेप गरेर अवरोध पुर्‍याएका थिए । साभार:कुबेर गिरी/सौर्य दैनिक 

Related

मनोरञ्जन 1644439278634307598

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item