दोस्रो बिहे गरेका बलिउड हस्तीहरु


नेपाली समाजमा बहुविवाह वर्जित छ । कानुनी रूपमै दोस्रो बिहे प्रतिबन्ध गरिएको छ । तर, हामीले बारम्बार नेपाली समाजमा दुई बिहे गर्ने विभिन्न मानिस भेट्ने गछार्ंै । केही मानिस आफ्नो बाध्यताले दोस्रो बिहे गरेको बताउँछन् भने केही मानिस अन्य कारणले पनि दोस्रो बिहे गर्छन् । हालसालै नेपाली दुई सेलिब्रेटीले पनि दोस्रो बिहे गरेको समाचार नेपाली सञ्चारमाध्यममा चर्चित रह्यो । हास्यकलाकार हरिवंश आचार्य तथा साहित्यकार कृष्ण धरावासीको बिहेबारे विभिन्न धारणा सार्वजनिक भए । सञ्चारमाध्यममा उनीहरूको दोस्रो बिहेको कुरा फैलिइसकेपछि समाजमा दुईथरी विचार राख्ने मानिस भेटिए । उनीहरू दुवैले आफ्नी पहिली श्रीमतीको मृत्युपश्चात्् बिहे गरेका थिए । त्यसैले एकथरी मान्छेले उनीहरूले ठीक गरेको धारणा राखे भने अर्काथरीले पत्नी गुमाएको छोटो समयमा नै उनीहरूले बिहे गरेर नारी भावनाको कदर नगरेको भन्दै आलोचना गरे । उनीहरूलाई समर्थन गर्नेले बाध्यता नै उनीहरूको प्रमुख कारण रहेको बताउँछन् ।
जे होस्, आलोचना गरेर होस् या समर्थन गरेर, उनीहरूको दोस्रो बिहे नेपालमा चर्चित नै रह्यो । उनीहरू मात्र होइनन्, नेपाली समाजमा दोस्रो बिहे गर्ने मानिस धेरै नै भेटिन्छन् । नेपाली चलचित्र क्षेत्रमा पनि दोस्रो बिहे गर्ने कलाकार सजिलै भेटिन्छन् । दोस्रो बिहे गर्नेमा अहिलेका चल्तीका नायक निखिलदेखि पहिलेका नेपाली सिनेजगत्का बादशाह नै भनिने भुवन केसीको नाम लिन सकिन्छ । त्यस्तै नायिकामा सञ्चिता लुइँटेल पनि दोस्रो बिहे गर्नेमा पर्छिन् । उता, नायक शिव श्रेष्ठ पनि दोस्रो बिहे गरेर घरजममा रमाइरहेका छन् । 
कलिउडमा यति धेरै नायकनायिकाको दोस्रो बिहे भएको छ भने हलिउडको त झनै कुरै नगरौँ । हलिउडमा म्यारिज, डिभोर्स र रिम्यारिजको त एउटा शृंखला नै चलिसकेको छ । भर्खरै आफ्नी श्रीमतीसँग पारपाचुके गरेका अभिनेता ब्राड पिटले केही समयपछि बिहे गरे भने कुनै अचम्म मान्नुपर्दैन । उनी मात्र होइनन्, हलिउडमा यस्ता उदाहरण त चाहेजति भेटिन्छन् । कलिउड र हलिउड मात्र होइन, बलिउडका धेरै हस्तीले पनि दोस्रो बिहे 
गरेका छन् । 


बलिउडका चर्चित गायक किशोरकुमारको दोस्रो बिहे लामो समय विवादित रह्यो । जब किशोरकुमारले आफ्नो उपचारका लागि लन्डन जाँदै गरेकी मधुबालालाई बिहेको प्रस्ताव राखे तब यसबारे बलिउडमा लामो समय चर्चा चल्यो । किशोरकुमारका बाबुआमा उनको यो कदमलाई स्विकार्ने पक्षमा थिएनन् । उनीहरूले आफ्नो छोराको दोस्रो बिहे कुनै मुस्लिम युवतीसँग होस् भन्ने चाहेका थिएनन् । विवादकै बाबजुद पनि अन्ततः किशोरकुमार र मधुबालाको बिहे भयो । तर, रोगी मधुबालालेे किशोरकुमारलाई लामो समय साथ दिन भने सकिनन् । बिहे गरेको नौ वर्षपछि सन् १९६९ मा उनको मृत्यु भयो । किशोरकुमारले मधुबालालाई बिहे गर्नुभन्दा पहिले रुमागुहा थकुर्तालाई बिहे गरेका थिए । 
किशोरकुमार मात्र होइनन्, बलिउडका अभिनेता विनोद खन्नाले पनि आफ्नो पहिलो बिहेलाई बेवास्ता गर्दै दोस्रो बिहे गरे । १९७१ मा उनले गीताञ्जलीसँग पहिलो बिहे गरेका थिए । पहिलेकी श्रीमतीबाट दुई छोरा जन्माएका उनले दोस्रो बिहे भने कवितासँग १९९० मा गरे । पहिलेकी श्रीमतीबाट जन्मेका उनका दुवै छोरा राहुल खन्ना र अक्षय खन्ना पनि बलिउडमा जमेका कलाकार हुन् । जब विनोदले आफूलाई ओशो सन्न्यासीका रूपमा परिवर्तन गर्न चाहे तब उनी अमेरिकाको ओशो आश्रममा गए । घरमा अभावको महसुसपश्चात् उनलाई गीताञ्जलीले छोडपत्र दिइन् । अमेरिकामा पनि उनको जीवन राम्रोसँग चलिरहेको थिएन । यसका कारण उनी कवितासँग दोस्रो बिहे गर्न बाध्य भए । कवितासँगको बिहेपछि उनीहरूको दुई बच्चा जन्मिएका छन्, छोरा साक्षी र 
छोरी श्रद्धा ।
बलिउडका अर्का चर्चित गीतकार तथा कवि जावेद अख्तर पनि दोस्रो बिहे गर्नेमा पर्छन् । हनी इरानीसँग बिहे गरेपछि जावेदले आफ्नो कलम लामो समय बिसाएका थिए तर पछिल्लो समय उनी अभिनेत्री सबाना आज्मीसँग बिहे गरेपछि फेरि बलिउडमा फर्किएका छन् । जावेदले आफ्नी पहिली श्रीमती हनीबाट दुई बच्चा जन्माएका थिए, फरहान र जोया । फरहान बलिउडका चल्ती नायकमा पर्छन् । उनको पछिल्लो फिल्म जिन्दगी ना मिलेगी दोबारा अत्यन्तै चर्चित रह्यो । जावेदकी छोरी जोया पनि बलिउडकी सफल फिल्म निर्मात्रीमा गनिन्छिन् । जावेदले पहिलेकी श्रीमती हनीसँग छोडपत्र गरेपछि पुनः बिहे गरेका थिए । 
फिल्म निर्माता बोनी कपुरको सुन्दरी श्रीदेवीसँगकोे बिहे पनि बलिउडको चर्चित दोस्रो बिहे हो । बोनीले मोनासँग कुनै औपचारिक सम्बन्धविच्छेद नगरीकनै दोस्रो बिहे गरेका थिए । १९९६ मा बोनीले श्रीदेवीलाई बिहे गरेका थिए । तर, उनको पहिलेकी श्रीमतीसँग सम्बन्धविच्छेद नभएकाले उनका छोराछोरी उनको पुख्र्यौली घरमा नै हुर्किएका थिए । बोनीले पहिलो श्रीमतीबाट दुई बच्चा जन्माएका थिए । उनका छोरा अर्जुन पनि पछिल्लो समय बलिउडमा अभिनय गर्न थालेका छन् । तर, दोस्रो बिहेपछि पनि उनले दुई छोरीलाई जन्म दिए । उनका दुई छोरी जानबी र खुसी पनि बलिउडमा छाएकै नाम हुन् । बोनीकी पहिली श्रीमती मोनाको गत मार्चमा मृत्यु भयो । 
बलिउडकी चर्चित नायिका करिश्मा कपुरको बिहे लामो समय बलिउडमा चर्चाको विषय बन्यो । बलिउडका बिग बीका एकमात्र छोरा अभिषेक बच्चनसँग बिहेको पक्कापक्की 
गरिसकेकी करिश्माले उनलाई चटक्कै छाडेर सिक्स्ट इन्डियाका प्रबन्धक सञ्जय कपुरसँग २००३ मा बिहे गरिन् । उनको यो दोस्रो बिहे नभए पनि सञ्जयको यो बिहे दोस्रो हो । सञ्जय डिजाइनर नन्दिता माहतनीसँग विवाहित थिए र दोस्रो बिहे गर्ने वेला सम्बन्धविच्छेदको प्रक्रियामा थिए । सो बिहेपश्चात् करिश्माले केही समय बलिउडबाट आराम लिनुपर्‍यो । सञ्जय र करिश्मा बिहेपछि लामो समय दिल्लीमा बसे । यो जोडीका दुई बच्चा छन् । पछि जब करिश्मा बलिउडमा फर्किइन् तब उनको विषयमा लामो समय विभिन्न आलोचना गरिए । तर, पछिल्लो समय भने करिश्मा र सञ्जयको पनि सम्बन्धविच्छेद हुने हल्ला चल्न थालेको छ । 
करिश्मा जस्तै शिल्पा पनि बलिउडकी चर्चित नायिका हुन् । तर, अभिनयका लागि मात्रै भने उनी चर्चित रहिनन् । पहिले नै बिहे गरिसकेका राज कुन्द्रासँग बिहे गर्नु पनि चर्चाको विषय रह्यो । शिल्पाले राज कुन्द्रासँग  २००९ को नोभेम्बरमा बिहे गरेकी थिइन् । 
राज कुन्द्राले पहिली श्रीमती कवितासँग सम्बन्धविच्छेद गरेर शिल्पासँग दोस्रो बिहे गरेका थिए । शिल्पाका कारण उनीहरूको जोडीमा मतभेद आएको हल्ला चले पनि पछि कविता र राज दुवैले उनीहरूको बिछोडमा शिल्पाको कुनै हात नरहेको प्रस्ट पारेका थिए । 
पछिल्लो समय बलिउडमा वर्चस्व देखाएका आमिर खान पनि दोस्रो बिहे गर्ने अभिनेता हुन् । १९८६ मा आमिरले उनको चलचित्र कयामतसे कयामतकमा सानो भूमिकामा रहेकी अभिनेत्री रिना दत्तसँग बिहे गरेका थिए । आमिरको बलिउडमा हंगामा मच्चाएको चलचित्र लगानमा पनि रिनाको केही लगानी रहेको थियो । तर, २००२ मा आमिरले आफ्नो बिहेलाई टुंग्याउने सोचका साथ सम्बन्धविच्छेदको प्रक्रिया अघि बढाए । अन्ततः उनीहरूको १५ वर्षे लामो वैवाहिक जीवन टुंगियो । रिनाबाट आमिरका दुई बच्चा जन्मिएका थिए । उनीहरू हाल रिनासँग नै बस्छन् । तर, आमिर भने दोस्रो बिहे नगरी बस्न सकेनन् । २००५ मा उनले किरण रावसँग बिहे गरे । हाल उनीहरू सँगै बस्छन् । र, उनीहरूको एउटा छोरा पनि छ, 
आजाद राव खान । 



बलिउडको अर्को चर्को अभिनेता-अभिनेत्रीको जोडी सैफ अली खान र करिना कपुरको हो । बिहे नै नभइसके पनि पछिल्लो समय उनीहरूको बिहे हुने पक्का भइसकेको छ । तर, सैफ अली खानको भने यो पहिलो बिहे होइन । १९९१ मा नै उनले आफूभन्दा धेरै नै जेठी अमृतासँग बिहे गरिसकेका थिए । २००४ मा अमृताले सैफसँग पारपाचुके गरेर १३ वर्षे लामो सम्बन्ध टंुग्याएकी थिइन् । त्यसपछि एक्लो बनेका सैफले सन् २००७ बाट करिनासँग भेट्न थाले । र, २००९ मा उनीहरूको सम्बन्ध बाहिर आयो । उनीहरू यही वर्ष बिहे गर्ने तयारीमा छन् । 
बलिउडका स्थापित नायक धर्मेन्द्र र हेमा मालिनी पनि दोस्रो बिहे गर्ने जोडी हो । सन् १९५४ मा १९ वर्षको उमेरमा नै प्रकाश कौरसँग बिहे गरेका धमेन्द्रले सोलेबाट अधिकतम सफलता पाएपछि दोस्रो बिहे गरे । सोलेको सुटिङकै क्रममा हेमा मालिनीसँग धर्मेन्द्रको सम्बन्धको हल्ला बाहिर आएको थियो । उनले भने आफ्ना दुवै बिहेलाई मिलाएर राखे । तर, धर्म नै परिवर्तन गरेर । उनको पहिली श्रीमतीबाट दुई छोरा सन्नी,  बबी र छोरीहरू विजेता र अजिता जन्मेका छन् । सन्नी र बबी  दुवै बलिउडका चर्चित अभिनेता हुन् । हेमासँग बिहे भएपछि धर्मेन्द्रका दुई छोरीको जन्म भयो । इशा र आहाना । इशा देवल पनि बलिउडमा जमेका कलाकारमध्ये पर्छिन् । 

शिखर घिमिरे/नयाँपत्रिका  (एजेन्सीको सहयोगमा)

Related

मनोरञ्जन 3284391264125855234

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item