प्रजातान्त्रिकको विपक्षमा कोही जान सक्दैन
http://sindhulidarpan.blogspot.com/2012/07/i_7081.html
काठमाडौं, असार १७ । कांग्रेस सभापति सुशील कोइरालाले आफूहरुले मेलमिलापको नीति लिएर अगाडि बढेकै कारण लामो समयदेखि चल्दै आएको मुलुकको सशस्त्र द्वन्द्व अन्त्य भएको बताउनुभएको छ ।
कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अवसरमा नेपाल महिला संघले आज काठमाडौंमा आयोजना गरेको कार्याक्रममा उनले मेलमिलापको नीतिलाई अंगालेरै मुलुक शान्तिप्रक्रियाको मार्गमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेलमिलापको नीतिका कारण एमाओवादीलाई गिरिजाबाबुले हालको अवस्थामा ल्याउनु भएको हो ।’उनले माओवादीलाई सहमति भन्दा बाहिर नजना आग्रह गर्दै सहकार्यको बाटोमा चल्न सुझाव दिनुभयो । ‘विश्वमा प्रजातान्त्रिक प्रक्रिया मौलाएको छ,’ उहाँले भन्नुभयो, ‘प्रजातन्त्रलाई ओझेलमा पारेर निरंकुशता लाद्ने प्रयास हुन्छ भने कांग्रेसलाई मान्य हुँदैन ।’ उहाँले प्रजातन्त्रको रक्षाका लागि संघर्ष जारी राख्ने बताउनुभयो ।
पार्टीमा एकता बनाई राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका सभापति कोइरालाले सबै भन्दा ठूलो अस्त्र एकतानै रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्छ, सबैले सहयोग गर्नुस् ।’ कांग्रेस केन्द्रीय सदस्य भीमबहादुर तामाङले स्वर्गीय गिरिजाप्रसाद कोइरालका कारण मुलुकले परिवर्तन पाएको भन्दै मिलेर जान सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो , ‘अधिकार पाउनका लागि गिरिजाप्रसाद कोइरालाकै मार्ग अनुसारण गर्नु पर्छ ।’


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !