आजदेखि साँस्कृतिक गुँलाः धर्म मनाइँदै

http://sindhulidarpan.blogspot.com/2012/07/news_2292.html
काठमाण्डौ,साउन ५ ।
शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाको रूपमा आजदेखि साँस्कृतिक गुँलाः धर्म मनाइँदैछ । साउन शुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म स्वयम्भू पर्वतमा यो मेला लाग्छ । हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायीले यो एक महिनाको अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा लिने गर्छन् ।
आफ्नो परम्परागत संस्कृतिको संरक्षण एवम् बुद्ध भगवान्प्रतिको आध्यात्मिक आस्थाले प्रेरित भएर दिनहुँ बिहान स्नान गरी बाजागाजा(विशेष किसिमको धाःबाजा)सहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्ण तीर्थस्थलको परिक्रमा गर्ने प्रचलन रहेको उदाय् समाजका महासचिव रत्नकाजी तुलाधरले जानकारी दिनुभयो । यो अवधिभर प्रत्येक बहालमा दिपङ्कर बुद्धका ठूला–साना मूर्तिहरू सजाएर राखिने प्रचलन रहेको छ ।
गाईजात्राका दिन बहालहरूको दर्शनका लागि इन्द्रचोकबाट उत्तरक्षेत्र माथिल्लो काठमाडौँ र इन्द्रचोकबाट दक्षिणक्षेत्र तल्लो काठमाडौँ क्रमशः बिहान र दिउँसो दर्शन गर्ने प्रचलन छ । त्यसैगरी उदाय् समाजका बौद्ध अनुयायीहरूले रातो मच्छेन्द्रनाथ, सेतो मच्छेन्द्रनाथ, पनौतीका सेतो मच्छेन्द्रनाथ र चोभारको रातो मच्छेन्द्रनाथलाई करुणामयको रूपमा यो पर्वमा एक पटक दर्शन गर्ने प्रचलन पनि छ । भक्तपुर, ललितपुर, कीर्तिपुर, पनौती लगायतका बहालहरूमा पनि यो महिनामा एक पटक दर्शनका लगि जाने प्रचलन रहेको पाइन्छ । नेवारी भाषामा ‘गुँ’ को अर्थ नौ हो भने ‘ला’को अर्थ महिना हो । यो नेपाल संवत्को नवौँ महिनाको पारु तिथिदेखि सुरु हुने गर्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !