महोत्तरीमा युवाहरुको रात्रिकालीन सुरक्षा गस्ती
http://sindhulidarpan.blogspot.com/2012/08/blog-post.html
बर्दिवास,साउन २१ । महोत्तरी जिल्लाको सुदूर उत्तरवर्ती दुई गाविसमा स्थानीय युवाले रात्रिकालीन सुरक्षा गस्ती सुरु गरेका छन् । जिल्लाका लक्ष्मिनियाँ र भरतपुर गाविसका युवाले गाउँबस्तीमा डकैती, चोरी र लुटपाटका घटना बढ्न थालेपछि संयुक्तरुपमा रात्रिकालीन सुरक्षा गस्ती सुरु गरेका हुन् ।
एकअर्कोसँग जोडिएका दुवै गाविस बस्तीमा लगातार चोरी, डकैती र लुटपाटका घटना बढ्न थालेपछि संयुक्त रुपमा रात्रिगस्ती सुरु गरिएको त्यहाँका युवाको भनाइ छ । एक सातादेखि सुरु गरिएको रात्रिगस्तीपछि गाउँबस्तीमा आपराधिक घटना निकै नियन्त्रण भएको लक्ष्मिनियाँ गाविसको बटौवा बस्तीका सामाजिक कार्यकर्ता लक्ष्मी महतोले बताए।
दुवै गाविसका १६ देखि ३५ वर्ष उमेर समूह भित्रका युवाले सातवटा समूह बनाएर रात्रिगस्ती सुरु गरेपछि ढुक्कले सुत्न पाएको त्यहाँका बुढापाकाले बताएका छन् । प्रहरीको जानकारी र समन्वयमा हुने स्थानीय युवाको रात्रिकालीन पालोपहराले अपराध नियन्त्रणसँगै अपराधीलाई पक्राउ गर्नसमेत सहयोगी हुने जिल्लाका प्रहरी अधिकारी बताउँछन् ।
आफूहरुले सुरु गरेको पालोपहराबारे सबैतिरबाट सकारात्मक चासो बढेपछि गस्तीमा संलग्न युवामा झनै ऊर्जा थपिएको भरतपुर गाविसको कालीपुर गाउँका महेश्वर महतोको भनाइ छ । सुरुमा ५० जना युवाले प्रारम्भ गरेको गस्तीमा अहिले दिनहुँ युवा थपिने क्रम जारी रहेको समूहमा आबद्घ युवाले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !