चार वर्ष लामो प्रेमसम्बन्ध टुट्यो : विनीता बराल
http://sindhulidarpan.blogspot.com/2012/08/blog-post_15.html
ट्रयाजेडी पर्यो रे विनीताको
-विशाल राई
काठमाडौ, साउन ३१ । ‘चपली हाइट गर्ल’ विनीता बरालले आफ्नो चार वर्ष लामो प्रेमसम्बन्ध टुटेको बताएकी छिन् । चलचित्रमा व्यस्त भएर प्रेमीलाई यथेष्ट समय दिन नपाएकाले ट्रयाजेडी परेको उनको भनाइ छ ।
पूर्वप्रेमीको नाम बताउन नचाहने विनीता आफूहरू आपसी सल्लाहमै छुट्टिएको जिकिर गर्छिन् । भन्छिन्, ‘अब बाबुआमाले खोजिदिएको केटासँगै बिहे गर्छु ।’ विनीताका अनुसार उनका पूर्वप्रेमी अस्ट्रेलियामा बिजनेस गर्छन् । आफूहरूबीच करिब चार वर्षपहिला एक कार्यक्रममा भेट भएपछि मायाप्रीति बसेको उनले सौर्यसितको कुराकानीमा बताइन् । काठमाडौंका रैथाने ती केटा विनीतालाई मन परेछन् । डिल्लीबजारमा भेटेपछि उनीहरूको भेट बाक्लिँदै गयो । केही महिनापछि युवकले प्रेमप्रस्ताव राखे । ‘मैले केही दिन सोचेर उत्तर दिन्छु भनेँ’, विनीता बेलीविस्तार लगाउँछिन्, ‘केही दिन सोचेपछि प्रस्ताव स्वीकारेँ, हामीबीच अफेयर सुरु भो ।’ त्यति बेला विनीतासँग यथेष्ट समय थियो । यी दुई प्रेमीप्रेमिका दरबारमार्गका रेस्टुरेन्टमा बसेर मायाका गफहरूमा डुबिरहन्थे । ‘डेटिङमा प्राय: हामी अध्ययन, घरपरिवार र लाइफबारे कुरा गथ्र्यौँ’, विनीता सुनाउँछिन् ।
उनका अनुसार ती युवक विनीताभन्दा चार वर्ष जेठा छन् । प्रेमी अस्ट्रेलिया गएपछि पनि उनीहरूको प्रेममा कमी आएन, फोनमा कुराकानी भइरहन्थ्यो । ‘उहाँ मलाई साह्रै माया गर्नुहुन्थ्यो, उहाँको फोन एकै छिन् स्विचअफ हुँदा पनि मलाई साह्रै पिर लाग्थ्यो,’ उनले भावुक बनेर सुनाइन्, ‘विवाह गर्ने कुराकानी पनि चल्थ्यो, परिवारलाई एकआपसमा भेट गराउने कुरा भएको थियो, तर त्यसअघि नै सम्बन्ध टुटिहाल्यो ।’
अस्ट्रेलियाबाट पहिलोचोटि फर्कंदा ती युवकसँग चुम्बनमा रमाए पनि सेक्सचाहिँ बिहेपछिलाई साँचेर राखेको विनीता सुनाउँछिन् । उनका अनुसार चार वर्षको प्रेमसम्बन्धमा केवल सात–आठचोटि मात्र उनीहरूको भेट भएको थियो । नेपाल आउँदा ती युवक २० दिनदेखि एक महिनासम्म विनीतासँग समय बिताउँथे । यति राम्रो केमिस्ट्री जम्दाजम्दै कसरी टुट्यो त सम्बन्ध ? विनीता सुनाउँछिन्, ‘म कलाकारितामा व्यस्त भएँ उहाँ आफ्नै बिजनेसमा । उहाँ नेपाल आउने क्रम पनि घट्न थाल्यो । विस्तारै गफ कम हुन थाल्यो । लामो समयसम्म सम्पर्क नभएपछि सम्बन्ध आफसेआफ ब्रेकअप भयो । अहिले पछाडि फर्केर हेर्दा त्यो एउटा अल्लारे प्रेम थियो भन्ने लाग्छ ।’
लामो समयपछि भेट हुँदा विनीताको मन बदलिएछ, फेरि ती युवकसँग सम्बन्ध बढाउन मानिनछिन् । ‘मैले उहाँलाई फेरि प्रेमीका रूपमा साथ दिन सक्दिनँ, अब प्रेम होइन लाइफबारे सोच्छु भनेँ, उहाँले स्वीकार्नुभयो । आपसी मिलेमतोमै छुट्टिएका हौँ,’ उनी प्रस्ट्याउँछिन् । त्यसो त विभिन्न बहानामा चर्चामा आउन खोजिरहने विनीताले प्रेमसम्बन्ध टुटेको खबर पनि चर्चाकै लागि मात्र फैलाएकी हुन् कि भन्ने आशंका पनि गर्न सकिन्छ ।
साभार:सौर्य दैनिक



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !