केटी पट्याउन नक्कली डाक्टर बन्दा ...

http://sindhulidarpan.blogspot.com/2012/08/duplicate-docter.html
बुटवल, भदौ ९ । देवदह मेडिकल कलेजमा शुक्रबार ‘नयाँ डाक्टर’ देखिए । नचिनेका डाक्टर आएर धमाधम बिरामी हेर्न थालेपछि अस्पतालका कर्मचारी र नर्स अलमलमा परे । सेतो कोट लगाएर बिरामी जाँचिरहेका ती व्यक्ति वास्तवमा डाक्टर थिएनन् । मन पराएकी युवतीसँग बिहे गर्ने लहडमा डाक्टरको भेष धारण गरी उनी अस्पताल छिरेको खुलासा भएको आजको सौर्य दैनिकले छापेको छ । उनलाई शुक्रबार नै प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो ।

सुरुमा बिरामी बनेर मेडिकल कलेज छिरेका उनीहरूले सेतो कोट लगाई ‘ब्लड प्रेसर’ जाँच गर्ने उपकरणसहित बिरामी जाँच्न थालेका थिए । एक्कासि नयाँ मान्छे आएर वार्डमा छिरेर स्वास्थ्य परीक्षण गर्न थालेपछि त्यहाँका कर्मचारी र नर्स अलमलमा परेका थिए ।
शर्माले बुटवल–१३ घर भएकी एक युवतीलाई मन पराएको र उनैलाई आकर्षित गर्न नक्कली डाक्टर बनेको बयान प्रहरीसमक्ष दिएका छन् । उनले कक्षा १० मा अध्ययनरत ती युवतीको आमाबुबासँग आफू डाक्टरी पढ्दै गरेको देखाउन त्यस्तो नाटक गरेको प्रहरीसमक्ष बताए । युवतीको परिवारलाई आफू मेडिकल कलेजमा कार्यरत भनेर देखाउन शुक्रबार केटीका आफन्तलाई उनले मेडिकल कलेजमै बोलाएका रहेछन् । त्यसो त युवतीको बुबासमेत छोरीको विवाह गर्ने उद्देश्यले विदेशबाट फर्किएको बताइएको छ ।
सोधखोज गर्दा अस्पतालमा नयाँ डाक्टर कोही नआएको थाहा पाएपछि नक्कलीको आशंकामा अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । लगत्तै वडा प्रहरी कार्यालयका प्रमुख सुवास गैरेको नेतृत्वको टोली मेडिकल कलेजमा पुगेको थियो । प्रहरीले ती युवालाई सेतो कोट र प्रेसर जाँच्ने उपकरणसहित नियन्त्रणमा लिई बुटवलमा ल्याई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउपछि सञ्चारकर्मीमाझ शर्माले आफूले बिहेकै लागि नक्कली डाक्टरको योजना बनाएको स्विकारे । उनले आफूले १० कक्षासम्म अध्ययन गरेको बयान दिएका छन् । प्रहरीका अनुसार उनले आफू एमबिबिएस अध्ययनका लागि लन्डन जानु छ भन्दै मेडिकल कलेजमै बोलाएर स्थानीय भीमा कुँवरबाट ५० हजार रुपियाँसमेत लिएका रहेछन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक रामेश्वर कार्कीले घटनाबारे थप अनुसन्धान गर्नुपर्ने उल्लेख गर्दै सरकारी वकिलको सहायताबाट काम अगाडि बढाउने जानकारी दिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !