रामेछापमा जैविक मलको प्रयोगबाट उत्पादनमा वृद्धि

http://sindhulidarpan.blogspot.com/2012/08/local_20.html
रामेछाप,भदौ ४ ।
जैविक मलले कृषि उत्पादनमा बृद्धि हुने थाहा पाएपछि रामेछापको ग्रामिण क्षेत्रका किसानहरुले यसको प्रयोग गर्न थालेका छन् । किसानहरुले गोठेमल सुधार र पशु मुत्र संकलन गरि जैविकमल उत्पादन र प्रयोग गर्न थालेका हुन् । जिल्लाका विभिन्न ठाउँमा गोठेमल सुधारको अभियान संचालन गरेपछि यहाँका ४० गाविसका किसानहरुले जैविक मल उत्पादन गर्दै आएको दिगो भु व्यवस्थापन कार्यक्रमका कार्यक्रम संयोजक अनिल न्यौपनेले बताउनुभयो । रामेछापको बाम्ती, ठोसे, भटौली र माकादुमलगायतका गाविसका किसानहरुले गोठेमल सुधार र पशु मुत्र संकलन गरि जैविक मल उत्पादन गर्न थालेका हुन् । जैविक मलको प्रयोगपछि कृषि उत्पादनमा वृद्धि भएको किसानहरुको अनुभव छ ।
पहिले बजारको दाल र अन्य तरकारीमा निर्भर रहेका किसानहरु अहिले बारीमा तरकारी उत्पादन गरेर प्रयोग गर्न थालेको जिल्ला कृषि विकास कार्यालय रामेछापले जनाएको छ । कार्यालयले जिल्लालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाउने लक्षसहित काम गरेको बरिष्ठ कृषि विकास अधिकृत गोविन्द प्रशाद बराकोटीले जानकारी दिनुभयो । उहाका अनुसार घामपानीबाट जोगाएर राम्रोसँग तयार पारिएको र उत्पादन साथै माटो पनि उर्वर हुने हुदा कृषकहरु यसप्रति आकर्षित भएको जानकारी दिनुभयो । जैविक मल उत्पादन गर्न यस जिल्लामा दिगो भु व्यवस्थापन कार्यक्रम, पहाडी समाज कल्याण केन्द्र, सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्मटार, तामकोशी सेवा समिति, जनभावना युवा क्लव, सृजनशिल युवा समाज, समाजसेवी संस्था र किसान किसान कृषि प्रसार समितिले सहयोग गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !