आज श्रीकृष्णजन्माष्टमी
http://sindhulidarpan.blogspot.com/2012/08/news_1165.html
काठमाण्डौ,साउन २५ ।
हिन्दुहरूको पावन पर्व ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरि भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । आजको दिन मुलुकभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरूमा ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको बताइएको छ । महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ । पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन ललितपुर उपमहानगपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यस अवसरमा राष्ट्रपति डा. रामवरण यादवबाट अहिले केहीबेरमा भगवान् श्रीकृष्णको दर्शन तथा प्रसाद ग्रहण कार्यक्रम रहेको नगरपालिकाका कार्यकारी अधिकृत अशोक श्रेष्ठले बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !