इस्लामिक धर्मालम्बिहरुको इद–उल–फित्र–रमजान मनाइदै



काठमाण्डौ,भदौ ४ । 

आज ईद–उल–फित्रको अवसरमा मुलुकलगायत विश्वभरका मुस्लिम धर्मावलम्बीले एकआपसमा आशिर्वाद तथा शुभकामना आदानप्रदान गरी भव्यरूपमा मनाउँदैछन् । मुस्लिम क्यालेन्डरअनुसार नवौं महिनालाई रमजान भनिन्छ । यस महिनामा बालक, वृद्ध–वृद्धा, बिरामी, असक्त, प्रसुती  महिला, रजस्वला भएका महिला र दुधे बालकका आमा बाहेक सबै महिला तथा पुरुषलाई रोजा (व्रत) अनिवार्य रहेको छ । रमजान महिनाभर बसिने रोजा उपवास यस वर्ष साउन ६ गते प्रारम्भ भई हिजो चन्द्रोदयको दर्शन गरी रोजा मनाइने भए पनि यस वर्ष भदौ ४ गते रमजान मनाउने निर्णय भएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले बताउनुभयो । इस्लाम धर्ममा आस्था, नमाज, रोजा, जकात र हज मुख्य पाँच आधारस्तम्भ रहेका छन् । रोजा आस्था र विश्वासको परिपक्वता हुनुको साथै ईद यसको पूर्ण सफलता हो । रोजाको शाब्दिक अर्थ शुद्ध आचरणमा रहनु हो । रमजान महिनाभर सूर्योदय हुनु केहीअघि र सूर्यास्तको केहीपछिसम्म रोजा बस्ने प्रचलन रहेको छ । रोजामा पानी खान पनि निषेध गरिएको छ । रमजानको अन्तिम दस दिनमा एतकाफ बस्ने अथवा दैनिक दिनचर्या त्यागेर एकान्तमा अल्लाहको जप गर्ने चलन छ । रोजा समाप्तीको दिन आफूभन्दा ठूलासँग आशिर्वाद लिने तथा सानालाई आशिर्वाद दिने, एकआपसमा शुभकामना आदानप्रदान गरी विशेष खानाको रूपमा गहँुबाट तयार गरिएको सेवई तथा लच्छा सामूहिकरूपमा खाने प्रचलन रहेको छ ।



इदका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना 

राष्ट्रपति डा रामवरण यादवले मुस्लिम धर्मावलम्बीको महान पर्व इद–उल–फित्रको अवसरमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ईदको उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले हाम्रा सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै समाजमा आपसी एकता, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति ईद उल फित्र पर्वले हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्नुभएको छ । सबै जातिजातिका यस्ता सांस्कृतिक चाडपर्वको जगेर्नाबाट नेपाल सांस्कृतिक रूपमा अझ वैभवशाली बन्दै जानेछ भन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । यसैगरी उपराष्ट्रपति परमानन्द झाले मुस्लिम धर्मावलम्बीको महान पर्व इद (ईदुल्ल फित्र) को शुभ अवसरमा सहमति र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गरोस् भन्नु भएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय विशेषताले भरिएको नेपालमा धार्मिक सहिष्णुता र सद्भाव सदियौँदेखि रहँदै आएको बताउनु भएको छ । ईदका अवसरमा दिनु भएको सन्देशमा प्रधानमन्त्रीले धार्मिक पर्वले शान्ति, मैत्री, सद्भाव, मेलमिलापका सन्देश बोकेर एकआपसमा मैत्रीपूर्ण भाव राखी देश र राष्ट्रनिर्माणमा अघि बढ्न प्रेरणा दिइरहेका हुन्छन्, भन्नुभएको छ ।  उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार,सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव,नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष वामदेव गौतमले शुभकामना सन्देश दिनु भएको छ ।  


Related

राष्ट्रिय 2338989554723601736

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item