मनाङको ताल गाउँमा भीषण पहिरो,


लमजुङ,साउन २० । 

अविरल वर्षाका कारण हिमालपारीको जिल्ला मनाङको धारपानी गाउँ विकास समितिको वडा नं. १ ताल गाउँमा पहिरो जाँदा त्यहाँ रहेका ६० घर परिवार विस्थापित भएका छन् । पहिरोमा परी एकजना सख्त घाइते भएका छन् । ताल गाउँमाथिबाट आएको पहिरोका कारण ताल बजारका घरहरु डुबानको खतरामा पुगेपछि स्थानीयबासिन्दा घर छोडेर हिँड्न बाध्य भएका हुन् । पहिरोका कारण ताल गाउँबासीहरु नजिकै रहेको बेँसीसहर चामे सडक निर्माण कार्यगणको विटमा सरण लिन पुगेका छन् । सेनाका सहसेनानी लोकबहादुर घिमिरेले दिएको जानकारीअनुसार ताल बजारबासी, त्यहाँ रहेको प्रहरी चौकीका प्रहरीहरु सबै सेनाको शरणमा बसेका छन् । तालगाउँका केही मानिसहरु घेराङ, साततले, च्याम्चेमा रहेका आफन्तकोमा शरण लिन पुगेको सेनाले जानकारी दिएको छ । 

बस्तीमाथिबाट आएको पहिरोमा परि सोही ठाउँकी २२ वर्षकी जीना गुरुङ गम्भिर घाइते भएकी छन् । गुरुङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौं पठाइएको छ । पहिरोको कारण तालमा रहेको स्वास्थ्य केन्द्र पूर्णरूपमा क्षति भएको छ भने बस्तीमा लेदो पसेको छ । अन्य मानवीय क्षति भने नभएको घिमिरेले बताउनुभयो । पहिरो रोकिए पनि लेदोको कारण घर तथा आँगन पुरिएकाले स्थानियबासीन्दा घर फर्कन सकेका छैनन् । ताल गाउँमा करीब ६० घर छन् । घटनास्थलमा बेँसीसहर चामे सडक निर्माण कार्यगण, स्थानीय सीमा प्रहरी चौकीका प्रहरीहरुले उद्दार गरेका थिए । पहिराले बगाएको लेदो र पानी बजारका प्राय सबै घरहरुमा पसे पनि घरहरुमा क्षति भने नपुगेको उद्दारमा सहभागी बेसीशहर चामे सडक निर्माण कार्यगणका सहसेनानी लोकबहादुर घिमिरेले बताउनुभयो । 

यता मस्र्याङ्दी नदीमा समेत बाढी आएकाले ताल गाउँ झनै जोखिममा परेको छ । मस्र्याङ्दी नदी किनारमा रहेको ताल गाउँमा नदीको बाढीले पनि दुःख दिनसक्ने स्थानियबासीले बताएका छन् । अविरल वर्षासगै दक्षिण पश्चिम लमजुङको पिस्ती खोलामा आएको बाढीले एक वृद्धलाई बगाएकोे छ । लमजुङको भोर्लेटार गाउँ विकास समिति वडा नम्वर ३ निवासी ७० वर्षका प्र्रेमबहादुर कार्कीलाई बगाएको हो । 


Related

राष्ट्रिय 7851163557520677164

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item