सिन्धुलीका अठार योजनाको लागि आधा करोड बढी खर्च

http://sindhulidarpan.blogspot.com/2012/10/budget.html
मिनकुमार दाहाल,
सिन्धुली,कात्तिक १ ।
सिन्धुली जिल्लाको विभिन्न स्थानमा संचालित अठार निर्माण आयोजना सम्पन्न गर्न आधा करोड भन्दा बढी खर्च गरिएको छ । गत आर्थिक वर्षमा सिंचाइ कुलो, विद्यालय तथा गाविस भवन, शहिद स्मृति पार्क निर्माण लगायतका १८ आयोजनाहरुमा ६२ लाख ८८ हजार रुपैयाँ खर्च गरिएको जिल्ला प्राविधिक कार्यालय सिन्धुलीले जनाएको हो । जिल्लाको विभिन्न स्थानमा गरी ९ वटा सिंचाइ आयोजना, पाँच वटा विद्यालय तथा क्याम्पस भवन, महेन्द्र स्मृति र शहिद स्मृति भवन गरी दुइ वटा, एक गाविस भवन र जिल्ला विकास तथा जिल्ला प्राविधिक कार्यालय भवन निर्माणका क्रममा उक्त रकम खर्च भएको जिल्ला प्राविधिक कार्यालय सिन्धुलीका प्राविधिक एकराज कोइरालाले जानकारी दिनुभयो ।

यस्तै कमला क्याम्पस दुधौलीको भवन निर्माणका लागि ४ लाख ५० हजार, कालिका उमावी रानिचुरीको भवन निर्माणका लागि ३ लाख लगानी गरिएको छ, कोइरालाले भन्नुभयो,‘विद्याश्रम उमावी दोभानटारका लागि ५ लाख, वस्तिपुर गाविसको हायुटार उमावीका लागि ५ लाख, माझी जनजाग्रीति सितलपाटीका लागि ६ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ ।’
सिन्धुलीमा हालसम्म जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालयकै आफ्नो भवन नभएका कारण गत वर्ष ती कार्यालयको भवन निर्माणका लागि प्राविधिक स्टमेट तथा व्यवस्थापनाका लागि सुरु गरिएको कोइरालाले बताउनुभयो । उनले उक्त कार्यका लागि ३ लाख रुपैयाँ खर्च गरिएको जनाउनुभयो ।
झाँगाझोली रातमाटा गाविसको भवन निर्माणका लागि ४ लाख ५० हजार शान्ति तथा पुनः निर्माण मन्त्रालयबाट प्राप्त भएको सबै रकम खर्च भएको समेत उहाँले बताउनुभयो । यस वाहेक पुरानो झाँगाझोली गाविसको नाङ्गेडाँडामा शहिद स्मृति पार्क निर्माणका लागि ५ लाख र ऐतिहासिक सिन्धुलीगढीमा महेन्द्र स्मृति भवन निर्माणका लागि ३ लाख रुपैयाँ खर्च गरिएको छ ।
साना सिंचाइ, पुनःनिर्माण तथा पुर्नस्थापना परियोजना र डोलीडार तर्फको आयोजनाहरुबाट निर्माण गरिएका यी आयोजनाहरुका लागि ६६ लाख ८८ हजार रुपैयाँ विनियोजन गरिएको भएपनि करिब ४ लाख रुपैयाँ विभिन्न कारणले खर्च हुन नसकेको बताइएको छ । यस्ता आयोजनाको निर्माण कार्यले जिल्लाका विभिन्न क्षेत्रका गरी २५ हजार ९ सय जनसंख्या प्रतक्ष्या लाभान्वित भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !