दशै सकियो, आज कोजाग्रत पूर्णिमा

http://sindhulidarpan.blogspot.com/2012/10/dashain-finished.html
काठमाण्डौ,कात्तिक १३ ।
हिन्दूहरुको महान चाड बडादसै आज कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी सम्पन्न हुँदैछ । गत असोज ३० गते प्रतिपदाका दिन घटस्थापना गरी प्रारम्भ गरिएको बडादसै आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा–आराधना गरी विसर्जन गरिने धार्मिक परम्परा रहिआएको छ । सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ‘को जागा बसेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरीदिने धार्मिक विश्वास रहिआएको छ ।
यही विश्वासका कारण आज राति गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्दछन् । दशैको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशै घर र कोतहरूमा राखिएका जमरा आज विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार आजैदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !