अझै खुलेन मध्य पहाडी पुष्पलाल लोकमार्ग

http://sindhulidarpan.blogspot.com/2012/10/highway_27.html
सिन्धुली,कात्तिक ११ ।
मध्य पहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन । पन्ध्र दिनअघि सो लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्डको सिन्धुली जिल्ला हैवारनजिक अक्करे भीरमा गएको पहिरोका कारण सो लोकमार्ग अवरुद्ध भएको थियो । लोकमार्ग अवरुद्ध हुँदा खासगरी सिन्धुली, रामेछाप, ओखलढुङ्गा, उदयपुर र सोलुखुम्बुवासीले दसैँमा घर जाने र फर्कने क्रममा सास्ती झेल्नुपरिरहेका छन् । सो लोकमार्गमा हजारौँ यात्री र सयौँ यातायातका साधन चल्ने गर्दछन् ।
दसैँको मुखैमा गएको पहिरोले सडक अवरुद्ध मात्र पारेको नभई पैदल यात्रुले पहिरो छिचोल्न ज्यानको बाजी नै मार्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । पहिरोका कारण यात्रुहरूले आफूले बोकेका झोलालगायतका सामग्री बोकेर जान नसक्ने र त्यहाँ रहेका भरियाले अत्यधिक पारिश्रमक असुल्ने गर्दा यात्रुहरू मर्का परेका हुन् । त्यसैगरी पहिरोका कारण सवारीसाधन फेरबदल गर्नुपर्ने बाध्यताले यात्रुहरूलाई पिरोलेको छ । सवारीसाधनले लाग्ने भाडाभन्दा तीन गुणासम्म बढी भाडा असुल्नाका साथै समयमै यात्रुहरूलाई गन्तव्य पु¥याउन अवरोधसमेत खडा गरेको देखिन्थ्यो ।
सो लोकमार्गमा एउटा यात्रुवाहक बसमा डेढसयसम्म यात्रुले यात्रा गरेका थिए । धुले पहिरोका कारण एउटा यात्रुले पहिरो गएको क्षेत्र पार गर्दानगर्दै त्यस बाटोलाई तत्क्षण धुलो र ढुङ्गाले पूर्णरूपमा क्षति पु¥याउने गरेको छ । सो पहिरो पन्छाएर बाटो खुलाउने काम कहिले थालिने हो भन्ने अझै निश्चित भएको छैन । त्यस्तै सो राजमार्गको शीतलपाटीको उकालोमा अध्यधिक धुलो भएका कारण सवारीसाधन आवतजावत हुन कठिनाइ भएको छ । सो स्थानमा सडकमा धुलोमात्र बढी भएका कारण सवारीका पाङ्गा धुलोमा भासिने र वरिपरिको वातावरणसमेत प्रभावित हुने गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !