तरकारी व्यवसायबाट प्राप्त आम्दानी छोराछोरीको शिक्षामा

http://sindhulidarpan.blogspot.com/2013/01/agriculture-farm.html
पोष्टराज पहाडी,सिन्धुली,पुस १९ ।
सिन्धुलीको कमलामाई नगरपालीका–७ डाँडाटोलका कृषकहरुले तरकारी खेतीबाट प्राप्त रकम आफ्नो छोराछोरीको शिक्षामा लगानी गर्ने गरेका छन् । नगरपालीका–७ डाँडाटोलमा सामुहिक खेती गर्दै आएका कृषकले तरकारी बिक्रीबाट प्राप्त आम्दानी आफ्नो बालबालिकाको शिक्षामा खर्च गर्ने गरेका हुन् । सामुहिक तरकारी खेती व्यवसाय गर्दै आएकी कमलामाई नगरपालीका–७ डाँडाटोलकी तिर्थ कुमारी बरालले तरकारी खेतीबाट प्राप्त आम्दानी आफ्ना छोराछोरीको शिक्षामा लगानी गर्ने गरेको बताउनुभयो । करिब १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी बरालले प्रति वर्ष दुई लाख देखी ३ लाख सम्म आम्दानी लिने गर्नुभएको छ । उहाँले त्यसबाट प्राप्त आम्दानीको सम्पुर्ण रकम आफ्नो छोराछोरीको पढाइमा खर्च गर्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘तरकारी खेतीबाट प्राप्त आम्दानी छोराछोरीको पढाइमा खर्च गर्ने गरेकी छु । अहिले चार छोराछोरी काठमाडौँ बसेर पढेका छन् ।’
त्यसैगरि, कमलामाई नगरपालीका–७ का अर्का तरकारी कृषक योग बहादुर बरालले पनि तरकारी व्यवसायबाट प्राप्त आम्दानी छोराछोरीको शिक्षामा लगानी गर्ने गरेको बताउनुभयो । अधिकांश कृषकहरुले व्यवसाय गर्ने गरेपनि त्यसबाट प्राप्त आम्दानी उपलब्धि विहिन काममा उपयोग गर्ने गरेपनि आफुले भने छोराछोरीको पढाईका लागि खर्च गर्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो–‘तरकारी खेतीबाट वार्षीक ४० हजार सम्म आम्दानी गर्ने गरेको छु । त्यसको रकम छोराछोरीको शिक्षामा लगानी गरेको छु ।’
कमलामाई नगरपालीकाको–७ डाँडाटोलमा विगत ४ वर्ष देखी कृषकहरुले डाँडाटोल कृषक समूह गठन गरि सामुहिक तरकारी खेती गर्न थालेका हुन् । उनीहरुले पहिले मुसुरो र गहुँ उत्पादन हुने खेतमा तरकारी खेती गर्दै आएका छन् । अहिले त्यहा आलु, बन्दा, काउली, लसुन, प्याज लगाएतका तरकारी उत्पादन हुदै आएका छन् ।
उत्पादन भएको तरकारी खेतीले बजार पाएकै कारण तरकारी खेतीका लागि समस्या नभएको कृषकहरुको भनाई छ । तर पनि कृषी कार्यालय लगायत जिल्लामा कृषीसँग सम्बन्धीत कुनै पनि संघ–संस्थाले आफ्नो तरकारी व्यवसायलाई चासो नदिएकोले सोचे जति उत्पादन गर्न नसकेको समूहका अध्यक्ष चेतबहादुर बरालले बताउनुभयो । उहाँले भनेजति आम्दानी नभएपछि छोराछोरीको शिक्षामा लगानी गर्न अरु कुनै विकल्पको खोजी गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !