‘गुन्डा त कति पिटेँ–पिटेँ’

http://sindhulidarpan.blogspot.com/2013/01/story.html

-लक्ष्मी शर्मा पहिलो नेपाली महिला टेम्पु चालक
सुत्केरी भएर वीर अस्पतालको बेडमा लडिरहेकी थिएँ । श्रीमान् खान लिएर आउलान् भन्ने आश थियो । तर, उनी त एउटी युवतीलाई अँगालो हालेर पो आए । सुनाए– ‘बुझिस्, यो मेरी प्रेमिका हो †’ साह्रै रुन मन लाग्यो । तेह्र वर्षको सानै उमेरमा बिहे भएको मेरो । सोह्र वर्ष छँदा पहिलो छोरी जन्मिई । श्रीमान्को पारा देखेर आश मारिसकेकी थिएँ । यीबाट केही हुँदैन, मैले आफैंले जीवन धान्ने मेलो सुरु गर्नुपर्छ भन्ने लाग्यो । लगातार तीन छोरी जन्मिए । श्रीमान्को बानी अझै उस्तै थियो । बजारमा पाइने नयाँनयाँ मोडलका सर्टजस्तै थिए उनका लागि प्रेमिका । छिनछिनमै फेरिरहने ।
कान्छी छोरी जन्मेको डेढ वर्षपछि मैले श्रीमान्विनै संघर्ष गर्ने निर्णय गरें । तर, जाने कहाँ ? माइतीबाहेकको विकल्प थिएन, त्यहीँ शरण लिएँ । अब मेरो सपना एउटै थियो– तीन छोरी हुर्काउनु, उनीहरूलाई उच्च शिक्षा दिलाउनु । तर, म निरक्षरले गतिलो काम के पाउँथेँ र ? भौँतारिँदै गर्दा एउटा विदेशीको घरमा काम पाएँ– खाना पकाउने, लुगा धुने, केटाकेटी हेरिदिने । तर, त्यही परिवारसँगको संसर्गले ममा आत्मविश्वास जगाइदियो । आर्थिक रूपमा त सजिलो भयो नै, अरू थुप्रै ज्ञान पनि पाएँ । अंग्रेजी भाषा जानें, आज खरर्र बोल्न सक्छु । दश वर्ष त्यहाँ बसेपछि मलाई काम परिवर्तन गर्ने विचार आयो ।
३७ वर्षपहिला । मसँग न धन थियो न त सल्लाह दिने मान्छे । गरिखानुपर्छ भन्ने आँटचाहिँ थियो । टेम्पो किनेर चलाउन दिने विचार गरेँ । आमासँग ऋण मागेँ दिनुभएन । साहिँली आमाले चाहिँ दश हजार दिनुभयो । आमाले उहाँलाई भन्नुभएको थियो, ‘ल है साहिँली, दिन त दिइस्, पछि तिरिन भने म तिर्न सक्दिनँ नि, आफँै विचार गर ।’ त्यही पैसाले एउटा टेम्पो किनेँ, ९ नम्बरको । ड्राइभर राखेकी थिएँ । पुन: ऋण खोज्दै चारवटा टेम्पो थपेँ । पुरानो टेम्पो किनेर मर्मत गराएकी थिएँ । तर, ड्राइभरहरूले कमाएर ल्याउलान् त भनेर आश गर्यो, साँझ मुख निन्याउरो पारेर आउँथे । मुखभरि कालो पोतेका हुन्थे । अनि आज यो बिग्रियो, त्यसैले पैसा त्यहीँ खर्च भयो भन्न थाल्थे । खाली पैसा नदिने बहाना । केही नलागे ‘आज चलाउनै पाइएन’ भन्दै उम्किन्थे । एक दिन साइकल चढेर उनीहरूको चियो गरेँ । केही भएको देख्दिनँ तर बेलुकी पैसा नै दिँदैनन् । सोचेँ, ‘अब आफैं टेम्पो चलाउँछु ।’
आफ्नै एउटा ड्राइभरसँग सिकाइमागेँ । पहिलो दिन सिक्दा स्वयम्भूनिर पल्टाइदिएँ । तर हरेस खाइनँ, सिकेरै छाडेँ । अब म सडकमै दौडाउन थालिसकेकी थिएँ । सडकका सबैका आँखा मैतिर तेर्सिएका हुन्थे । उदेक मानेर साथीलाई सुनाउँथे, ‘ए हेर हेर, आइमाई ड्राइभर †’ कतिले त नानाथरी पनि भन्थे । यात्रु राखेर हिँड्यो, पछाडिबाट कपाल तानिदिन्थे । भाडा दिने बहानामा शरीर छुन खोज्थे, मौका परे अढेस लाग्थे । महिला यात्रु पनि कम्ता हेप्दैनथे । ‘धत्, महिलालाई पनि भाडा दिनुपर्छ र’ भन्दै हिँड्थे । अरू ड्राइभरहरू दुईतिरबाट टेम्पो ल्याएर पेल्थे । थुप्रै मानसिक तनाब भोगिरहँे तर हारिनँ । उति बेलाको समाज, कुरा काटिहाल्थे मान्छेहरू, ‘आइमाई भएर पनि के जान्ने भएकी होला, सुहाएन टेम्पो चलाएको ।’ त्यसो त प्रशंसा गर्नेहरू पनि केही थिए ।
२५४ नम्बरको टेम्पो महिलाका लागि सजिलो होस् भनेर राति जमलमा राख्थेँ, साँझ ६ बजेदेखि चलाउने गरी । एक दिन असनका गुन्डा आएर हामीलाई लिएर हिँड भन्न थाले । मैले महिलालाई मात्र पुर्याउने हो भनेँ । ‘ए महिलालाई मात्र सुविधा, हामीचाहिँ यात्रु होइनौँ’ भनेर निहुँ खोज्दै टेम्पो पल्टाइदिइहाले । टेम्पो न हो, दुई जनाले धकेले पल्टिहाल्ने । मलाई साह्रै रिस उठ्यो । जे त पर्ला भन्दै उनीहरूमाथि जाइलागँे । अन्धाधुन्ध बजाइदिएँ, त्यसपछि त भागिहाले नि † त्यस्ता गुन्डा त कतिलाई पिटेँपिटेँ, संघर्षका क्रममा । पछि त मसँग डराउन थालेका थिए– योसँग निहुँ खोज्नु हुँदैन है, ठोक्न थालिहाल्छे भनेर ।
आफू पनि टेम्पो चलाउन थालेपछि राम्रै आम्दानी हुन थाल्यो । दिनभरि काम गर्यो, जेजति भए नि आइहाल्ने । पछि त मर्मत पनि म आफैं गर्थें, मिस्त्री चाहिँदैनथ्यो । म सबै कुरा बुझिहाल्थेँ, त्यसैले अरू ड्राइभरले ठगी पनि गर्न छाडे । पछिपछि त मलाई हेप्ने ड्राइभरलाई म पनि हेपिदिन्थेँ, पेलेर चलाइदिन्थेँ । ड्राइभिङ गर्दा खुब रमाइलो लाग्थ्यो । अझै सम्झन्छु–पहिलो दिन ४२ रुपियाँ कमाएकी थिएँ ।
दुई वर्षजति भएको थियो, टेम्पो चलाउन थालेको । एक दिन नारायणहिटीअगाडि ट्राफिकले समात्यो । भन्यो, ‘खोइ लाइसेन्स दिनुस् त ?’ म पनि मूर्ख भन्नु कि के, लाइसेन्स चाहिन्छ भन्ने होसै रहेनछ । उल्टै सोधिछु, ‘टेम्पो चलाउन पनि लाइसेन्स चाहिन्छ र ?’ उसलाई उल्टै सोधिछु । अब किन मान्थ्यो र ? टेम्पो त्यहीँ छोडेर हिँड्नुपर्यो । भोलिपल्ट टेम्पो खोज्दै ट्राफिक कार्यालय गएँ । उनीहरूकै सल्लाहअनुसार हनुमानढोकाबाट लाइसेन्स लिएँ ।
बजाजको टेम्पो थियो । बिग्रिरहन्थ्यो । एक दिन होटल अन्नपूर्ण अगाडि पुग्दा बिग्रिइहाल्यो । म बाहिर निस्किएर चक्का खोल्न थालेँ, मान्छेको भीड लाग्यो । कुनै चमत्कार देखेजसरी मलाई घुरिरहेका थिए मानिसहरू । अर्को एकचोटि ब्रेक फेल भयो । खोलेर बनाएँ । सबै काम सकेपछि भित्र ब्रेक वायल हालेर पम्प गर्नुपर्ने । म टेम्पोको मुनिपट्टि थिएँ, माथिपट्टिबाट ड्राइभरहरूलाई पम्प गर्न भनेकी थिएँ । तर, उनीहरू त मलाई हेपेर यसरी उफ्रिए कि टेम्पो नै पल्टियो । पम्प गर्दा आवश्यकताभन्दा बढी उफ्रिदिए । मलाई महिला भनेर हेलचेक्य्राइँ गरेका । त्यति बेला च्यापिएको हात अहिले पनि दुख्छ ।
दिनभरि थाकेर घर आउँथेँ । कहिलेकाहीँ त आराम गर्न पनि नपाउने । उति बेला ट्याक्सीको सुविधा अहिलेजस्तो सहज थिएन । कोही बिरामी भए ‘लौ न पुर्याइदिनु पर्यो’ भन्दै आउँथे । मानवीय नाताले पनि जानै पर्यो । कहिलेकाहीँ जीवन सम्झेर साह्रै चिन्ता लाग्थ्यो, निदै्र लाग्दैनथ्यो । त्यस्तो बेलामा आफ्नै सुरले चित्र कोर्न थाल्थेँ । लेख्न जानेकी भए ती अनुभूति कापीमा उतार्थें होला । त्यति बेलाका मेरा चित्रमा महिलाको पीडा र रोदन प्रस्तुत हुन्थे । महिलामाथि हिंसा गर्ने अपराधीलाई तरबारले हानेका चित्र बनाउँथेँ ।
टेम्पोहरू निकै बिग्रन थाले अब, पुराना भएर पनि होला । एउटा बनायो, फेरि अर्को बिग्रियो भन्दै आउँथे ड्राइभरहरू । अर्काको सम्पत्ति न पर्यो, उनीहरू पनि लापरबाही गरिदिन्थेँ । दिनदिनै घाटा लाग्न थाल्यो, ऋण बढ्दै गयो । पाँच वर्ष भइसकेको थियो, मैले चलाउन थालेको । अब पेसा बदल्ने योजना बनाएँ । अब छोरीहरू पनि हुर्किसकेका थिए । उनीहरूलाई पनि आमाले अब टेम्पो नचलाइदिए हुन्थ्यो भन्ने लागेछ क्यारे । भन्थे, ‘अब अरू नै केही काम गर्दा राम्रो हुन्छ कि †’ जे भए नि छोरीहरूलाई पर्याप्त शिक्षा दिएर आत्मनिर्भर बनाउनु थियो मैले । टेम्पो थन्क्याएर नयाँ हस्तकला उद्योग सुरु गरेँ ।
एक दिन रेडियो सुनिरहेकी थिएँ । समाचारमा दमककी एउटी महिलालाई पहिलो महिला टेम्पोचालकका रूपमा सम्मान गरेको सुनेँ । अचम्म लाग्यो, मभन्दा अघि कुनै महिलाले टेम्पो चलाएको मैले सुनेकै थिइनँ । खसखस लाग्यो । ज्वाइँलाई भने, ‘लौ दमककी महिलालाई पो पहिलो महिला टेम्पो ड्राइभर भन्छन् त, मभन्दा अघि त कसैले चलाएकै थिएन होइन र ?’ कांग्रेसको ट्रेड युनियनले उनलाई सम्मान गरेको रहेछ । नेता लक्ष्मण घिमिरेकोमा कुरा पुग्यो । उनले भनेछन्, ‘के गर्ने, मै हुँ भनिन्, त्यसैले दोसल्ला ओढाइदियाँै ।’ मैले आफ्नो लाइसेन्स र कागजपत्र पेस गरेँ । करिब तीन महिनाको छानबिनपछि बल्ल म नेपालको पहिलो महिला टेम्पो ड्राइभरका रूपमा चर्चित भएँ ।

त्यसअगाडि मलाई पनि राष्ट्रिय युवाकोषले सम्मान गरेको थियो, तर त्यति बेला पहिलो–दोस्रो केही भनिएकै थिएन । कोषले मलाई पुरस्कार दिने भनेर गोरखापत्रमा समाचार आएछ । मलाई त विश्वासै लागेको थिएन । रातभरि सोचिरहेँ । भोलिपल्ट पुरस्कार पाएपछि मात्रै हो रहेछ भनेर ढुक्क भएँ । पहिलोपटक नेपाल टेलिभिजनले एक घन्टाको अन्तर्वार्ता लियो मेरो । पछि त सम्मानहरू बढ्दै गइहाले । कुनै दिन मलाई आफ्ना र छोरीहरूको पेट पाल्नै कठिन थियो । अहिले मसँग आफ्नै उद्योग छ । सयौँ परिवार यो उद्योगमा आश्रित छन् । हिजो अरूकोमा काम गर्दा कहिलेकाहीँ राति घर फर्कनुपथ्र्यो । छिमेकीहरू झ्यालबाट चिहाउँदै कुरा काट्थे । आज उनीहरू नै मलाई सम्मानित नजरले हेर्छन् । आफ्नो संघर्षले सफलता पाएकोमा खुसी लाग्छ ।
प्रस्तुति : चमिना भट्टराई/सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !