प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनुको औचित्य छैनः आचार्य


काठमाण्डौ,फागुन १८ ।
संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्यले प्रधानन्यायाधीशलाई पदबाट राजीनामा गराएर चुनावी सरकारको नेतृत्व दिनुको औचित्य नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा आचार्यले राज्यले निष्पक्ष र स्वतन्त्र भनि पत्याएका सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई राजीनामा गराए राज्यले विश्वास गरेको नठहरिने आचार्यको भनाइ छ । आचार्यले प्रधानन्यायाधीशलाई राजीनामा गराएर नेतृत्व दिनु र पूर्व प्रधानन्यायाधीशलाई नेतृत्व दिनुमा कुनै भिन्नता नहुने पनि बताउनुभयो । उहाँले प्रधानन्यायाधीशको नेतृत्वमा जाने विषय तीतो भए पनि मुलुकको निकासका लागि औषधी सम्झेर खानुपर्ने बाध्यता रहेको भन्दै प्रधानन्यायाधीशको नेतृत्वको विषय अप्ठ्यारो निर्णय भएकोले पनि यसमा विवाद हुनु स्वाभाविक भएको तर्क गर्नुभयो ।


व्यवस्थापिका नभएको, कार्यपालिका पनि कामचलाउ भएको अवस्थामा मुलुकमा शक्ति पृथकीकरण खल्बलिएको उल्लेख गर्दै उहाँले शक्तिपृथकीकरणलाई ट्रयाकमा ल्याउन तत्काल सहमति गरेर निर्वाचनमा जानुपर्ने आवश्यकता औल्याउनुभयो । लामो समयसम्म प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाई राख्ने कुरा स्वीकार्य हुन नसक्ने स्पष्ट पार्दै आचार्यले जेठभित्र निर्वाचन गर्ने गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । दलहरुको ईच्छा शक्ति भए, राजनीतिक व्यवस्थापन गर्न सके जेठमा निर्वाचन हुन सक्ने ठोकुवा गर्दै त्यो पनि नभए मङ्सिरसम्ममा निर्वाचन कुनै पनि हालतमा गर्नै पर्ने उहाँको भनाइ छ । आचार्यले नेपाल बार एसोसिएसनले कानूनी दृष्टिबाट हेरेर प्रधानन्यायाधीशको नेतृत्वलाई विरोध गरेको उल्लेख गर्दै बारको चिन्ता जायज भएकोले बारको चिन्तालाई समेत दलहरुले सम्बोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

Related

राष्ट्रिय 5170630676816130896

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item