२०६८ र २०६९ को प्रश्नपत्र हुबहु

http://sindhulidarpan.blogspot.com/2013/04/exam-paper.html
पोष्टराज पहाडी,
सिन्धुली,चैत २० ।
जिल्ला स्तरिय परिक्षा समिती सिन्धुलीले चैत्र १८ गते लिएको कक्षा ८ को सामाजिक विषयको जिल्ला स्तरिय परिक्षामा लापरवाही गरेको भेटिएको छ । २०६८ सालको जिल्ला स्तरिय परीक्षाको प्रश्नहरु २०६९ सालको जिल्ला स्तरिय परीक्षामा हुबहु दोहोरिएको पाइएको छ ।
सामाजिक विषयको कक्षा ८ को अति संक्षिप्त उत्तरात्मक प्रश्नहरुको प्रश्न नं. ४ मा ‘सिन्धुलीमा पाइने’ दुई शब्द बाहेका अन्य सबै प्रश्नहरु जस्ताको तस्तै रहेको पाइएको छ । गत २०६८ सालमा सोधिएको जिल्ला स्तरिय परीक्षाको प्रश्नपत्र र २०६९ सालको परिक्षामा सोधीएको प्रश्नपत्र जस्ताको तस्तै भएपछि २०६९ सालको परिक्षामा सहभागी विद्यार्थीहरु अलमलमा परेका छन् ।
‘यो जिल्ला स्तरिय परीक्षा समिती र प्रश्न निर्माण गर्ने शिक्षकको चरम लापरबाही हो, विद्यार्थीहरुप्रति यसरी कसैले पनि लापरबाही गर्न मिल्दैन’ एक परीक्षार्थीले प्रश्न गरिन् – ‘अघिल्लो सालको जिल्ला स्तरिय परीक्षाकै प्रश्नपत्र अहिलेको परीक्षामा आएपछि हामीले पढेको के अर्थभयो ?’ साथै उनले अन्य विषयहरुमा पनि छिटपुट रुपमा हस्तलिखित प्रश्नहरु परीक्षा हुनुभन्दा अघिल्लो दिन नैै आफ्नो हातमा परेको खुलासा गरिन् ।
तीन समूहमा विभाजन गरेर बनाइएको प्रश्नपत्रको सबै प्रश्नहरु समान छ । ७५ पूर्णाङ्कको परीक्षामा समूह ‘क’ समूह अन्तर्गत प्रश्न नं. ४ मा २०६८ सालमा ‘सिन्धुलीमा हुने कुनै दुई नगदेबालीको नाम लेख्नुहोस’ भनि सोधीएको छ भने २०६९ सालको परिक्षामा फरक भनेको सोही प्रश्न नं. ४ मा ‘सिन्धुलीमा हुने’ हटाएर अरु सबै २० वटै प्रश्नहरु हुबहु रहेको छ ।
यसैगरि, छोटो–छोटो उत्तरात्मक ९ वटा प्रश्नहरुमा ८ वटा दुरुस्त र एक वटा मिल्दोजुल्दो छ । यस्तै लामो उत्तरात्मक प्रश्नहरुमा ४ वटा मध्ये एक वटा प्रश्नको केही शब्द हटाइएको छ भने बाँकी सबै हुबहु रहेको छ ।
जिल्ला स्तरिय परीक्षा सञ्चालनको लागि जिल्ला तहमा जिल्ला शिक्षा अधिकारीको संयजकत्वमा जिल्ला स्तरिय परीक्षा समिती गठन गरिन्छ । समितीमा जिल्लाका शिक्षक संघ÷संगठनका प्रतिनिधीहरु पनि रहने व्यवस्था छ । यसैगरि प्रश्नपत्र निर्माण गर्दा प्रत्येक विषयको दुई देखी तिन जनासम्म विषयगत शिक्षकहरु बसेर प्रतिविषय ३ सेट प्रश्नपत्र निर्माण गरिन्छ । र अन्त्यमा ३ सेट प्रश्नपत्रहरु तथा पुराना प्रश्नहरुको संगालोलाई मिलाएर १ प्रतिप्रश्नपत्र समितीले बनाउने गर्दछ ।
यता, जिल्ला शिक्षा अधिकारी चन्द्र प्रसाद लुइटेलले भने त्यसरी प्रश्नपत्र आउनु संयोग मात्र भएको प्रतिक्रिया दिए । सिन्धुलीमा प्रश्न पत्र छाप्दा गोप्यता नहुने भएको भन्दै शिक्षा अधिकारीले प्रश्नपत्र काठमाडौँ लगेर छापेका थिए । प्रश्नपत्र हुबहु आउनुका कारणबारे शिक्षा अधिकारीले अरु केही बोल्न चाहेनन् । उनले जिल्लाका शिक्षकहरुबाटै सरसल्लाह गरि प्रश्नपत्र निर्माण गरिएको बताए ।
तर यसपटक जिल्ला शिक्षा अधिकारीले परीक्षाका विषयमा कुनै शिक्षक संघ÷संगठनसँग सर–सल्लाह नगरी आफुलेमात्र एकलौटी निर्णय गरेको बताए । यता शैक्षिक गणतान्त्रीक मञ्च सिन्धुलीका अध्यक्ष कृष्ण गौतमले पनि आफुहरुलाई परीक्षाका विषयमा जिल्ला शिक्षा अधिकारीले नडाकेको बताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !