उनले कड्किदै भने ‘बिना तयारी निर्वाचन हुदैन’


काठमाडौं,  चैत । २६ 
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले २०७० साल मंसिर भित्र संविधानसभाको अर्को निर्वाचन गर्ने दायित्व दिएको बताएका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १ सय ५८ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेशलाई देखाउँदै रेग्मीले चैत १ गते दलहरु बीच मंसिर भित्र निर्वाचन गर्ने सहमति भएको उल्लेख गरेका छन् ।

काठमाडौंमा आज ‘मदन भण्डारी फाउण्डेशन’ले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘संवैधानिक प्रावधानले मूलतः वर्तमान अवस्थामा प्राथमिकताका साथ सम्वत् २०७० साल मंसिरभित्र अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व वर्तमान सरकारमाथि राखेको छ ।’ असार पहिलो साता निर्वाचन गर्ने भनाई आईरहेका बेला अध्यक्ष रेग्मीले मंसिर भित्र निर्वाचन गर्ने बताएका हुन् ।


उनले यथासम्भव उक्त अवधिभित्र संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकार भरमग्दुर प्रयत्नशील र कटिबद्ध रहेको बताए । ‘यो सरकार गठनको मूल उद्देश्य पनि त्यही नै हो,’ उनले भने, ‘बिना तयारी निर्वाचन हुने होइन ।’

नागरिकता वितरणदेखि मतदाता नामावली संकलनको कार्य सम्पन्न गर्नुपर्ने र कानूनी व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले कानून निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उल्लेख गरे ।

‘विधि, प्रक्रिया, र अन्य व्यवस्थापकीय कार्य सुनिश्चित नगरी त्यसै हुन्छ भन्दैमा निर्वाचनको काम हुने होइन,’ अध्यक्ष रेग्मीले भनेका छन्, ‘तसर्थ यसका लागि कार्य सम्पन्न हुने गरी नै तिथि मिति तोकिनु बाञ्छनीय हुन्छ भने मलाई लाग्दछ ।’ उनले विगतको तितो अनुभवले पनि यही कुरालाई ईङ्गित गरेको बताए ।

रेग्मीले दलहरुको सक्रिय र इमान्दारीपूर्ण सहयोगबिना सरकारले मात्र चाहेर निर्वाचन सुनिश्चित हुने नहुने बताए । उनले चुनावका लागि उचित वातावरण बनाउन दलहरुबीच संवाद र छलफललाई सक्रियतापूर्वक अघि बढाई छिटोभन्दा छिटो निर्वाचन प्रक्रियालाई गति दिन दलहरुलाई आव्हान गरे ।

‘निर्वाचन सरकारको एकमात्र उद्देश्य हो र सोही दिशामा सरकारका सबै प्रयासहरु केन्द्रित भएका पनि छन्’ उनले भने, ‘सरकारलाई निर्वाचनको मिति घोषणा गरियोस् भन्दै समयसापेक्ष माग र आवाजहरु आइरहेका छन् ।’

उनले निर्वाचनको कार्यक्रमप्रति कुनैपनि राजनीतिक दल, संघ, सङ्गठन, समुदायले विरोध गर्न नहुँने बताए । उनले मतदाता नामावली संकलनमा सम्पूर्ण राजनीतिक दललगायतलाई सहयोगात्मक वातावरणका लागि आव्हान गरेका छन् ।

Related

राष्ट्रिय 1973690939230572820

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item