‘भगौडा’ सुरक्षाकर्मीहरुले पार्टी खोले

http://sindhulidarpan.blogspot.com/2013/05/political-party.html
काठमाडौं, वैशाख ३१ ।
माओवादी सशस्त्रद्वन्द्वका क्रममा जागिरी छाडेका नेपाली सेना र प्रहरीका ‘भगौडा’ सुरक्षाकर्मीले ‘नेपाल राष्ट्र सेवा दल’ घोषणा गरेका छन् ।संविधानसभाको आगामी निर्वाचनमा दलीय रुपमा सहभागी हुने भन्दै ‘भगौडा’ सुरक्षाकर्मीले राजनीतिक दलको घोषणा गरेका हुन् । काठमाडौंको पुतलीसडकस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कक्षमा मंगलबार पत्रकार सम्मेलन गरेर ‘भगौडा’ सुरक्षाकर्मीले दल घोषणा गरिएको हो ।
दलका संयोजक सूर्यबहादुर घिमिरेले आफूहरुले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ देशभरि उम्मेदवारी दिने दाबी गरे । ‘दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन्छौं,’ उनले भने, ‘निर्वाचनमा हाम्रो दलले उल्लेख्य मत पाउने छ ।’जागिरी छाडेर भागेका ‘भगौडा’ सुरक्षाकर्मीलाई भविष्यमा कुनै पनि पदमा योग्य वा अयोग्य ठहर्ने कानूनी व्यवस्था छ । कसुरको प्रकृति हेरेर सो कानून भगौडा सुरक्षाकर्मीको हकमा लागू हुन्छ ।
‘सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरी’का नाममा घिमिरे नेतृत्वको समूहले विगत केही वर्ष देखि क्षतिपूर्ति र पुनःस्थापनाको मागसहित आन्दोलन समेत गर्दै आएको छ ।
‘नेपाल राष्ट्र सेवक दल’लाई निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएर देशभरि संगठन विस्तार गर्ने संयोजक घिमिरेले योजना सुनाए ।माओवादी द्वन्द्वका क्रममा ४६ हजार चार सय ९० सुरक्षाकर्मी भागेको तथ्याङक पत्रकार सम्मेलनमा दिईएको थियो ।सल्लाहकार प्रेमबहादुर बिष्टले आफूहरु चुनावको सम्पूर्ण तयारीमा जुटेको दाबी गरे ।
यसैबीच, भगौडा सुरक्षाकर्मीले राजनीतिक दल घोषणा गर्न लागेको थाहा पाएर पुगेको प्रहरीले हस्तक्षेप गरेको थियो । भगौडा प्रहरी र प्रहरीबीच पत्रकार सम्मेलनको विषयलाई लिएर केही समय तनाव भएको रिपोर्टर्स क्लवद्वारा जारी समाचारमा उल्लेख छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !