माओको यान्नान, लोसेस पठार र वातावरणीय प्रविधी

http://sindhulidarpan.blogspot.com/2013/08/article.html
- धीर भण्डारी
म आई.ए. पढ्दा ‘जनवादी साहित्यबारे’ भन्ने शीर्षकको एउटा सानो पुस्तकमा माओत्सेतुङको साहित्य सम्बन्धी धारणा र अर्को एउटा यन्नान व्यख्यानमालाबाट साभार शीर्षकको सानो पुस्तिकामा समुदाय संग क्रन्तिकारी योद्धाहरुले काम गर्ने तरिकाहरु बारे पढ्ने मौका मिलेको थियो ।
म आई.ए. पढ्दा ‘जनवादी साहित्यबारे’ भन्ने शीर्षकको एउटा सानो पुस्तकमा माओत्सेतुङको साहित्य सम्बन्धी धारणा र अर्को एउटा यन्नान व्यख्यानमालाबाट साभार शीर्षकको सानो पुस्तिकामा समुदाय संग क्रन्तिकारी योद्धाहरुले काम गर्ने तरिकाहरु बारे पढ्ने मौका मिलेको थियो ।

त्यो पुस्तकमा उल्लेखित यन्नान भन्ने ठाउँ चीनको कुनै ठाउँ होला जहाँ बसेर माओले कार्यकर्ताहरु समक्ष विविध बिषयमा आफ्ना धारणाहरु राखेका रहेछन् भन्ने मलाई लाग्यो । त्यसबेला म सामान्य रुपमा विद्यार्थी राजनीतिका कृयाकलापहरुमा संलग्न थिएँ । त्यसमा उल्लेखित माओका विचारहरु त्यतिबेला राम्रै लाग्थे । कुनैबेला चीन घुम्न जाने मौका मिल्यो भने यन्नान भन्ने ठाउँ पुग्नुपर्ला भन्ने मनमा लागेको थियो । तर त्यसपछि भने त्यसको स्मरण हरायो । चर्चापरिचर्चा केही गरिएन । बीचका निकै वर्ष हातमुख जोर्ने प्रयोजनका लागि भन्दै विभिन्न जागीर, पेशा र व्यवसायमा लागियो ।
मानिसको मनमा जे इच्छा जागृत हुन्छ त्यो एक न एक दिन पूरा हुन्छ भन्छन् प्रसिद्ध अमेरिकन लेखक नेपोलियन हिल । हाम्रो नेपाली समाजमा पनि जहाँ इच्छा त्यहाँ उपाय, तँ चिता म पुर्याउँछु आदि उखानहरु प्रचलित छँदैछन् । यही उखानजस्तै भयो मेरो जीवनमा पनि । चीनमा अध्ययनरत एकजना साथीले चीन सरकारले शाङ्सी प्रान्तको याङलिङ शहरमा आयोजना गर्ने कृषि तथा वातावरण संरक्षण सम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भागलिन आउने भए म निमन्त्रणा पठाउन लगाइदिन्छु भनेर खबर गरे । मैले उनको सल्लाहमा सबै तयारीहरु गरेँ र आवेदन गरेँ । मेरो नाम पनि कार्यक्रमका सहभागीको रुपमा नेपालबाट छनौटमा पर्यो । आफ्नो देशको सम्बन्धित बिषयको कन्ट्री रिपोर्ट पठाए पछि सहभागीताको लागि निमन्त्रणा प्राप्त भयो । सोही अनुसार भिषा र टिकटको व्यवस्था गरी सन् २०१० को अगस्तमा म नेपालबाट चीनको पुरानो ऐतिहासिक शहर सियानको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएँ । मलाई लिनका लागि कार्यक्रमसँंग सम्बद्ध एकजना अफिस कर्मचारी त्यहाँ मौजुद थिइन् । उनीसँगै म याङलिङ पुगेँ ।

हाम्रो कार्यक्रम आयोजना गरिएको प्रान्त शाङ्सीमा दुईतीनवटा महत्वपूर्ण ऐतिहासिक शहर र ठाउँहरु रहेछन् । माओले आफ्नो राजनीतिक जीवनका करिब १३ वर्ष बिताएको शहर यान्नान, बेइजिङका राजधानी सार्नु अघि १३ औ शताब्दीसम्म चीनको राजधानीका रुपमा रहेको ऐतिहासिक शहर सियान, करिब ७००० भन्दा बढी सिपाहीहरुको अनुहार सुरक्षित राख्नका लागि बनाइएका योद्धाहरुको टेराकोटा मूर्ति भएको सियान भन्दा केही टाढा रहेको प्रसिद्ध ऐतिहासिक स्थल । चीनको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन आउने पाहुनाहरुलाई सम्बद्ध प्रान्तका ऐतिहासिक र पर्यटकीय स्थलहरु अवलोकन गराउने गरिँदो रहेछ । सोही अनुसार हामीलाई पनि ती तीनवटै ऐतिहासिक स्थलहरुको भ्रमणमा केही जान्ने र बुझ्ने मौका मिल्यो ।
कार्यक्रममा प्रस्तुत हुने बिषयहरु र भ्रमण तथा अवलोकनका कार्यक्रमहरु समेटिएको सेड्युलमा यान्नान शहरमा २ दिनको कार्यक्रम रहेको जानकारी पनि समावेश थियो । त्यो देखे पछि मलाई लाग्यो जहाँ इच्छा त्यहाँ उपाय भन्ने कुरा साँच्चै चरितार्थ हुँदोरहेछ । मैले माओको त्यो सानो पुस्तिका पढ्दा राखेको माओको यान्नान शहरमा पुग्ने इच्छा आज संयोगले साकार हुने देखेर म दंग परेँ । एक प्रकारले यो कस्तो रहस्यमय अवसर आएको हो भन्ने पनि लागि नै रह्यो ।
कार्यक्रम आयोजना स्थलबाट यान्नान शहर करिब २०० कि.मि. टाढा थियो । बीचमा पर्ने एक मोडेल गाउँमा हामीलाई अवलोकन भ्रमणका लागि घुमाउने व्यवस्था गरिएको रहेछ । चीनका सम्बृद्ध शहरहरुका संस्थाहरु र विश्वविद्यालयहरुले गाउँको विकासमा पनि केही साझेदारी गरुन् भनेर सरकार, स्थानीय जनता र शहरीया संघसंस्थाहरुको संयुक्त साझेदारीमा एक नमूना गाउँ संचालनमा ल्याइएको रहेछ । कृषि प्रणालीमा सुधार, सामाजिक सुरक्षाका व्यवस्थाहरुको व्यवस्थापन, गाउँका स्रोतहरु उपयोग गरी वैकल्पिक उर्जाहरुबाट उर्जा व्यवस्थापन र उपयोग, पशुपालनलाई स्तरीकरण गरी अनुसन्धान तथा प्रविधि हस्तान्तरणको लागि एक उन्नत पशुफार्म आदिको अवलोकन पछि हामी बेलुका अलि ढीलो गरी याङलिङबाट यन्नान शहर पुग्यौँ ।

यन्नानमा वातावरणीय दृष्टिले अति नै संवेदनशील लोसेस पठारमा हुने भूक्षयको अध्ययन गर्नका लागि एक राष्ट्रियस्तरको अनुसन्धान केन्द्र स्थापना गरिएको रहेछ । त्यसले कति पानी पर्दा कति भिरालो भएको ठाउँमा कति भूक्षय हुन्छ र त्यसरी हुने भूक्षयमा के कस्ता किसिमका बोटबिरुवाहरु र वनस्पति लगायो भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने अध्ययन गर्दोरहेछ । सोही अध्ययनका आधारमा चीनको त्यो बालुवा पठार लोसेस प्लेटोको हरियाली बृद्धिका कार्यक्रमहरु भइरहेका रहेछन् । चीनले बालुवा नै बालुवाको त्यस बिशाल पठारी क्षेत्रमा वातावरणीय संरक्षण र प्रविधि विकासका क्षेत्रमा के गरिरहेको छ, त्यसबाट अल्पविकसित देशहरुले के सिक्न सक्छन् भनेर अल्पविकसित देशहरुलाई आफ्ना प्रविधिहरुबारे जानकारी गराउनु त्यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । सोही अनुसार हामीलाई भूक्षयका दृष्टिले पनि संवेदनशील र अनुसन्धान केन्द्र पनि त्यही ठाउँमा भएकाले यन्नानको भ्रमण गराइएको रहेछ ।
त्यस शहरमा पुगे पछि चीनको वर्तामान आर्थिक विकासको मोडेल, सामाजिक र आर्थिक विकासको अवस्था लगायत धेरै कुरा जान्ने अवसर प्राप्त भयो । एकातिर शहरको मुख्य भागमा विशाल आधुनिक महल र सकेसम्म संसारका अत्याधुनिक सुविधाहरु थिए भने अर्कातिर त्यही शहरको बीच भागमा नै बालुवाको भित्तामा प्वाल खोलेर कालकोठरी जस्ता लाग्ने परम्परागत घरहरुमा पनि मानिसहरु त्यसैलाई आफ्नो घर मानेर बसोबास गरिरहेका भेटिन्थे । आधुनिक चीनसंगै जोडिएको त्यो परम्परागत चीन पनि मैले यस भ्रमणका अवसरमा देख्ने र बुझ्ने मौका पाएँ ।
जतिसुकै आधुनिक भनिए पनि र भौतिक विकासका दृष्टिले आधुनिक देखिए पनि चीनको विकासको चुनौती अहिले पनि डरलाग्दो नै रहेछ भन्ने अनुभव भयो त्यहाँको भ्रमणबाट । एकातिर बेइजिङ, सांघाइ, सेन्जेन जस्ता अत्याधुनिक शहर र शहरी अर्थतन्त्र अर्कातिर बालुवका भित्ताखोपेर बनाइएका प्वालहरुलाई आफ्नो वासस्थानका रुपमा स्वीकारेर बस्नेहरुको अवस्था । दुवैथरि सामाजिक आर्थिक अवस्था बोकेर हिँडिरहेको चीनको त्यो वास्तविकताले आधुनिक पूँजीवादी अर्थतन्त्रको वितरण प्रणालीलाई दिएको चुनौती र संभावनाको दुवै चित्र मेरो मानसपटलमा आइरहे । अहिले पनि मेरो मानसपटलमा ती भित्ता खोपेर बनाइएका प्वालहरुमा बस्ने मानिसहरुको जीवनले चीनको एकपाटो देखाइरहेको भान हुन्छ ।

वातावरणीय दृष्टिले जोखिम कम भएका भिरालो क्षेत्रबाट बस्ती विस्थापन गरी स–साना शहर विकास गरी समथर भूभागमा सार्ने चीन सरकारको प्रयत्नस्वरुप हाल लोसेस पठारको वातावरणमा सुधार आई हरियाली बढ्दै गएको र सुख्खा पठार हरियो पठारमा परिणत हुँदै गएको जानकारी र तथ्यहरु हामीलाई कार्यक्रममा बताइएको थियो । भ्रमण अवसरमा त्यसको प्रत्यक्ष अवलोकन गर्ने अवसर पाइयो ।
पठारको बालुवा पनि नबगाउने र किसानलाई पनि विस्थापन गर्नु नपर्ने समथर ठाउँहरुमा फलफूल खेतिलाई प्रोत्साहन गरिएको रहेछ । स्याउ, नास्पाती, कटुस, ओखर, आरु आदि बढी मूल्यका फलफूलहरु खेति गर्न प्रोत्साहित गर्ने गरी खेति प्रणालीमा परिवर्तन गरिएको रहेछ । ठूलो क्षेत्रमा एकै किसिमको बाली लगाउँदा आउनसक्ने रोग तथा वातावरणीय अन्य जोखिमलाई कम गर्न बीचबीचमा मकै तथा भटमास जस्ता सुख्खा ठाउँमा खेति गर्न सकिने बालीहरु लगाउने व्यवस्था मिलाइएको रहेछ ।
हामीकाहाँ पाइने हेर्दा रुख बयरजस्तो चाइनिज ‘टाट’ भनिने एक खालको फल त्यस बालुवा पठारको बिशेष फल रहेछ । कम पानी, बलौटे भूभाग, सुक्खा भिरालो जमिनमा खेति गर्नसकिने भएकाले यसको खेति निकै नै लोकप्रिय रहेछ । उत्पादनका हिसाबले पनि निकै बढी उत्पादन हुने यो फल त्यस पठारको निर्यातजन्य फल नै भइसकेको हामीलाई जानकारी गराइयो ।
फलफूल र अन्नबाली नहुने जमीनमा कम पानीमा बाँच्न सक्ने र सुक्खा सहन गर्नसक्ने वनस्पति र रुखहरु पनि अभियानकै रुपमा लगाइएको रहेछ । जसका कारण हाल त्यसक्षेत्रमा हरियाली बढ्न गई पानीका मूलहरु पलाउने, भइरहेका मूलहरुमा पानी बढ्ने, वातावरण्ीय स्थिरता आउने जस्ता सकारात्मक वातावरणीय संकेतहरु आउन थालेका रहेछन् । त्यो देखेपछि मलाई लाग्यो मानिसले चाह्यो भने के गर्न सक्दैन र ? हाम्रो पनि पहाडि खेति प्रणालीलाई यसरी सुधार गर्न र बस्तीहरुलाई यसरी व्यवस्थित गर्न पाए ? चीनको यो भागको वातावरणीय तथा खेति प्रणालीबाट हामीले धेरै कुराहरु सिक्न सक्ने रहेछौँ । - dhirbhandari@yahoo.com
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !