'एक किकमै पर्लक्कै ढल्यो'

http://sindhulidarpan.blogspot.com/2013/10/blog-post_5.html
- योगेश्वर अमात्य, गायक
‘मेरो बिर्सने बानी छ,’ गायक योगेश्वर अमात्य विगतका स्मृति कोट्याउन खोज्दा भन्दै थिए, ‘त्यसैले धीत मरुन्जेल पिट्न मन लागेको व्यक्तिलाई पनि दुई÷चार दिनमै बियर अफर गरिरहेको हुन्छु ।’ उनले लामै समय लगाएरै केही घटना मात्र सम्झिए । जीवनमा गरिएका लफडा र खुसीका क्षण सम्झिँदै भने, ‘ममा इख पनि छैन, रिस पनि छैन । झन् झगडा साम्य पार्ने त मेरो स्पेसियालिटी नै हो ।’ अहिले पनि झगडा परेको देख्नेबित्तिकै उनी गाडीबाट ओर्लन्छन् र झगडा मिलाइदिएर हिँड्छन् । तैपनि घटनाबारे बताइरहँदा उनी निराश देखिन्थे र भन्थे, ‘टुरिस्ट बनेर विदेश जाँदा बढी अधिकार पाउँछुजस्तो लाग्छ, जुन म मेरै देशमा पाउँदिनँ ।’ उनले सम्झिएका केही घटना उनकै शब्दमा :
एक किक हान्दा चार घन्टा यातना
२०४३ सालमा म अमेरिकामा बिबिए पढ्थेँ । बिदामा घर आएको थिएँ । त्यतिखेर कानमा टप लगाउँथेँ, हेयर स्टाइल मेक्सिकन साथीले मयुरको जस्तै बनाइदिएको थियो । हाम्रो अमेरिकन जिप थियो, त्यसको छाना झिकेर खुला नै कुदाउँथेँ । तेक्वान्दोमा अमेरिकाबाट ब्ल्याकबेल्ट लिएको थिएँ, नेपालमा मेघदूत बक्सिङ क्लबको नाममा दैनिक तीन सयभन्दा बढीलाई तेक्वान्दो पनि सिकाउँथेँ ।एक दिन बिहानै मेरी बजैलाई टेम्पो ड्राइभरले झर्नुपर्ने ठाउँभन्दा अलि परै रोकेछ । अनि फिर्ता दिनुपर्ने ७५ पैसा नदिएर उल्टै लफडा गरेछ । त्यो देखेर छिमेकी किरण प्याकुरेलले ‘बूढी आमैलाई पनि ठग्ने हो, फिर्ता पैसा खुरुक्क देऊ न’ भनेर ड्राइभरलाई हप्कीदप्की गरेछ । ड्राइभरले त उल्टै किरण भाइलाई एक मुक्का बजाएछ । त्यति नै वेला म जिपमा त्यहीँ आइपुगेँ । ड्राइभरको त्यो हर्कत सुनेपछि मेरो कन्पारो तात्यो, कस्सेर एक किक हानेको ड्राइभर त पर्लक्कै ढल्यो । त्यसपछि घर गएँ ।
मध्याह्न १२ बजेतिर म क्लबमा तेक्वान्दो प्राक्टिस गर्दै थिएँ, एक्कासि १५÷१६ जनाको हुल आएर ‘तपाईंलाई इन्सपेक्टर सा‘पले बोलाउनुभएको छ, हिँड्नुप¥यो’ भने । उनीहरू सादा पोसाकमा थिए । ‘तपाईंहरू प्रहरी भनेर मैले कसरी मान्ने’ भनेपछि उनीहरूले आफ्नो परिचयपत्र देखाए । किन बोलाए, हेक्का थिएन । कालिमाटीका इन्सपेक्टरहरू प्रायः मेरो क्लबमा आइरहन्थे, उनीहरूसँग सम्बन्ध पनि राम्रो नै बन्थ्यो । केही कामका लागि बोलाएको होला भन्ठानी म चौकी पुगेँ । चौकीमा पुगेपछि देखेँ– त्यो ड्राइभर इन्सपेक्टरसामु रुँदै थियो । ‘म बालबच्चा भएको मान्छे, त्यत्तिकै मलाई पिट्यो,’ भन्दै थियो ।
ट्र्याक सुटमा चौकी पुगेको थिएँ । इन्सपेक्टर पनि बडी बिल्डर थियो, मलाई पहिलेदेखि नै वाच गरेको रहेछ । उसले मेरो अन्डरवेयरबाहेक सबै कपडा खोलिदियो र घोप्टो पारेर बाँसमा हातखुट्टा बाँधिदियो । ‘तँ नेपालमा छानाविनाको जिप कुदाउने, मयुरको जस्तो कपाल बनाउने’ भन्दै पिट्न थाल्यो । ‘मेरो गल्ती नै छैन, पहिला हातपात गर्ने त्यही ड्राइभर हो,’ मात्रै भनेको थिएँ, झन् बेस्सरी पिट्यो । ‘अमेरिकामा त यस्तो हुँदैनथ्यो,’ भनेँ । ‘त्यसो भए तेरो हातखुट्टा भाँचिदिन्छु, अमेरिकामा नै गएर उपचार गर् है त’ भन्दै पिटिहाल्थ्यो । मलाई त भियतनाममा छु कि जस्तो लाग्यो, त्यतिवेला मलाई भियतनाममा ‘वार’ फिल्मको सुटिङ गरिरहेको अनुभूति पो भयो । ‘कालीमाटीमा दुईवटा साँढे बस्न मिल्दैन, बुझिस्,’ भन्दै लगातार चार घन्टा धुलाइ गरेपछि मात्रै उसले मलाई छाड्यो ।
धर्मराज थापाको म्वाइँ
वसन्तपुरको शिव–पार्वती मन्दिर जीर्णोद्धारका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूलो सांगीतिक कार्यक्रम आयोजना भएको थियो । त्यहाँ बूढादेखि बच्चासम्म सबै गायक उपस्थित थिए, तर गायकको सूचीमा मेरो नाम थिएन । त्यतिवेला मेरो ‘करैकरले’ एल्बम मात्रै निस्किएको थियो । ओमविक्रम विष्टले ‘तिमीले पनि गाउनुपर्छ’ भनेपछि म गएको थिएँ ।मेरो प्रस्तुति सकिएपछि धर्मराज थापाले ‘तपाईं भनननन घुमेर गाउनुहुने रहेछ, मलाई एकदमै रमाइलो लाग्यो, भूपि शेरचनले मेरो गीत मन पराएर मलाई म्वाइँ खानुभएको थियो, त्यो म्वाइँ म तपाईंलाई फर्काउँदै छु’ भनेर म्वाइँ खानुभयो । र, मेरो फोटो पनि माग्नुभयो । धर्मराज थापाजस्ता वरिष्ठ स्रष्टाको त्यो सम्मान मेरो जीवनभरकै सबैभन्दा ठूलो उपलब्धि ठान्छु । ‘तिम्रोबारे गोर्खापत्रमा लेख लेख्दै छु, फोटो दिनुप¥यो’ भन्दै उहाँले मलाई धेरैचोटि फोन गर्नुभयो । मलाई पनि एकदमै ‘दिऊँ–दिऊँ’ लागेको थियो । तर, त्यतिवेला चर्चामा आइएला, अरूले योगेश्वरले आफ्नो चर्चा गर्न लगायो भन्लान् भन्ने सोचेँ । धेरैचोटि माग्दासमेत फोटो दिइनँ । त्यतिवेला फोटो नदिएकोमा अहिलेचाहिँ पछुतो लाग्छ ।
स्कुलबाट रेस्टिकेटमा बारबार बचियो
मैले दार्जिलिङको नर्थ प्वाइन्ट स्कुलमा पढेको हुँ । स्कुल पढ्दा तीनजना मिल्ने साथी थियौँ । नौ कक्षाको अन्त्यतिर कसैले स्कुलको भित्तामा मसीको सिसी फुटाएछ र त्यो काण्डमा हामी तीनजनाको नाम मुछियो । स्कुलले ‘यु प्रोमोटेड टु क्लास टेन बट यु आर रेस्टिकेटेड’ भन्दै हामी तीनैजनाको हातमा चिठी थमाइदियो । घरमा बाबाको पनि गाली खाइयो, तर वास्तविकता बताएपछि बाबाहरू मिलेर स्कुलमा कुरा गर्नुभयो, हामीलाई स्कुलबाट निकालिएन ।हाम्रो कक्षामा नेपाली जम्मा दुईजना मात्रै थियौँ । धेरैजसो बंगाली, केही चिनियाँ र भुटानी थिए । हामीभन्दा एक क्लास जुनियर कम्फु÷सम्फु सिकेको चाइनिज केटो थियो, ऊ आपूmलाई ब्रुस्ली नै सम्झन्थ्यो । एक दिन उसले बिहारको एकजना फुच्चे ठाकुर केटालाई कुटेछ । हामी स्कुलमै फिल्म हेरिरहेका थियौँ, फिल्म हेरेकै ठाउँमा आएर ठाकुरले रुँदै मसँग सहयोग माग्यो । त्यतिखेर मैले ७५ भारुमा भुटानी आर्मी अफिसरको बेल्ट किनेको थिएँ । त्यो ठाकुर फुच्चे रोएको देख्दा मैले आपूmलाई नियन्त्रण नै गर्न सकिनँ । सरासर गएर त्यो चाइनिजलाई बेल्ट नै बेल्टले बजाएँ । बेल्ट बाक्लो थियो, रिसको झोकमा कति कुटेँ, हेक्कै भएन ।
त्यो घटनापछि मलाई स्कुलले फेरि ‘रेस्टिकेट’ गर्न लागेको रहेछ । त्यो हल्ला सुनेपछि सिनियर बंगाली र भुटानी साथीहरूले स्कुल हेडलाई भेटे । उनीहरूले ‘चाइनिज केटाले ठाकुरलाई पिटेपछि प्रतिकार मात्रै गरेको हो, योगेश्वरको गल्ती छैन,’ भनेपछि मलाई पुनः स्कुलबाट निकालिएन ।
अरूलाई बोतल, मलाई वान्स मोर
राष्ट्रिय सभागृहमा सांगीतिक कार्यक्रम थियो, सुकबहादुर सोनाम दाइले गाउन बोलाउनुभएको थियो । तर, मेरो आफ्नै गीत रेकर्ड थिएन, नेपाली लोक र राष्ट्रिय गीतलाई पप र रकमा ढालेर गाउँथेँ । रोदी ब्यान्डले बजाइरहेको थियो, रोदी ब्यान्डसँग मैले पहिले नै गाइसकेको थिएँ । स्टेजमा सुकमित गुरुङ गाउँदै थिइन्, मलाई भने त्यहाँ गाउन मन लागेन । ब्याकस्टेजमा पुगिसकेको थिएँ, एक्कासि स्टेजबाट मेरो नाम उद्घोष भयो । सुकबहादुर दाइले पनि धकेलेर मलाई स्टेजमा पु¥याइदिनुभयो, मैले गाएँ । ‘आकाशैमा चिल उड्यो धरतीमा छाया’ गीत गाउँदा दर्शकबाट हुटिङका हुटिङ आयो, ‘वान्स मोर’को आवाज घन्किरहेको थियो ।गीत गाइसकेर ब्याकस्टेज आइसकेपछि थाहा पाएँ, मभन्दा अघि जति पनि गायक÷गायिका गए, उनीहरूलाई बोतलहरू फ्याँकेर, अन्य चिजले हिर्काएर स्टेजमा टिक्नै दिएका रहेनछन् । तर, मेरो प्रस्तुतिभरि कुनै त्यस्तो हर्कत भएन ।
नांगै बस्न मन लाग्छ, बसियो पनि
मलाई शिक्षा दिन एकदमै मन लाग्छ, भनेरभन्दा पनि गरेर । अझ म सबैजना नांगै हिँड्नुपर्छ, त्यसो भए अपराध कम हुन्छ, शरीरको बारेमा लाज र चासो लाग्दैन भन्ने सोच्छु । अहिले पहिरनमा धेरै नै खर्च हुन्छ, सबै नांगै हिँडे, त्यो पनि बचत हुन्छ । तैपनि, कुनै चिज किन लुकाउनुपर्छ ? चोरले पो लुकेर र लुकाएर हिँड्छ । धेरैजसो महान् व्यक्ति पनि त्यसरी नै हिँडेको देखेको÷सुनेको छु । त्यसैले म पहिरनमा कहिल्यै ध्यान दिन्नँ, हाफ पाइन्ट र सामान्य टिसर्टमै हिँड्छु ।१५ वर्षको उमेरदेखि नै म एनआरटी क्लबमा आबद्ध छु । एनआरटी क्लबले बर्सेनि पिकनिक कार्यक्रम गथ्र्यो । एनआरटीको पिकनिक कार्यक्रम दोलालघाटमा थियो, त्यसवेला मैले पिकनिकका आधाभन्दा बढी साथीलाई नांगै पौडी खेल्न लगाएँ । धेरैबेरसम्म रमाउँदै नांगै पौडी खेलियो ।
एक दिन दिउँसै हेटौँडाको राप्ती खोलामा साथी विनय रञ्जित र म नांगै करिब एक घन्टासम्म जिप धोएर बस्यौँ । हामी नांगिएको सयौँ व्यक्तिले हेरिरहेका थिए, तर हामीनजिक उनीहरू पनि आउन सकेका थिएनन् । त्यति धेरै व्यक्तिले हामी नांगिएको हेरिरहँदा पनि हामी पटक्कै लजाएनौँ ।
पाँच मिनेट ढिलो पुग्दा “गेट–आउट”
अमेरिका पढ्दा मैले एन्थ्रोपोलोजीको पनि क्लास लिइरहेको थिएँ । एन्थ्रोपोलोजीका लेक्चरर विदेशी विद्यार्थीलाई अलि हेप्न खोज्थ्यो, विशेष गरी केटालाई । केटीप्रति भने ऊ नम्र नै थियो । एक दिन म क्लासमा पाँच मिनेट ढिलो भएँ । त्यही दिन मात्रै म ढिलो पुगेको थिएँ, मलाई त ‘गेट–आउट’ पो भन्यो, केटीहरू खाजा खाएर बिस्तारै आए पनि केही भन्दैनथ्यो । मैले तत्कालै प्रतिकार गरेँ, फेरि ‘गेट–आउट’ भन्यो । ‘बाहिर जानैप¥यो भने पहिला सेक्युरिटी गार्ड बोलाएर ल्याउँछु अनि मात्रै जान्छु,’ मैले भनेँ, ‘फि तिरेर पढेको हुँ, तपाईंले भन्दैमा म किन जानेँ ?’ त्यसपछि उसले मलाई कर गरेन ।त्यो लेक्चररको बानी मलाई पटक्कै चित्त बुझेको थिएन । त्यसका विरुद्धमा पर्चा÷पम्प्लेट बनाएर बाँड्छु भन्ने सोच्दै कलेज हेडकहाँ गएँ । कलेज हेडले ‘झन् मैले दसौँ वर्षदेखि कसरी सहेर बसेको हुँला’ भन्दै उल्टै मलाई प्रश्न गरेपछि म चित्त बुझाएर निस्किएँ ।
नेवारबाटै असहयोग
छोरी पढ्न विदेश जाँदै थिइन्, स्वीकृति पत्र लिन म शिक्षा मन्त्रालय पुगेको थिएँ । सबै प्रक्रिया पूरा भइसकेको थियो, तर एकजना श्रेष्ठ थरका कर्मचारीले भने स्वीकृति–पत्र प्रिन्ट दिन आलटाल गरे । मैले धेरैचोटि छिटो गरिदिन अनुरोध गरेँ, तर उनी ‘तपाईं गायक भएर के भो, वेला भएपछि दिइहाल्छु नि’ भन्दै उल्टै मसँग जंगिए । ‘मैले तपाईंलाई म गायक हुँ भनेकै छैन, त्यो त मेरो अधिकारको कुरा हो, खुरुक्क दिनुस् न’ भनेँ । उनले नटेरेपछि म उनको हाकिमकहाँ गएँ । हाकिमले फोनबाट आदेश दिए, उनले फोनमा आदेश माने । तल झर्छु त उनी हिँडिसकेका थिए । भोलिपल्ट पनि उनले त्यस्तै व्यवहार देखाए । अति भएपछि मैले धम्कीपूर्ण भाषामा भनेँ, ‘पाँच मिनेटभित्र मेरो काम गर्नुभएन भने म कि जनअदालत जान्छु, किचाहिँ पत्रकारकहाँ जान्छु ।’ त्यसपछि भने उनले मेरो काम गरिदिए ।केही वर्षपछि फेरि छोराको सिफारिस–पत्र लिन श्रम मन्त्रालय पुगेँ, तिनै श्रेष्ठ थिए । फेरि पनि उनले मेरो काममा आलटाल गरे । उनकै छेउमा बसेको तराईमूलका कर्मचारीले ‘उहाँको काम यति त हो नि’ भन्दै प्रिन्ट दिए । एउटा तराईमूलका मान्छेले मलाई सहयोग गरे, तर उनी त काठमाडौंका नेवार थिए, म पनि काठमाडौं कै नेवार हुँ । किन त्यस्तो व्यवहार देखाए कुन्नि !
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !