मतदानबारे माओवादीमा चर्को विवाद

रेवती सापकोटा, काठमाडौं,पुस १ ।

संविधानसभा निर्वाचनमा एमाओवादीलाई हराउन भएको मतदानबारे नेकपा-माओवादीको केन्द्रीय समितिमा चर्को विवाद भएको छ। समानुपातिकमा मतदान नगर्न र प्रत्यक्षतर्फ एमाओवादीका उम्मेदवारलाई हराउने गरी भोट दिन नेवा: राज्य समितिका इन्चार्ज दिनेश शर्मा र ताम्सालिङ राज्य समितिका इन्चार्ज सूर्य सुवेदीले सर्कुलर जारी गरेका थिए। 

केन्द्रीय सदस्य शर्मा र सुवेदीले भने पोलिटब्युरोको निर्णयअनुसार आफूहरूले सर्कुलर जारी गर्दा बनेको राजनीतिक शक्ति सन्तुलन पार्टीहितमै रहेको तर्क गरेका थिए।


एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा अनिल शर्मा, माइला लामालगायतले निर्वाचन सशक्त बहिष्कार गर्ने पोखरा बैठकको भावनाविपरीत भोट खसाल्न सर्कुलर जारी गर्नु आपत्तिजनक भन्दै प्रतिवाद गरेका थिए।

केन्द्रीय सदस्य निरू दर्लामीले भने निर्देशनअनुरूप सिन्धुलीमा कांग्रेस उम्मेदवारलाई मत माग्नुपरेको भन्दै पीडा व्यक्त गरेकी थिइन्। अनिल शर्माले कार्यकर्तालाई मतदान गर्न निर्देशन दिएको प्रमाण नै प्रस्तुत गरेका थिए।

बैठक दुई दिन लम्बिनुमा अन्नपूर्णमा मंसिर ४ गते छापिएको सर्कुलरसम्बन्धी समाचारका विषयमा भएको आरोप-प्रत्यारोप पनि जिम्मेवार रहेको ती नेताले बताए।

मतदानका पक्षमा उभिएका शर्मा, सुवेदी, केन्द्रीय सदस्य अमृता थापामगर र दिलीप प्रजापति भने काठमाडौं उपत्यकामा बहिष्कार अभियान सशक्त बनाउनुपर्ने पक्षमा उभिएका लामामाथि खनिएका थिए। बैठकमा कि निर्वाचन बहिष्कार गर्नेमाथि कारबाही गर कि त कांग्रेस र एमालेलाई भोट माग्नेमाथि कारबाही गर भनेर उठेका प्रश्नको जबाफ अध्यक्ष मोहन वैद्यले दिएनन्।

बैठकले राजनीतिक कार्यदिशा र संगठनको विषय टुंगो लगाउन असारमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ। सचिव देव गुरुङले अध्यक्ष वैद्यले पेस गरेको राजनीतिक प्रस्ताव सर्वसम्मतिबाट पारित भएको जानकारी दिए।

बैठकले सहरमा जनविद्रोह गर्न युवा दस्ता बनाउने निर्णय पनि गरेको छ। बैठकअघि उपाध्यक्ष सीपी गजुरेलले संविधानसभामा जान सकिने भनी दिएको अभिव्यक्तिलाई लिएर बैठकमा उठेका आशंका साम्य पार्दै वैद्यले बैठकमा भने, ‘बरु मर्न तयार भइन्छ, नवसंशोधनवादी, संशोधनवादी र दक्षिणपन्थी गद्दारचाहिँ भइँदैन।’

बैठकले संविधानसभा विघटन गर्नुपर्ने, सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्ने र राष्ट्रिय सहमतिमा संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव पारित गरेको छ। मंसिर २३ गते ललितपुरको कुपन्डोलमा सुरु भएको पार्टीको बैठक शनिबार सकियो। साभार: अन्नपुर्ण पोष्ट

Related

राष्ट्रिय 2084801625772187748

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item