चारपटक धाउँदा पनि सभासद भइनँ

http://sindhulidarpan.blogspot.com/2014/01/article.html
नेपाली कांग्रेसले सोमबार समानुपातिक सभासद्को अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ । निर्वाचनको केही अगाडि नेपाली कांग्रेसको सदस्यता लिएका कवि श्रवण मुकारुङ पनि समानुपातिकको बन्दसूचीमा थिए, तर उनी सभासद्मा छनोट भएनन् । समानुपातिकबाट सभासद् हुने आशा बोकेका मुकारुङ सभासद्मा छनोट नभएपछि उनलाई कस्तो लाग्यो त ? सोमबार साँझ गरिएको कुराकानीमा उनले भने :
पहिलोपटक टीका लगाएँ
यतिका वर्षसम्म मैले बाउको हातको पनि टीका लगाइनँ, तर कांग्रेस प्रवेश गर्दा सुशील दाको हातको टीका यो निधारमा थापेँ । यो मेरो विश्वासको कारण हो ।
त्यो विश्वास लोकतान्त्रिक शक्तिप्रतिको विश्वास हो । आजको समय लोकतन्त्रको हो । विश्वकै परिवेशलाई हेर्दा पनि कम्युनिज्मको विस्तारै अवसान भइरहेको छ । नेपाली माटोमा त झन् कम्युनिज्मको कुनै आधारै म देख्दिनँ । विश्व परिवेशलाई अध्ययन गर्दा र नेपाली आन्दोलनको सन्दर्भलाई पनि हेर्दा म कांग्रेसको सिद्धान्तबाट ‘कन्भिन्स’ भएको मान्छे हुँ ।
एउटा लेखक तथा कवि भएका नाताले पनि म विचार र दर्शन बुझ्न सक्छु । महान् लेखक सात्र्रले भनेका छन्, ‘सर्वोच्चताको छनोट समयले गर्छ ।’ म यो भनाइसँग पूर्ण सहमत छु । त्यसैले अहिलेको सन्दर्भमा निकै सोचेर म ‘कम्युनिस्ट ब्याकग्राउन्ड’को मान्छे नेपाली कांग्रेसको सदस्यता लिन तयार भएँ । आफूलाई भित्रैदेखि मनाउन सकेपछि मात्र मैले कांग्रेसको सदस्यता लिने निर्णय लिएँ ।
पार्टीमा प्रवेश गर्दा पनि मैले भाषणमा भनेको थिएँ, ‘नेपालका लागि सबैभन्दा राम्रो दल कांग्रेस नै हो ।’ कांग्रेसको सदस्यता लिनुको अर्को पनि कारण छ– बिपीको आदर्श तथा अहिले पार्टीका सभापति सुशील कोइरालाको अत्यन्तै राम्रो जीवन र छवि । ‘सुशील दा’ कांग्रेस सभापति नभएको भए सायद यही समयमा म कांग्रेसमा छिर्ने थिइनँ होला ।
प्रत्यक्षकै आश थियो
पार्टीमा छिरेपछि मलाई पार्टीले प्रत्यक्षमै टिकट देला र निर्वाचन लडुँला भन्ने आकांक्षा थियो । एउटा मानिस भएपछि आकांक्षा भएन भने त्यसलाई अचम्म मान्नुपर्ने हुन्छ । म त अझ कवि, कवि भएको नाताले पनि मेरो मन भावुक छ, उत्साही र केही परिवर्तन होला भन्ने सोच्छ । त्यसैले पनि म प्रत्यक्षको आकांक्षी थिएँ ।
त्यसो त मेरो मनमा प्रत्यक्षमा टिकट पाउँदिनँ कि भन्ने पनि थियो, पाइनँ पनि । कांग्रेसमा एउटा सामन्त जस्तो लाग्ने चरित्र छ । यहाँ योगदानको कुरा गरिन्छ । एउटा मानिस ४० वर्ष कांग्रेसमा भएकै कारण उसलाई पार्टीनजिक मानिन्छ । तर, उसले ४० वर्षमा देश वा जनता तथा पार्टीकै लागि पनि केही सिन्को भाँचेको हुँदैन । चारजनालाई कन्भिन्स गर्न सकेको हुँदैन । तर, उसलाई पार्टीले नजिक ठान्छ । यो पनि पार्टीमा समस्या आउनुको एक कारण हो ।
समानुपातिकको सूचीमा परेपछि...
प्रत्यक्षमा चुनावी टिकट नपाएपछि म पनि कांग्रेसले सम्मान गर्ने मानिसमा पर्छु भन्ने आश मरिसकेको थियो । तर, केही दिनमा मैले मलाई समानुपातिक सूचीमा राखिएको कुरा थाहा पाएँ । त्यो थाहा पाएपछि म अचम्ममा परेँ । त्यसपछि लाग्यो, मैले सम्मान गरेको पार्टीले मलाई पनि सम्मान गर्दो रहेछ । त्यसले मलाई नयाँ आशा, उत्साह तथा जाँगर जन्माइदिएको थियो । मेरो मनमा नयाँ खुसियाली छाएको थियो ।
तर, मैले कहिल्यै पनि म समानुपातिकमा पर्नुपर्यो भनेर कसैलाई पनि भनिनँ । न त कसैलाई भेट्नै गएको थिएँ । कसैलाई पनि नभेटेका कारण, नभनेका कारण म अचम्ममा पर्नु स्वाभाविकै हो । पछि बुझ्दा थाहा भयो, पार्टी सभापति सुशील दाले नै मलाई प्रस्ताव गर्नु भएको रहेछ । पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशील दाको प्रस्ताव समर्थन गर्नुभएको रहेछ । यसले मलाई मात्र होइन, सुशील दाको नेपाली भाषा, साहित्य तथा कलाप्रति सम्मान रहेछ भन्ने लाग्यो । हुन पनि म कविलाई समानुपातिकको लिस्टमा राख्नैपर्ने अर्को कुन कारण थियो र ?
म चुनावअघि पार्टी प्रवेश गरेको थिएँ । त्यसैले पार्टीलाई जिताउनु मेरो पनि कर्तव्य थियो । त्यसका लागि मैले कैयौँ ठाउँमा चुनावी सभालाई सम्बोधन गरेँ । कुनै ठाउँमा बौद्धिक छलफलमा सहभागी भएँ । जस्तो ठाउँमा आवश्यकता थियो, त्यही रूपमा आफूलाई पार्टीको काममा लगाएँ । मेरो मनले पनि त्यसलाई सन्तोष मानेको थियो ।
मलाई लाग्छ, मेरो कारणले पार्टीलाई धेरै फाइदा भएको छ । मेरो भाषण तथा म पार्टी प्रवेश गरेकै कारण कैयौँ मानिसले प्रत्यक्ष तथा समानुपातिकमा पार्टीलाई भोट दिएका छन् । समानुपातिकमा त लगभग चार/पाँच सिटका लागि आवश्यक ७०/८० हजार भोट मेरै कारण मानिसले कांग्रेसलाई दिएका छन् ।
मेरा साथी पनि भन्थे, ‘तैले ठीक समयमा कांग्रेसमा छिरेर कांग्रेसलाई पनि ठूलो सहयोग गरेको छस् ।’ मलाई पनि उनीहरूको कुरा ठीक लाग्थ्यो । जनजातिलाई उपेक्षा गर्ने होइन माया गर्ने पार्टी हो कांग्रेस भनेर आममानिसलाई बुझाउन म छिरेर धेरै सजिलो पक्कै भएको छ ।
समानुपातिकको सूचीमा परेपछि मैले मात्र होइन, मेरा कैयौँ साथीले पनि ढुक्क भएर भनेका थिए– तँ अब सभासद् हुने भइस्, कला क्षेत्रको विकासका लागि सक्दो योगदान दिनुपर्छ । मलाई पनि त्यही लागेको थियो । समानुपातिकको बन्द सूचीमा मेरो नाम निर्वाचन आयोगमा गएपछि नै मलाई धेरै साथीभाइले बधाई दिए । मैले मात्र होइन, साहित्य, कलाकारिता तथा अन्य क्षेत्रका मानिसले मलाई सभासद्मा पक्का ठानिसकेका थिए । मेरा पनि सपना बुन्दै गए, सपनाले मलाई नयाँ संविधान जारी गर्नुपर्ने आदेश दिन थाले ।
तर, जिल्लिएँ
सोमबार दिउँसो कांग्रेसको अन्तिम सूची सार्वजनिक भयो । मैले थाहा पाउनुभन्दा पहिल्यै मलाई फोन गरेर साथीभाइले दु:ख पोखे । म कांग्रेसका सभासद्को सूचीमा अट्न सकिनँ ।
सुरुमा सुन्नेबित्तिकै मलाई ‘सक’ भयो । एउटा जुन आशा थियो, जसरी म पर्दो हो भन्ने सोचेको थिएँ, त्यो पूरै सपना मात्र भयो । म ठूलो सरप्राइजमा परेँ । मलाई समानुपातिक सूचीमा परेपछि कसैले पनि तँलाई यत्तिकै सूचीमा राखेका हुन्, तँलाई सभासद् बनाउँदैनन् भनेका थिएनन् । सबैले पक्का भनेको कुरामा एकैपटक फेल भएको थाहा पाउँदा मानिसलाई कस्तो होला ? त्यही अवस्थामा केही समय गुज्रिएँ । मलाई साथीहरूले मेरो ‘कन्ट्रिब्युसन’बारे बारम्बार भन्थे, म त्यसलाई सोचेर आफू पक्कै पनि सफल हुने कामना गर्थें ।
त्यसो त समानुपातिक सूचीमा परेपछि सभासद् हुन पाउँm भन्ने अनुरोध लिएर म चारपटक पार्टी सभापति सुशील दाकोमा पुगेको थिएँ । मैले तीनपटकसम्म मलाई पनि सभासद् बनाइयोस् भनेर भनिनँ । तर, मेरो उपस्थितिले नै उहाँले मेरो भावना बुझ्नुपर्ने थियो । नभनूँ भने पनि सकिनँ । चौथोपटक सुशील दाकहाँ पुग्दा मैले मुख खोलेँ, ‘म लोकतन्त्रका लागि जीवनभर आफूले गर्नुपर्ने काम गर्न तयार छु । चुनावमा कांग्रेसका लागि ठूलो योगदान पनि गरेको छु । दाइले बुझ्नुहुन्छ, मलाई पनि सभासद्मा छानिदिनुहोला ।’
मैले त्यति भन्दा पनि उहाँले केही जवाफ फर्काउनुभएन । उहाँले मलाई हेर्नुभयो मात्र । सायद उहाँसँग कुनै शब्द थिएनन् । उहाँले हेरेको देखेपछि मेरो मनमा चिसो पस्न थालेको थियो । जति साथीभाइले कामना गरे पनि, जे भए पनि म पर्दिनँ कि जस्तो लागेको थियो । यदि पर्ने थिएँ भने उहाँले मलाई केही भन्नुहुन्थ्यो होला । उहाँलाई मैले त्यतिवेला पनि पार्टी प्रवेश गर्नुको कारण बताएको थिएँ । ‘तपाईंको आदर्श जीवन पनि एउटा कारण हो,’ मैले भनेको थिएँ, ‘पार्टीलाई जिताउन पनि सकेको योगदान गरेको छु, यसपल्ट मलाई पनि हेर्नुहोस् है ।’
उहाँले त्यतिवेला कुनै जवाफ नदिएपछि मनमा थोरै डर लाग्नु त स्वाभाविकै थियो । तर, सोमबार मेरो नाम समानुपातिक सूचीमा नपरेको थाहा पाएपछि मलाई झन् ठूलो ‘सक’ भयो । आई वाज सक्ड, सरप्राइज्ड एन्ड मोसनलेस ।
तर, मलाई समानुपातिक सूचीबाट सभासद् नछानिए पनि कुनै गुनासो छैन । त्यति ठूलो रिस बोकेर पनि बसेको छैन । पार्टीले जसलाई योग्य ठानेको छ, उसैलाई छानेको होला भन्ने विश्वासमा छु । चुनावमा हारजित हुन्छ । ममात्र होइन, कांग्रेसको प्रत्यक्ष र समानुपातिकमा गरेर मजस्ता सयौँले हार बेहोरेका छन् । तर, जोजो पर्नुभएको छ, म उहाँहरूलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
सुशील दाले नै जवाफ दिनुपर्छ
पार्टी प्रवेशको समयमा मेरो जीवनको अविस्मरणीय घटना भयो । आजसम्म बाउको हातको पनि टीका नथापेको यो निधारमा नेपाली कांग्रेसका सभापति सुशील दाको हातको टीका थापेँ । यो मेरो कांग्रेसप्रतिको विश्वास र सुशील दाप्रतिको सम्मान पनि हो ।
तर, म समानुपातिकको सूचीमा परेर पनि सभासद् छनोट भइनँ । हुन त पार्टीको सर्वोच्च निकायले राम्रै गरेको होला, तर मलाई म पनि पर्नुपर्ने थियो भन्ने विश्वास थियो र अझै पनि छ । जो छानिनुभयो, उहाँहरू योग्य हुनुहुन्छ होला । तर, के म अयोग्य थिएँ ?
कविहरू स्वभावैले भावुक, कोमल हुन्छन् । अनेक तिकडम उनीहरूले जानेका हुँदैनन् । म पनि जान्दिनँ । त्यसैले मलाई लाग्यो, यदि मलाई सभासद् बनाउनु थिएन भने किन समानुपातिकको सूचीमा राखियो । मेरो मनमा प्रश्न उठेको छ, ‘के म जोकर बनाइएको हुँ ?’
एउटा सपना पालेको थिएँ, जुन सपनाको पछाडि ठूलो समुदाय पनि थियो । समासद् हुने स्वार्थका लागि म कांग्रेसमा आएको पनि थिइनँ, समानुपातिक सूचीमा पार्नुस् भनेर कसैलाई भन्न पनि गएको थिइनँ । त्यसैले पनि मेरो मनमा प्रश्न उठ्नु स्वाभाविकै हो ।
हुन त समानुपातिक प्रणाली लोकतन्त्रको पछिल्लो अभ्यास हो, तर मलाई यो विधि फिटिक्कै मन परेको छैन । यसमा सामन्तवादको गन्ध छ । यसमा सुधार ल्याउनु आवश्यक छ । यदि सुधार ल्याइएको थियो भने म पनि सभासद्मा पो पर्थें कि ?
जे होस्, समानुपातिकमा अन्धाधुन्ध भएको छ भन्ने मलाई लागेको छ । त्यसैको मारमा म पनि परेको छु । सभासद्को सूचीमा परेका सबैलाई बधाई दिँदै म किन परिनँ भन्ने प्रश्न पनि राख्न चाहन्छु ।
समानुपातिक सूचीमा परेपछि प्रत्येक उम्मेदवारप्रति कांग्रेस संवेदनशील हुनुपर्छ । किन कुनकुन उम्मेदवार परेनन् भन्ने तर्कपूर्ण जवाफ पार्टीको नेतृत्वपंक्तिले दिन सक्नुपर्छ । त्यसको जवाफ मलाई पनि चाहिन्छ ।
तर, मलाई अरूले जवाफ दिएर हुँदैन । म एक कवि, अराजक पनि छु । मलाई त सुशील दाले नै जवाफ दिनुपर्छ । उहाँलाई म मेरो आदर्श, ठूलो नेता तथा राष्ट्रवादी नेता मान्छु, त्यसैले उहाँले मेरो संवेदनशीलतालाई बुझ्नुपर्छ । के म जोकर बनाइनका लागि समानुपातिकको सूचीमा अटेर सभासद्मा छानिइनँ ? सुशील दाले मलाई उत्तर दिनुपर्छ, म किन सभासद् भइनँ ?
प्रस्तुति : शिखर घिमिरे/नयाँ पत्रिका
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !