इतिहासले नलेख्ने विषय उपन्यासमा



०३६ साल । अहिले पनि बारम्बार सम्झनामा आइरहन्छ । त्यसै वर्षको आन्दोलनले नेपाली राजनीतिक इतिहासमा पहिलोपटक ०३७ सालको जनमतसंग्रहको सिर्जना भयो । त्यही समय मन दिएर राजनीतिमा लागेका थिए— झलक सुवेदी । विस्तारै राजनीतिका कोण फेरिन थाले, समय र आवश्यकता पनि । कास्कीको मकैखोला (मकैखोला उतिवेला लमजुङ जिल्लामा पथ्र्यो)मा जन्मेका झलकको चाहना र इच्छा पनि फेरिन थाल्यो । समाजका विषय एकातिर, झलकको मन, समय, पारिवारिक जिम्मेवारी अर्कोतिर । तर, उनले आफूमा धेरै परिवर्तन ल्याएनन् । ०३५ सालमा एसएलसीसम्मको अध्ययन सकेर उच्च अध्ययनका लागि पोखरा पुगेका झलकले जीवनको महत्त्व र समाज परिवर्तनको सपना त्यही क्याम्पसमा देखे, जसले अहिलेसम्म पनि उनलाई ‘स्ट्राइक’ गरिरहन्छ ।
०४६ साल । नेपाली राजनीतिको अर्को बिर्सन नसकिने वर्ष । त्यसै वर्ष झलक पनि बिर्सन सक्दैनन्, निजी कारणले पनि । झलकसँग ३६ सालबाट सुरु भएका विविध सम्झना विस्तारै धुमिलिन थाले ४६ सालमा । देशमा परिवर्तन आयो । झलकमा पनि । समयलाई उनले विस्तारै बुझ्न थाले । विस्तारै उनलाई राजनीतिको ‘रियालिटी’ थाहा हुन थाल्यो । शब्दमा तथा नारामा नयाँ जनवाद, सामाजिक साम्राज्यवाद मुर्दावादजस्ता ठूला कुरा गरिने राजनीति रहेछ भन्ने उनलाई थाहा भयो । ‘पोलिटिक्स ठूला कुरा गर्ने ठाउँ रहेछ, हो,’ झलक सम्झिन्छन्, ‘माक्र्स, लेनिन, माओ, एंगेल्स भन्यो, ठूला मान्छेकै नाम लियो, त्यो आन्दोलनमा लागेका साना मान्छेको त कुनै नाम निसानै छैन ।’ झलकले विस्तारै यी कुरा बुझ्न थाले ।

(सुवेदीको उपन्‍यास 'आधा जून'को समिक्षा यहाँ पढ्नुहोस् ।)
झलक त्यसपछि आन्दोलनमा लागे, दुवै पार्टी तथा स्वाध्ययनमा पनि । त्यसवेला पोखराको पिएन क्याम्पसमा सक्रिय राजनीति गरिरहेका झलकलाई राजनीतिक गतिविधिले नै विरक्त बनाएको थियो । ‘सहरका दु:ख तथा पार्टीका दु:ख हेर्दा मेरो आफ्नो जिन्दगीको संगति नमिलेको जस्तो लाग्यो,’ उनी भन्छन्, ‘देशको राजनीति हामीले चाहेअनुसार नचलिरहेको थाहा भएपछि मलाई राजनीतिमा रहिरहन मन लागेन ।’
तर, त्यसवेला झलकले प्रयोग गरेका ‘टर्मिनोलोजी’ र ‘मुभमेन्ट’को रफ्तारले लामो समय उनलाई साथ दिएन । सक्रिय राजनीतिमा हुँदा पिएन क्याम्पसमै जीवनसाथी भेटेका झलकले निर्णय गरे, ‘अब सक्रिय राजनीतिमा लाग्दिनँ, बरु यसलाई आफूले सकेको तरिकाले सहयोग गर्नेछु ।’
भन्छन्, एउटा विषय अन्त्यले नै अर्को विषयको सुरुवात गरिदिन्छ । सक्रिय राजनीति छोडेको निर्णय गरेपछि झलकको मनले रुसी साहित्यको प्रभावमा साहित्य लेख्ने ‘मास्टर प्लान’ बनाए । तर, त्यो सजिलै सम्भव हुने विषय भने होइन । एकातिर देशमा वामपन्थी आन्दोलन उत्कर्षमा थियो, अर्कोतिर झलकको मनमा साहित्य तथा लेखनको उत्कर्ष । त्यति नै वेला उनले सोचे, उपन्यास लेख्नुपर्छ । केही समय बजारमा आएको उनको उपन्यास ‘आधा जून’ त्यसै वेलाको अध्ययन, समय र परिस्थितिको उपज हो ।

०४८ साल । नेपाली राजनीतिक इतिहासमा अर्को महत्त्वपूर्ण वर्ष । त्यो वर्ष झलकका लागि पनि महत्त्वपूर्ण सावित भयो । अहिलेको जीवनबारे उनले ०४८ सालमै निर्णय गरेका थिए । उनी त्यसै वर्ष राजनीतिक रूपमा अलिक पर लागे । क्याम्पसमा पढ्नुअघि गम्भीर साहित्य झलकको ‘एक्सेस’मा थिएन । ०४८ सालमा पार्टी राजनीतिबाट अलग्गिएका झलकले रुसी साहित्यको अध्ययन गर्न थालेपछि विस्तारै मानिसहरूको अनुहार र मन ‘नोट’ गर्न थाले । लोकेसनलाई भित्री मनमा सम्झन थाले र मनमनै उपन्यासको रूपरेखा कोर्न लागे ।

०४८ सालमा सोचिएको उपन्यासको लेखन भने त्यति नै वेला अगाडि बढ्न सकेन । उनलाई पारिवारिक दायित्वको बोझ पनि सँगसँगै थियो । सक्रिय राजनीति छोडेपछि उनी ‘साउनमा फुकालेको हलो’जस्तो भए । अघिल्लो दिनसम्म उनको खोजी हुन्थ्यो, तर राजनीति छोडेको दिनदेखि के गर्ने, कसरी बस्ने भन्ने यावत प्रश्न उनको मनमा खेल्न थाले । ‘राजनीति छोडेपछि के गर्ने ?’ उनी सम्झिन्छन्, ‘त्यहाँभन्दा पहिले पावर एक्सरसाइज पनि हुन्थ्यो । ६ महिनासम्म त मेरो मनलाई ठेगानमा ल्याउनै समय लाग्यो ।’

राजनीति छोडेको एक वर्ष पोखरामै बसे, त्यसपछि उनी क्याम्पसमा पढाउन लागे । लाइफ वाज एन एल्युजन । ‘राजनीति छोडेपछि बिहे गरेँ,’ उनी सम्झन्छन्, ‘त्यसले थप जिम्मेवारी बोध गराइदियो ।’ झलकलाई जीवन नै अनिश्चित भएको जस्तो लाग्थ्यो त्यो समय ।
०६१ साल । नेपाली इतिहासमा अर्को महत्त्वपूर्ण वर्ष । त्यसवेला आन्दोलनमा रहेको माओवादी र अन्य दलबीच गृहकार्य भइसकेको थियो । राजनीतिक परिवेश विस्तारै फेरिन थालेको थियो । जसले दोस्रो ठूलो जनआन्दोलनलाई जन्माइदियो । त्यो वर्ष पनि झलकका लागि महत्त्वपूर्ण छ । जीवनका थुप्रो आरोह–अवरोह पार गरेपछि झलकले ०६१ सालमा भने जसरी पनि उपन्यास लेखिनुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले लेख्न सुरु गरे उपन्यास, जुन १० वर्षपछि बजारमा आयो । त्यतिवेला राजनीतिक विश्लेषण तथा गैरआख्यानमा झलकको कलम स्थापित भइसकेको थियो ।

उपन्यास लेखनका लागि झलकलाई कुनै समस्या भएन । ‘म मनमा सोचेपछि लेख्न सक्छु,’ त्यसैले बाहिर जानु पनि परेन,’ उनी सम्झन्छन्, ‘लेखनै मेरो एडिक्सन भएको छ, लेख्नका लागि अर्को कुनै विशेष व्यवस्था गर्नुपर्दैन ।’

जीवनमा अनेक मोड आउँछन्, उतार–चढावको सामना गर्नुपर्छ । त्यही जीवनको बुझाइका लागि उनी उपन्यासमार्फत बाहिर आउन चाहन्थे । तर, ०६१ मा सुरु गरेको उपन्यास सक्न झलकलाई ठयाक्कै १० वर्ष लाग्यो । त्यसमा एउटा विषय मिलाउनकै लागि झलकलाई झन्डै दुई वर्ष लाग्यो । ‘मैले आफ्नो समय लेख्ने हो,’ उनी सम्झन्छन्, ‘उपन्यासमा एउटा समय सम्झन तथा दुई विषयको तादात्म्य मिलाउन मलाई दुई वर्षभन्दा धेरै लाग्यो । कैयौँपटक मैले लेखेका दर्जनौँ पाना च्यातेर फालेँ ।’

०७१ साल । नेपाली राजनीतिमा दुवै आशा, निराशाको वर्ष बन्यो । तर, पनि यो वर्ष नेपाली राजनीतिका लागि अर्को नमेटिने वर्ष हो । पहिलोपटक संविधान बन्न नसकेपछि दोस्रोपटक संविधानसभाको चुनाव पनि यही वर्ष भयो । उता, राजनीतिक उपलब्धिसँग झलकको जीवनको अध्यायमा अर्को एक नयाँ अध्याय पनि थपियो, उनको पहिलो उपन्यास बजारमा आयो ।

गत बुधबार राजधानीको भृकुटी मन्डपमा भेटिँदा झलकको अनुहारमा उनले भोगेको त्यो राजनीतिक समय तथा लेखनको झझल्को देखिन्थ्यो । नेपाली साहित्यमा आफैँले भोगेको तथा सक्रिय रूपमा आफैँ राजनीतिमा लागेका लेखकले लेखेका थोरै आख्यानमध्ये एक हुनुपर्छ ‘आधा जून’ । ‘आफ्नो मनमा रहेका विविध विषयलाई एकै ठाउँमा पोख्न पाउँदा र त्यसलाई सोचको गगनमा उडाउन पाउँदा कम्ता रमाइलो लाग्ने रहेनछ,’ छेउमा आफ्नी राजनीतिक तथा जीवनकी सहयात्रीलाई हेर्दै झलक भन्छन्, ‘राइटिङ हयाज विन माई हयाबिट । लेखनमै म जोडिएको छु, जसले मलाई बढो सुन्दर समयको अनुभूति दिइरहेको छ ।’

आफूले बाँचेको र जिन्दगीका कैयौँ महत्त्वपूर्ण क्षणलाई अहिलेको पुस्तालाई पनि थाहा होस् भन्ने चाहना झलकको छ । त्यसैले उनले आफ्नो उपन्यासमा आफ्नै समय र आफैँले भोगेको विषयलाई लेखिदिएका छन् । ‘मेरो उपन्यासका पात्र साँचो पनि हुन्, रियल पनि छन्,’ उनी सम्झन्छन्, ‘मैले मेरो समयलाई बुझ्न जति सकेको छु, त्यति अरू समय नसकुँला, त्यसैले मेरो उपन्यासमा मैले नै भोगेको समय आएको छ । मेरा समयका क्यारेक्टरको हाउभाउ आएको छ ।’

झलक आफूले पात्र तथा तत्कालीन समयलाई उपन्यासमा न्याय गरेको दाबी गर्छन् । उनीसँग दाबी गर्न थुप्रै प्रमाण छन् । पहिलो प्रमाण त किताब आफैँ सहरमा उपलब्ध छ । ‘फयाक्टमाथि उभिएर फिक्सनलाइज गरेको छु पुस्तकमा,’ झलक भन्छन्, ‘राजनीतिमा त्यस्तो हुनै सक्दैन, राजनीति इज अ फयाक्ट, इट्स इट ।’

तर, अहिले पाठक बारम्बार झुक्किएको विषय उनलाई सम्झाउँछन् । पोखरावरपरका पाठक त अझ झलकको उपन्यासमा भएका पात्र को हुन् भनेर खोज्दा रहेछन् । ‘केही–केहीले मलाई संस्मरण लेखे पनि हुन्थ्यो पनि भने,’ उनी फेरि विगत र वर्तमानमा अल्मलिन्छन्, ‘समाजसँग गरिएको संवादमा वादविवाद हुनसक्छ, जे कुरा इतिहासमा लेख्न सकिन्छ, त्यही कुरामा मात्र आफूलाई व्यक्त गर्न सक्दिनँ, त्यसैले फिक्सन मेरो रोजाइ बन्यो ।’

उनी राजनीतिक विश्लेषण र फिक्सन राइटिङमा आफूले पाएको भिन्नता नै अत्यन्तै आनन्ददायी रहेको बताउँछन् । ‘इतिहासमा ‘कमन पिपुल’का कुरा लेख्न सकिँदैन,’ उनी भन्छन्, ‘राजनीतिमा पनि केही समयसम्म सामान्य मानिसका कुरा गरिएला, तर नेपाली राजनीतिक इतिहासमा सधैँ सामान्य मानिसका विषयमा कुरा गरेको देखिएको छैन । यही राजनीति तथा इतिहासले गर्न नसक्ने काम मैले फिक्सनमा गर्न सक्छु भनेर आख्यान रोजेँ ।’

राजनीतिमा पनि एउटा दायरा हुन्छ । सिद्धान्त हुन्छ, पार्टीका विभिन्न आधार हुन्छन् । त्यसले झलकलाई पनि रौसाउन सकेन । ‘जे विषय राजनीतिमा, इतिहासमा तथा अन्य कुनै पनि पक्षमा व्यक्त गर्न सकिन्न, त्यो फिक्सन गर्न पाउँदा म खुसी भएको छु,’ झलक आफ्नो सेतै फुलेको कपाल हल्का मिलाउँछन्, मुसुक्क हाँस्छन् र भन्छन्, ‘आधा जूनमा इतिहासका खास समय–सन्दर्भका पात्रलाई आफूअनुकूल निर्माण गरेको छु, राजनीतिमा लाग्दा मैले भोगेको मुभमेन्टलाई नै उपन्यासको ‘फन्डामेन्टल’ पक्ष बनाएको छु ।’

-  शिखर घिमिरे/ नयाँ पत्रिका

Related

लेख तथा विचार 7006535175128274087

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item