एमाओवादीले लिनुपर्ने बाटो : गंगा श्रेष्ठ

http://sindhulidarpan.blogspot.com/2014/01/article_22.html
सबै राजनीतिक पार्टीका मुख्य नेताका अक्षमताले गर्दा पहिलो ऐतिहासिक संविधान सभा विघटन भयो। दोस्रो संविधान सभाबाट पनि समय–सीमाभित्रै संविधान बन्ने संकेत देखिएको छैन।

जनता नयाँ विकल्पको खोजीमा छ। ठूला पार्टीका ठूला नेताहरुले आफूलाई निर्विकल्प सोचेका छन् भने त्यो उनीहरुको ठूलो भूल हुनेछ। यतिखेर जनयुद्धबाट आएको पार्टी र त्यसका नेताहरुले सबभन्दा बढी गम्भीर भएर सोच्न र निर्ममतासाथ आत्मसमीक्षा गर्न जरुरी छ। मुख्य नेतृत्वले मुख्य र अरुले पनि सोपान क्रममा आफ्नो भागमा परेको जिम्मेवारी स्वीकार गर्दै रुपान्तरणमा जाने साहस गर्नैपर्छ। निर्वाचन परिणामलाई व्यक्तिको नियतसँग मात्र जोडेर होइन, समग्र हाम्रो संगठनात्मक ढाँचा, विधि, पद्धति र नेतृत्व प्रणालीमा रहेको कमी/कमजोरीसँग हेर्नुपर्छ।
कम्युनिष्टले विचारमा जति विकास गरेको छ, त्यस विचारलाई लागु गर्ने साधन, संगठनमा खासै विकास गर्न सकेको छैन। कम्युनिष्ट पार्टी बारम्बार टुटफुट र आन्दोलन छिन्नभिन्न भइरहने साथै कम्युनिष्टप्रति विकर्षण बढ्दै जानुको एउटा मुख्य कारण संगठनमा विकास गर्न नसकेर नै हो। राज्यसत्तामा सर्वहारा अधिनायकत्व र पार्टीसत्तामा जनवादी केन्द्रीयता हुन्छ। पार्टीभित्रको केन्द्रीयता भनेको अधिनायकत्व होइन, स्वेच्छिक हुन्छ। किनकि पार्टी भनेको वैचारिक सत्ता हो तर विडम्बना, मालेमावादका प्रयोगकर्ताहरुले सर्वहारा अधिनायकत्व र जनवादी केन्द्रीयतालाई गाजेमाजे पारेर प्रयोग गर्ने गरेका छन्। मूलतः स्तालिनबाट सुरुवात् भएको यस कमजोरीलाई विश्वभर र नेपालमा पनि कम्युनिष्टहरुले 'मोडेल' को रूपमा प्रयोग गर्दै आइरहेका छन् जसको कारण पार्टीभित्र गुट–उपगुट, टुटफुट र राज्यसत्तामा प्रतिक्रान्ति हुने गरेको छ।
कम्युनिष्ट पार्टीभित्र पदलाई केवल कार्यविभाजन मात्रै मानिन्छ। त्यही कार्यविभाजनलाई विधिसम्मत र वैज्ञानिक बनाउन नसक्दा नेतृत्व निरंकुश बन्ने र अन्ततः बाहिर–भित्र सबैतिर प्रतिक्रान्ति हुने गरेको छ। एउटै व्यक्ति जीवनभर मुख्य पदमा बसिरहने, एक व्यक्ति एक पदको सट्टा एउटै व्यक्ति धेरै पदमा बस्नैपर्ने, अयोग्य प्रमाणित भइसक्दा पनि प्रत्याह्वान गर्न नपाइने। यस्तो तरिकाले कसरी तयार हुन्छ नयाँ नेतृत्व? अनि किन जन्मँदैन एउटा व्यक्तिमा बादशाह प्रवृत्ति? तसर्थ अब स्पष्टरूपमा विधि बन्नुपर्छ। मुख्य नेतृत्वको कार्यकाल दुई पटक र अन्य नेतृत्वको बढीमा तीन पटकका लागि हुनुपर्छ। साथै 'एक्काइसौं शताब्दीमा जनवादको विकास' प्रस्तावमा उल्ललेख गरिएझै '...सक्षम नेतृत्व र स्थापित नेताहरुदेखि कार्यकर्ताहरुसम्मको एउटा हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिंगो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्ने...' हुनुपर्छ। यसको अलावा ६५ वर्षको उमेर हद पनि तोकिनुपर्छ।
नयाँ नेतृत्व निर्माणका लागि पार्टीभित्रको कार्यविभाजनमा पनि ठोस विधि बनाइनुपर्छ। पार्टीभित्र वैचारिक र सांगठनिक गरी नेतृत्वको कार्यविभाजन शृङ्खला मिलाउनुपर्छ। पुरानो पुस्ताले वैचारिक र नयाँ पुस्ताले सांगठनिक नेतृत्व लिने विधि बनाउनुपर्छ। अन्यथा, नेतृत्व निर्माणको शृङ्खला टुट्न जान्छ र प्रतिक्रान्ति हुन्छ। आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षको रापिलो भट्टीबाट खारिएर मात्रै एउटा नेताको जन्म हुन्छ। नेता बन्नका लागि योग्यताका निश्चित मापदण्ड तोक्ने र त्यसअनुसार विभिन्न कमिटीका नेताहरु निर्वाचित गरिनुपर्छ। नेताको जयगान गाएर विजय हुने प्रवृत्ति पूर्णरूपमा निषेध गरिनुपर्दछ। आवश्यक्ता र विशिष्टताको नाममा आज्ञाकारी अनुचरहरुलाई टुप्पीबाट तानेर नेता बनाउने प्रवृत्ति सबै राजनीतिक पार्टीहरुको महारोग नै बनिसकेको छ। यस्तो टीकेप्रथाले पार्टीभित्र नेताको दलाली गर्ने दासहरु जन्माउँछ भने प्रतिस्पर्धाले आलोचनात्मक चेत भएका सक्षम र सिर्जनशील नेता/कार्यकर्ता जन्माउँछ। गुट भनेको स्वार्थ समूह हो, पार्टी होइन। गुटले कहिल्यै पार्टी बन्न दिँदैन। पार्टी बनाउने हो भने यति कुरा मुख्य नेतादेखि सबै नेताले हेक्का राख्नैपर्छ।
आवश्यक्ता र विशिष्टता कुनै विधि/पद्धति होइन, अपवाद हो। अपवादलाई आम विधि बनाउने प्रवृत्ति निरंकुशता हो। युद्ध आफँैमा ऐतिहासिक आवश्यक्ता र विशिष्ट घटना भएका कारण युद्धकालमा नेतृत्वलाई सापेक्षिकरूपमा शान्तिकालको भन्दा बढी आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाउने छुट दिनैपर्ने हुन्थ्यो। दिइएको पनि हो तर शान्तिकालमा आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाउनेबित्तिकै पार्टीभित्र अनिवार्यरूपमा गुट/उपगुट जन्मन्छ। नेतृत्वको नियत जतिसुकै पवित्र भए पनि त्यसले पैदा गर्ने अनिवार्य परिणाम भनेको पार्टीको टुटफुट नै हो। सबैले बुझ्ने र हेर्ने भनेको परिणाम हो, नियत होइन। आवश्यक्ता र विशिष्टताको नाममा पार्टी चलाइरहेका नेताहरुलाई थाहा हुनुपर्छ कि आवश्यक्ताको शृङ्खला अनन्त हुन्छ, त्यसले स्वतन्त्रताको यात्रा अवरोध गर्छ।
भद्दा (दर्जनौं तह र ठूलठूला कमिटीहरु) संगठनात्मक ढाँचाले जनवादको अभ्यासलाई केवल औपचारिकतामा मात्रै सीमित बनाउँछ। जनवाद भनेको पार्टीको जीवन हो। जब पार्टीभित्र जनवाद औपचारिक बन्छ तब पार्टी विघटन हुनबाट कसैले पनि बचाउन सक्दैन। अब, केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी सदस्य संख्या, जनसंख्या, भूगोल साथै समावेशी प्रतिनिधित्वलाई समेत ख्याल गर्दै साना चुस्त कमिटीहरु बनाउनुपर्छ। केन्द्रीय कमिटीको निर्णय शीघ्रातिशीघ्र र सकेसम्म सोझै स्थानीय (गाउँ) कमिटीसम्म पुर्याउन बढीमा तीन तहसम्मको संरचनात्मक ढाँचा निर्माण गरिनुपर्छ। कमिटीभित्र पनि धेरै तह आवश्यक हँुदैन। यसो गर्न सकेमात्रै सामूहिक नेतृत्वको अभ्यास र कमिटी प्रणाली व्यवस्थित गर्न सम्भव छ। अन्यथा आफूलाई सर्वज्ञाता र अरुलाई बुख्याचा ठान्ने प्रवृत्ति हावी भइरहनेछ।
पार्टी र सरकार अर्थात् सार्वजनिक लाभको पदमा मूलतः श्रीमान्–श्रीमती वा एकाघरका सदस्य एउटै कमिटी र समान हैसियतको पदमा एकै समयमा बस्न पाइने कि नपाइने? आज खासगरी एमाओवादीभित्र भुसको जस्तै भित्रभित्रै असन्तुष्टिको आगो सल्किरहेको छ। यसलाई नीति र विधिको विषय नबनाएर नैतिकताको प्रश्न बनाउनुपर्छ भन्ने तर्क पनि छ। तर अब यसलाई नैतिकताको प्रश्न बनाएर समस्या समाधान हुँदैन। जनयुद्धबाट आएको पार्टी हुनाको नाताले ए माओवादीभित्र श्रीमान्–श्रीमतीमात्रै होइन, परिवारका सबै सदस्य न्ााफाको जिन्दगीसहित अहिले पनि राजनीतिमा सक्रिय छन्। निश्चित नीति, विधि नबन्दा यस विषयले पार्टी मात्रै होइन, व्यक्तिगत नाता सम्बन्ध पनि विघटनतिर लैजाँदै छ। अधिकारको हिसाबले समान भए पनि पार्टीभित्र अरु नेता/कार्यकर्ता र बाहिर जनतामा पर्न जाने नकारात्मक प्रभावलाई ख्याल राख्दै अनि त्याग, बलिदानको सर्वहारा संस्कृतिलाई अझ समृद्ध गर्न सरकार वा सार्वजनिक लाभको पदमा एकै समयमा मूलतः श्रीमान्–श्रीमती वा एकाघरका सदस्य नबस्ने तर पार्टीभित्र एउटै कमिटी र एकै समयमा बस्न सक्ने विधि बनाउन आवश्यक छ।
'गुमे हत्कडी, जिते संसार' भन्दै 'मुक्ति र मृत्यु' को सपथ खाएर युद्धमा कीर्तिमान कायम गरेका हामी माओवादी एक दशक पनि नबित्दै धर्मगुरु जस्ता भएका छौं। उपभोक्तावादी संस्कृतिको चर्को विरोध गर्दागर्दै चुर्लुम्म उपभोक्तावादमा डुबेका छौं। 'संसार बदल्नु छ भने सबैभन्दा पहिला आफूलाई बदल्नुपर्छ' भन्ने अन्तिम सत्यलाई केवल गायत्री मन्त्र जस्तै बनाएका छौं। कम्युनिष्टहरु 'भोलेन्टिएर' आदर्शबाट भाडाको संस्कृतिमा रूपान्तरित हुँदैछन्। अब सबभन्दा पहिले मुख्य नेतृत्वबाट अपारदर्शी आर्थिक स्रोतहरु बन्द गर्दै आर्थिकरूपमा आत्मानिर्भर बनाउने उत्पादनको ठोस कार्ययोजना बनाएर जान सकिएन भने रूपान्तरणको योजना हावामा गोली हाने बराबर हुनेछ। अपारदर्शी आर्थिक स्रोतमा बाँचेर स्वाभिमानको राजनीति गर्न सकिँदैन। आत्मनिर्भरताले मात्रै कम्युनिष्ट आदर्श कायम गर्न सम्भव छ।
अन्त्यमा, दस्तावेजको प्रतिबद्धता र बैठकको निर्णयले मात्र पार्टी रुपान्तरण हुनेवाला छैन। तुरुन्त जीवनशैलीमा परिवर्तन ल्याउने रूपान्तरणका ठोस कदम उठाउन जरुरी छ। नत्र हामीलाई अब 'भगवान' ले पनि बचाउन सक्ने छैन। - श्रेष्ठ एमाओवादी नेता हुनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !