सिन्धुलीमा अनौठो कोब्रा, चन्दा उठाएर सर्पदंशको उपचार

सिन्धुली,असार ९ ।

वर्षा र अत्यधिक गर्मी बढेसँगै जिल्लाको कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको बिगबिगी सुरु भएको छ। त्यस क्षेत्रमा सामान्यदेखि विश्वमा दुर्लभ ब्ल्याक कोब्रासम्मका सर्प अत्यधिक भेटिएका छन्।

बर्सेनि सर्पको डसाइबाट आक्रान्त कमलाखोंचबासी नयाँ जातिका सर्प देखिन थालेपछि थप त्रसित भएका छन्। यसअघि कहिल्यै देखा नपरेका सर्प देखिन थालेको र शनिबारमात्र त्यस्ता सर्पले स्थानीय दुईजनालाई डसेको सर्पदंश उपचार केन्द्र दुधौलीले जनाएको छ।
'शनिबार मात्रै दुईजनालाई विषाक्त कोब्राले डसेको छ', सर्पदंश उपचार केन्द्रका सर्पदंशविद् विष्णुबहादुर भेटवालले भने, 'अहिले अनौठा सर्प देखिन थालेपछि स्थानीय त्रसित छन्।' कमलाखोंच क्षेत्रमा यसअघि सामान्य सर्पका साथै करेत, हरेउ र गोमन सर्पमात्र देखिने गरेकोमा हिजोआज कोरल, मुर्गा, पानीराज, कोब्रा र ब्ल्याक कोब्रा जातका सर्प देखिन थालेको भेटवालले बताए।

यस क्षेत्रमा गत ६ महिनामा तीन गाविसका सातजनालाई विषाक्त सर्पले डसेको छ। 'विषाक्त सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित छन्। कमलाखोंच क्षेत्रका रानीबास, निपाने, हर्षाही, सिर्थौली, लदाभिर, टाँडी, दुधौलीलगायत एक दर्जन गाविसमा यस्ता सर्प देखिएका हुन्', भेटवालले भने।

भेटवालले यसअघि कहिल्यै यस्तो सर्प नदेखिएको बताए। उनले भने, 'विश्वमा पाइने १० प्रकारका कोब्राभन्दा पनि धेरै फरक प्रकृतिको 'भी' र 'त्रिशूल' छापका ब्ल्याक कोब्रा पाइएको छ।' यस्ता सर्पले डसेमा तत्कालै उपचार नपाए बाँच्ने सम्भावना दुई प्रतिशतमात्र हुने पनि उनले बताए।

कमलाखोंचका साथै जिनाखु, लाम्पानटार, जरायोटारलगायत गाविसमा सेतो ओठ र रातो पुच्छर भएको हरेउको बिगबिगी छ। यस क्षेत्रमा पनि विभिन्न प्रकारका सर्प देखापरेको स्थानीयले बताए।

अहिले घर, करेसा, खेतबारी जताततै यस्ता सर्पको बिगबिगी हुँदा बालबालिका र वृद्ध त्रसित भएको स्थानीय शिक्षक वासु कोइराला बताउँछन्। कमलाखोंच क्षेत्रमा विषाक्त सर्पको डसाइबाट बर्सेनि आधा दर्जनभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। गत वर्षमात्र चारजनाले ज्यान गुमाएका थिए। शिक्षक कोइरालाले भने, 'यस वर्ष नयाँ प्रजातिका सर्प देखिएपछि दिउँसो खेतबारीमा काम गर्न र राति सुत्नसमेत त्रास बढेको छ।'

चन्दा उठाएर सर्पदंश उपचार

स्थानीय स्तरमा विषाक्त सर्पको बिगबिगी भएपछि स्थानीयले चन्दा उठाएर सर्पदंशको उपचार व्यवस्था मिलाउन थालेका छन्। सडक र कमला नदीमा पुलको अभाव हुँदा तत्कालै उपचारका लागि अन्यत्र लैजान समस्या भएपछि स्थानीयले घरलौरी रकम संकलन गर्नुका साथै विभिन्न निकायसँग रकम संकलन गरी स्थानीय निकायमा नै सर्पदंशको उपचार थालेका हुन्।

दुधौली, टाँडी र लदाभिर गाविसले संयुक्त रूपमा सर्पदंश उपचार व्यवस्थापन समिति गठन गरी उक्त समितिमार्फत उपचारको व्यवस्था मिलाउने गरेका छन्। उनीहरूले मासिक ६५ हजार तलब खुवाएर सर्पदंशविद्लाई दुधौली स्वास्थ्य केन्द्रमा राखेका छन्। तीनवटै गाविसबाट प्रत्येक घरधुरीबराबर एक सय ५० रुपैयाँका दरले रकम संकलन गरिएको र जिल्ला विकास समितिबाट दुई लाख, दुधौली गाविसबाट ५० हजार, डाडी र लदाभिरबाट २०/२० हजार रुपैयाँ सहयोग लिएको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर थापाले बताए।

यस क्षेत्रमा बिच्छीको पनि आतंक छ। कमलाखोंच क्षेत्रमा सर्प र बिच्छीको बिगबिगी भएपछि उपचार केन्द्र स्थापना गरिएको भए पनि सर्पले डसेपछि प्रयोग गरिने औषधिको अभाव भएको समितिको गुनासो छ।
साभार: अन्नपुर्ण पोस्ट्

Related

प्रमूखखबरहरु 1157910270231609546

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item