'सरी ल'


निर्मल न्यौपाने 

गाला चाउरीदेखि तोरी लाउरेसम्म र सुकिदाउदेखि बुढीमाउसम्म सबैको जिब्रोमा खेलिरहेको छ- सरी ल । हरि जप्ने वेलामा समेत सरी जप्न थालेका मेरा ससुरा बा देखेर त म ट्वा परिसकेको छु । सबै दारी छुदासमेत अर्काकी बुहारी नभन्ने बाजेले समेत मनपरी गरेर सरी जप्दा घरी-घरी त जङ चलेर आउँछ हैन यो कलीयुगमा हरिको पनि बडाहरि कतै त्यही सरी त हैन !

आधुनिकता पनि आजको सभ्यताको नयाँ परिचय हो । त्यसैमाथि उपरआधुनिकता देशमा जन्मिएको चतुरकान्त म । अनामनगरका गल्लीमा चतुर्कान्त नामको लतुरकान्त देखेपछि शायद नभुक्ने कुकुर पनि छैनन् । नेपाल सरकारको अतिआधुनिकता आर्थिक नीतिकै कारणले होला बाटाभरिका खाडलहरूलाई पोखरीमा विस्तार गरेर वर्षायाममा भ्यागुता पाल्ने र सुख्खायाममा लामखुट्टे गणको स्थापना गरी रात्रिकालीन शान्तिसुरक्षा कायम गर्ने बडो गजबको उपाय देखेर अब नेपाल पनि स्विट्जरल्यान्ड भएको कल्पना गर्दै थिएँ । एउटी सुइखुटी मैयाँले फूँई दिँदै स्कुटरलाई पिचरोडको तलाउमा पसालिन, उनको दुईपांग्रे जहाज तैरिँदै थियो । कालो दहीजस्तो बाक्लो पानी मेरो टाउकोमा पर्यो । अलिकति पर पुगेर गाडी रोकिन् र भनिन् सरी ल । उनी ङिच्च हाँसेर बाटो तताइन् । के गर्नु- जातैले भाले परियो, पोथीले सबै बित्यास पारे पनि ङिच्च हाँसेपछि माफी ।

घरमा आउँदा बूढीले डाडु-पन्यू लिएर झम्टी । मैले सबै बेलिविस्तार लाउन नपाउँदै टेलिभिजनमा समाचार आयो-हाम्रा बडानेताले कार्यकर्तासँग सरी भनेछन् । मैले पनि कालो डण्डीफोरेअनुहार खुम्च्याउँदै भने सरी ल । अनि नयाँ कपडा फेरेर दसतिर डुले, राति दसबजेसम्म पन्ध्रतिर भुँले र पेटमा आन्द्रा-आन्द्री गर्जिन थालेपछि कोठामा सवार हुँदा सालो गवार मुन्टिसकेको रैछ । कतिछिटो घुरेको ! कोठामा आउन नपाउँदै बूढीले भनी तपाईंलाई पकाएको खाना हामी दुइभाइले खाइसक्यौँ । सरी ल । रिसले हो या या भोकले म डल्लिएको थाहै भएन ।

एक दिन म चढेको ट्याम्पो त्रिपुरेश्वरमा ट्राफिकेश्वरको प्रार्थना गर्दै बरदान कुरेर बसेको थियो । ट्याम्पोभन्दा सानो ट्याम्पोमा खुट्टासम्म राख्ने ठाउँ थिएन । त्यहीवेला एकजना गैंडाराज छेउमै आएर थेचिए । मेरो सास रोकिएलाजस्तो भयो । मलाई धकेलेर पापड बनायो र अन्त्यमा डोको जस्तो मुख बोको जस्तो स्वरमा भन्यो सरी ल । काठमाडौंमा स्यालले त बाघको छाला ओढेर मृगलाई लतार्दछ भन्दछन्, नत्र त टाउकै फुटाइदिउँ जस्तो भएको थियो मलाई त । गार्हो हुन्छ भन्ने थाहा भएपछि अर्को गाडीमा आए के बिग्रिन्थ्यो र ?  यस्तै सोच्दै थिए, एकजना महारानीले ओर्लन लाग्दा सियो जस्तो तीखो चप्पलले कुल्चिबक्सियो । अनुहार हेर्दा बडो भलाद्मी तर के गर्नु पाँच मिनेटसम्म रन्थनाउने बनाएर अन्त्यमा उही चिरपरिचित शब्द सरी ल ।

'सरी' लाई नपाए भने यो आधुनिक मानवसभ्यताको असभ्य मान्छे भइने, स्वीकारुँ भने मनपरी गरेर सरी भनेको आफूलाई चित्त नबुझ्ने । विद्यालयमा बडो मास्टर बनेर लेक्चर दियो, विद्यार्थीको हातमा आलु र पिँडालु शिवाय केही हात लाग्ने हैन । परीक्षामा सधैं पुल्टुङ्बाजी ! थुक्क पाजी !  होमवर्क त बुझाओ भन्यो, दिनदिनै भन्छन्- 'आज गर्न बिर्सेछु सर, सरी ल !' अनी प्रअका जुत्तामुनी टाउको पुर्याएर भन्नुपर्छ आफूले- सरी ल ! 'सरी'  लाई मनभरि सजाउँदै एकमहिना गुजार्यो, तलब माग्दा तीनमहिना दौडाएपछि आधा रकम हातमा थमाउँदै सुन्नुपर्छ- 'यसपाली फि खासै उठेन ।' ढिलो भयो सर- 'सरी ल !' यता घरमा आउँदा घरबेटीले पत्र पठाइसक्छ- तीनमहिना भइसक्यो घरभाडा नपाएको, कृपया दुइदिनभित्र कोठा खाली गरिदिनुहोला, तपाईंलाई दुःख भएमा सरी ल !

एकपटक मेरो एकजना साथीका काका बिरामी परेर काठमाडौं ल्याएछन् । अनि भएको पैसा जति सबै सिद्धिएछ । अनि उसले मसँग बिन्ती बिसायो, बिचराको आँखाबाट आँसु झर्यो । मैले मन थाम्न सकिन र भएजति पैसा सबै उसैलाई दिए । अझ अरुसँग सापट मागेर पनि थपिदिए । उनको उपचार भयो । पैसा चाहिँ आज आउला छैन, भोलि आउला छैन । तीनमहिना बित्यो पैसा फिर्ता आएन । यता मेरा साथीहरूले हैरान बनाइसके, अनी केही उपाए नचलेर बूढीको सिक्री बेचेर ऋण तिरे । त्यसको एकवर्षपछि सुनको मूल्य ठयाक्कै दोब्बर भो । एकदिन बल्ल त्यो साथी आयो । हातमा बिनाव्याज आधा रकम थमाउँदै मेरो सहयोगको प्रशंसा गरेर अन्त्यमा भन्यो- 'हामी समस्यामा पर्यौँ, सरी ल !' रातभरि निन्द्रा लागेन 'हे भगवान् बूढीको सिक्री ! ' बिहानै छोराले स्कुलबाट आएको चिट्ठी देखायो जसमा लेखिएको थियो । 'हामीले तीनमहिना पर्खिंयौँ, अब सक्दैनौँ 'सरी' भन्न चाहान्छौँ ।'

एकदिन रामकाजी साहूको पसलमा डाँकाहरू छिरेको उनी स्वयंले देखेछन् । अनी प्रहरीलाई खबर गरे, प्रतिउत्तरमा भनियो- 'सरी ल' हाम्रो गाडी एकहप्तादेखि बिग्रिरहेको छ । अनि उनले मलाई तुरुन्त खबर गरे, हामी दुइ मिलेर डाँकाहरूलाई प्रहरीको जिम्मा लगायौँ । चौकीमा के पुगेका थियौँ, डाँकाहरूले कान समातेर भने- सरी हामी फेरि यस्तो गल्ती गर्दैनौँ । इन्स्पेक्टरले भने- 'ठीकै छ, एकपटकलाई माफी पायौँ ।' जेठ १४ गते नेताहरूले संविधानको 'स' लाई नदेखाइकन सजिलै भने- 'सरी ल !' एकवर्ष अझै भत्ता खुवाउनुहोस् संविधान बन्छ । एकदिन मेरो मोबाइल उठाउने प्रयत्न विफल हुनासाथ नेपाल यातायातमा झ्याउकीरी मुइँयाले मस्किदैँ भनिन्- 'दाई सरी ल ! मेरो हात पसिनाले चिप्लिराछ ।' राम ! राम ! मुसलधारे झरीमा पानीको थोपा थन्न भन्दा दिनभरिमा सरीको लोप्पा गन्न गाह्रो ! के 'सरी' जादुको छडी हो, जत्रोसुकै कसुर पनि मिनाह गर्नलाई ?

जे होस्, हामीलाई पूर्वीय एवं पश्चिमी दुवै सभ्यताले सरी भन्न सिकाएको छ । यो 'सरी' शब्द आफैमा मन्त्र हो । दिनको दसहजार पटक मन्त्रपाठ गर्यो भने मरेपछि स्वर्गमा इन्द्रले बागमतीको शुद्ध जलले आत्म चोख्याइदिन्छन् र अप्सरासँग लभ पर्छ रे ! त्यसैले भनौँ- 'सरी' देवो भव ! 'मनपरी' देवो भव !!
मातृ पितृ उपर 'सरी ल ! 'उच्चारयत् !!
n.nyahoo@gmail.com
 

Related

विचाररसाहित्य 4958060540784969191

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item