माओवादीलाई कांग्रसले प्रजातन्त्र मात्र बुझाउन बांकी छ : सभापति कोइराला
http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_25.html
सिपि पौडेल/(टेक्सस)अमेरिका/असार ११
उपचारका क्रममा अमेरिका आएका कांग्रेस सभापति सुशील कोइरालाको न्युयोर्कको बसाइ सकिएको छ । अमेरिकामा कांगेस कार्यकर्ताबीचको झगडाका कारण कोइराला रोए । यहीं र अन्य राजनीतिक विषयमा कांग्रेस सभापति कोइरालालाई किशोर पन्थीले न्युयोर्कमा सोधेका छन् दश प्रश्न । प्रस्तुत छ, कांग्रेस सभापति कोइरालासंगको एक्सक्लुसिभ अन्तरवार्ता ।
१ – कोइरालाज्यु सन्चै हुनुहुन्छ ?
ठीकै छु । भर्खर अस्पतालबाट आउदै छु । म जिब्रोको उपचारका लागि हरेक वर्ष अमेरिका आउने गरेको छु । उपचार सकियो । वासिंटन डिसी र मेरिल्याण्ड लगायतका ठाउमा हुने कार्यक्रममा सहभागी भएपछि म लण्डन जानेछु । लण्डनमा एकदिनमात्र बसेर नेपाल फर्कने कार्यक्रम छ ।
२ – अमेरिकामा नै कांग्रेसबीच भएको फुटका कारण तपाई रुनुभएछ नि ?
कहां छ अमेरिकामा कांग्रेसबीच फुट ? मैले अमेरिकामा कांग्रेसबीच फुट देखेको छैन । सबै ठीकठाक नै छ । भएका सानातिना असमझदारी अन्त्यका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ । अमेरिकामा कांग्रसबीच कतै फुट छैन ।
३ – तपाई फुट छैन भन्नुहुन्छ । तर न्युयोर्कमा नै कांग्रेसका दुईवटा जनसम्पर्कसमिति छन् । दुईवटा जनसम्पर्कसमितिबीचको विवादका कारण उत्तर अमेरिकी प्रतिनिधी मृदुला कोइरालाको अगुवाइमा कार्यक्रम गर्नुपरेको थियो नि त ?
न्युयोर्कबाहेक अरु राज्यमा पनि दुईदुईवटा जनसम्पर्क समिति छ र ? अरु राज्यमा त छैन नि त । न्युयोर्कमा अहिले दुईवटा जनसम्पर्कसमिति भएपनि अधिवेशनपछि सबै कुराको टुंगो लाग्नेछ । त्यसैले यो ठूलो समस्या होइन । त्यसमा पनि बिहिबार न्युयोर्कमा भएको अन्तरकृया कार्यक्रम सबै मिलेर एकदम राम्रोसंग गरिएको हो । कार्यक्रम एकदम सफल भएको हो । सबै मिलेर अगाडि बढ्नुपर्छ । कांग्रेसलाई एकजुट भएर अगाडि बढाउनुपर्छ । यहांको मतमतान्तर खासै ठूलो मतलबको विषय होइन । महाधिवेशन पनि ठीक भइहाल्छ । यो कुनै समाचारको विषय पनि होइन । बरु समाचार हुने विषयमा कुरा गरौं न त ।
४ – तपाई अमेरिका आउनुभन्दा अगाडि नेपालमा सहमतिका लागि आग्रह गर्नुभएको थियो ? तर अहिलेसम्म पनि उस्तै छ नि त हाल ?
यो सबै माओवादीका कारण भएको हो । माओवादीले सहमति गर्छ तर त्यो सहमति कहिले पनि पालना गदैन । विगतमा गरेका सहमति पनि माओवादीले पालना गरेको छैन । जग्गाजमिन फिर्ता गर्ने काम अहिलेसम्म पुरा गरेको छैन । वाइसिएलको गतिविधि जस्ताको तस्तै छ । त्यसैले मुख्य दोषी माओवादी नै हो ।
५ – तपाई नेपाल फर्कदासम्म सहमति होला त ?
सहमतिका लागि कोसिस भइरहेको छ । तर सबै कुरा माओवादीमा गएर नै अड्किएको छ । माओवादीले आफूलाई सबैभन्दा ठूलो ठानेर सहमति पालना पनि गर्दैन । तर पनि छिटो सहमतिका लागि पहल भइरहेको छ ।
६ – तपाई माओवादीका कारणले सहमति भएन भन्नुहुन्छ, उनीहरु कांग्रेसका कारणले भएन भन्छन्, तपाईहरु पनि अलिकति लचक भइदिए हुन्थ्यो कि ?
अब पनि हामी कति लचक हुने ? कांग्रेस यति लचक भइसकेको छ कि माओवादीलाई सबै कुरा बुझाइसकेको छ । अब त कांग्रेसले माओवादीलाई प्रजातन्त्रमात्र बुझाउन बांकी छ । माओवादीकै अटेरीका कारण सहमति हुन नसकेको हो । माओवादीकै कारण समयमा संविधान बन्न नसकेको हो ।
७ – के अब यो बुझाउन बांकी रहेको प्रजातन्त्र पनि माओवादीलाई बुझाउने विचारमा हुनुहुन्छ कि ?
कांग्रेसले प्रजातन्त्र बुझाउला भनेर माओवादीले नसोंचेपनि हुन्छ । कांग्रेस प्रजातन्त्रको रक्षाका लागि कटिबद्ध पार्टी हो । यदि माओवादीले प्रजातन्त्रलाई स्वीकार नगरेर कम्युनिष्ट तानाशाह लागु गर्ने प्रयास गर्छ भने विश्वका तानाशाहहरुको पतन भएजस्तै माओवादीको पनि पतन हुनेछ । विश्वका तानाशाहहरुबिरुद्ध जसरी अहिले जनताहरु आन्दोलित भइरहेका छन्, नेपालमा पनि माओवादीबिरुद्ध जनताहरु आन्दोलनमा उत्रनेछन् ।
८ – तपाईहरु आपसमा मिल्नु नै हुन्न । समयमा संविधान बनाउने चिन्ता नै छैन तपाईहरुलाई । संविधान नबनेकोमा जनतालाई कत्रो चिन्ता छ । तपाईहरुलाई महसुस नै हुदैन यस्तो कुरा ?
जनताहरु समयमा संविधान नबनाएकोमा खासै चिन्तित छैनन् । जनता त माओवादीको हिंसाको बारेमा चिन्तित छन् । माओवादीका हतियारका बारेमा चिन्तित छन् । माओवादीका बन्दुककका बारेमा चिन्तित छन् । समयमा संविधान बन्न नसकेको पनि अरु राजनीतिक दलका कारणले होइन । माओवादीकै कारणले हो । त्यसैले जनताको चिन्ता त माओवादीले बन्दुकको आडमा लाद्न खोजेको तानाशाहप्रति हो ।
९ – त्यसो भए माओवादीलाई उनीहरुको सैद्धान्तिक बाटो परिवर्तन गर्न सुझाव दिनुहुन्छ त ?
माओवादीले प्रजातन्त्र मान्ने कि नमान्ने ? त्यसको जवाफ जनतालाई दिनुपर्छ । के नेपालमा कम्युनिष्ट शासन लागु हुन सक्छ ? अवश्य पनि सक्दैन । त्यसैले माओवादीले बन्दुकको भरमा कम्युनिष्ट शासन लागु गर्ने योजना छाड्नुपर्छ । माओवादीले प्रजातन्त्रलाई स्वीकार गर्नुपर्छ । माओवादीले सत्ता कब्जा गर्ने योजना पनि छाड्नुपर्छ । यदि माओवादीले कम्युनिष्ट शासन लागु गर्ने र सत्ता कब्जा गर्ने योजना छाड्दैन भने त्यो उनीहरुको सपना मात्र हुनेछ ।
१० – तर माओवादीहरु आफ्नो सिद्धान्त छाड्न तयार होलान् र ?
नेपालमा कम्युनिष्ट तानाशाह लागु हुन सक्दैन । माओवादीले पनि तानाशाह लाद्न खोजे उनीहरु छिटो पतन भएर जानेछन् । जसरी राणाहरुले तानाशाह लाद्न खोज्दा उनीहरु पतन भएर गए, जसरी राजाले तानाशाह लाद्न खोज्दा राजतन्त्र ढल्यो । त्यसरी नै माओवादीले तानाशाह लाद्न खोजेमा माओवादीका बिरुद्ध पनि जनता आन्दोलित हुनेछन् । माओवादी पनि राजा र राणा जस्तै पतन भएर जानेछ । त्यसैले माओवादीले अहिलेको बाटो त्याग्नुपर्छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !