'राष्ट्रिय जनगणना २०६८- सुपरिवेक्षकमा नातागोता,गणकमा भागबण्डा'

मधुसुधन गुरागाईं-बनेपा 


राष्ट्रिय जनगणना २०६८ अन्तर्गत घरपरिवार सूचीकरण कार्य गत बुधबारदेखि सकिए पनि यसका लागि खटिएका अधिकांश सुपरिवेक्षकहरु घरघरसम्म नआएको स्थानीयवासीले गुनासो गरेका छन् । 


घर घरमा पुगेर संकलित तथ्यांक र घर नम्बरका आधारमा गणकहरु पछि जाने हुँदा ती घर परिवारहरु छुट्न सक्ने स्थानीइवासीका भनाई छ ।जिल्ला जनगणना कार्यालयले सूचीकरण कार्यका लागि जेठ १ देखि १८ गतेसम्मका लागि सुपरिवेक्षकहरु खटाएको थियो ।

 यसअन्तर्गत प्रत्येक घरमा पुगेर घर नम्बर लेख्नु पर्ने भएपनि जिल्लाका अधिकांश गाउँमा सुपरिवेक्षक नपुगेको जानकारी जनगणना कार्यालयमा आउने गरेको छ । केही गाउँहरुबाट गुनासो आएको छ । यदि लापरवाही भएको रहेछ भने हामी सुपरिवेक्षकलाई कारवाही गर्छौं जिल्ला जनगणना प्रमुख सत्य आचार्यले दाबी गरे । जिल्ला जनगणना कार्यालयले सुपरिवेक्षकमा दलीय भागबण्डा र आफन्तहरुलाई नियुक्ति गरेकै कारण सूचीकरण कार्यमा मनपरी भएको कार्यालयका एक कर्मचारीले भने । सुपरीवेक्षक र काजमा कर्मचारी ल्याउने क्रममा जिल्ला जनगणना कार्यालय काभ्रेबाट अनियमितता भएकोमा छानबीन हुनुपर्छु ती कर्मचारीले माग गरे ।शाखा अधिकृत प्रमुख रहने सो कार्यालयले काज भन्दै आफुभन्दा एक तहमाथिका अधिकृतलाई झिकाएका छन् ।

 शैक्षिक तालिम केन्द्रका उपसचिव रहेकी सरस्वती पोखरेललाई प्रशिक्षक भन्दै काजमा झिकाइएको हो । तालिम केन्द्र केन्द्रीयस्तरको कार्यालय भएपनि शिक्षा विभागको सहमति बेगर पोखरेललाई काजमा ल्याइएको स्रोतको दाबी छ । जनगणना कार्यालय सम्बन्धि कामको बारेमा आफूले सबै प्रष्ट पार्ने भन्दै पोखरेलले भन्ने गरेकी छिन् । 

उनी जनगणना अधिकृत सत्य आचार्यकी पत्नी हुन् ।कार्यालय प्रमुख आचार्यका भाई प्रकाश आचार्यलाई इलाका जनगणना कार्यालय पनौतीको प्रमुख बनाएर पठाइएको छ । यसैगरी मणिपाल मेडिकल कलेज पोखरामा अध्ययनरत कोष तथा लेखा नियन्त्रक कार्यालय काभ्रेका प्रमुखको छोरीलाई समेत सुपरिवेक्षक नियुक्त गरिएको छ । जनगणनाका लागि कोलेनिका मार्फत बजेट आउने भएकाले कोलेनिका हाकिमलाई रिझाउन उनकी छोरीलाई नियुक्ति दिएको बुझिन्छ ।निर्देशिका अनुसार निमावि शिक्षकलाई मात्रै सुपरिवेक्षक नियुक्ति गर्नु पर्नेमा माओवादीका एक जिल्ला नेताका छोरा जो प्राथमिक तहका शिक्षक हुन् । उनलाई शैक्षिक योग्यता पुगेको भन्दै नियुक्ति गरेकोमा जनगणना समन्वय समितिको वैठकमै आचार्यको तीव्र विरोध भएको थियो । कार्यालयले सूचना अधिकारीको रुपमा धुलिखेल नगरपालिकाको इलेक्ट्रिसियन सहायक पदका धु्रव पराजूलीलाई नियुक्त गरेको छ ।

 २०३८ सालदेखि नै तथ्यांकको काम गर्दै आएका आफ्नै कार्यालयका कर्मचारीलाई पाखा लगाएर काजमा ल्याइएका कर्मचारीलाई सूचना अधिकारी तोकेकोप्रति कार्यरत कर्मचारीहरुबाटै विरोध हुन थालेको छ । सार्वजनिक खरीद ऐन र नियमावली अनुसार करारमा सुपरिवेक्षक नियुक्ती गर्नु पर्नेमा सो प्रकृया नै नपुर्याई र सार्वजनिक सूचना प्रकाशन नगरी कार्यालय प्रमुख आचार्यले आफुखुशी नियुक्ति गरेको कर्मचारीहरुको आरोप रहँदै आएको छ । करारमा सुपरिवेक्षक र गणक भर्ना गर्दा सार्वजनिक सूचना भने जारी नगरिएको आचार्यले स्वीकार गरे ।केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणनाको निर्देशिकामा निमावि तहका शिक्षकलाई सुपरिवेक्षक र प्रावि तहका शिक्षकलाई गणकमा छनौट गर्ने उल्लेख छ । जिल्लामा जनगणनाका निम्ति सुपरिवेक्षकमा निमावि तहका शिक्षक खटाउने भनिए पनि दलीय भागबण्डा र अधिकांश चिनाजानीका सहभागी गराइएका थिए । मन्त्रीपरिषद्को निर्णयअनुसार जनजाति महिला दलितलगायतको पहुँचका लागि हामीहरु समेत सुपरिवेक्षकका रुपमा छनोट हुनु पर्ने हो ।

 तर त्यसो नहुँदा हामीलाई कार्यालयले उपेक्षा गरेको छ जिल्लास्थित एक दलित अधिकारकर्मीले गुनासो गरे ।कार्यालय प्रमुख आचार्यले भने मन्त्रीपरिषदको निर्णयको आधारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जनगणना समन्वय समितिको निर्णयअनुसार सुपरिवेक्षक छनोट गरेको जिकिर गरे । आफूमाथि आउने सबै आरोपहरुलाई उनले सिडिओको आदेश र मन्त्रीपरिषदको निर्णयको हवाला दिँदै टार्ने गरेका छन् ।कार्यालयले जिल्लामा ४ वटा इलाका कार्यालय स्थापना गरेको छ भने जिल्लाभरि १ सय २९ सुपरिवेक्षक खटाएको थियो ।

 जसमा १ सय १ जना शिक्षक ७ जना निजामती कर्मचारीहरु र २१ जना करारमा लिएकाहरु छन् । करारमा लिइएकाहरु अधिकांश बाहिरी जिल्लाका वासिन्दा विषयगत ज्ञान नभएका र कार्यालय प्रमुखका आफन्तहरु रहेका भनि सुरुदेखि नै नागरिक समाजबाट विरोध हुँदै आएको छ । गणकमा समेत भागबण्डाअसार ३ गतेदेखि सुरु हुने असार ३ देखि १३ गतेसम्म घरघरमा पुगी तथ्यांक संकलनका लागि जिल्लाभरमा खटिने ४ सय ८९ जना गणकहरु पनि भागबण्डामा नियुक्त हुने भएका छन् ।

 जिल्ला शिक्षा कार्यालयले सिफारिश गरी पठाउने प्रावि तहका शिक्षकहरुसमेत शिक्षक युनियन संघ र संगठनको भागबण्डामा पारिएका छन् । नेपाल शिक्षक युनियनका ४४ जना नेपाल शिक्षक संघका १ सय ३३ नेपाल राष्ट्रिय शिक्षक संगठन दुबैबाट १ सय ३३ र माओवादी निकट शिक्षक संगठनबाट १ सय ४० रहेका छन् । जिल्लास्थित कर्मचारी संघ संगठनबाट ६ जना जिल्लाका सरकारी कार्यालयबाट १८ जना र बाँकी १५ जना जनगणना कार्यालयले करारमा लिने गरि भागबण्डा गरिएको छ ।

आफूहरुले भागबण्डा गरेको नभई अघिल्लो पटक मतदाता शिक्षामा नपरेका शिक्षकहरुलाई पालो दिनका लागि सिफारिश गरेको नेपाल शिक्षक युनियनका अध्यक्ष नारायण तिमल्सिनाले बताए । यसो भनिरहँदा जिल्लाका अधिकांश विद्यालयका एउटै प्राविका सबै शिक्षकहरु परेका छन् भने तीनवटै संगठनले सिफारिश गरेका शिक्षक एकै जना परेका समेत छन् । 

Related

समाज दर्पण 3993034909857973151

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item