नेपाल भ्रमण गर्न अर्जेन्टिनाबाट साईकल यात्रामा

http://sindhulidarpan.blogspot.com/2011/06/blog-post_9443.html

- मुकेश पोखरेल
भैरहवा-बुटवल सडक खण्डको कटैया नजिकै साईकल चलाउँदैको अवस्थामा भेटिएका अर्जेन्टिनी दम्पत्तिले गोरखापत्रसंग नेपालमा रहँदा महत्वपूर्ण स्थलको यात्रा साईकलबाटै तय गरिने बताए ।अर्जेन्टिनाको मेन्डोजा शहरका स्थायी बासिन्दा मारियानो र एमिनाले अपि्रल १२ का दिन आफ्नो देश छाडेका हुन् । दुवैले मेन्डोजाबाट ईटली हुँदै अष्ट्रिया जर्मनी सम्मको यात्रा साईकलमा तय गरेका हुन् ।जर्मनीबाट भारतको दिल्ली हवाईमार्गबाट आएका यिनीहरुले त्यहाँ रहँदा साईकल प्रयोग गरेका थिए ।
आफुहरु भारतमा रहँदा दिल्ली आगरा लगायतका ठाउँमा घुमेको तर भारतीय वातावरण आफुहरुलाई मन नपरेको एमिना फ्लोरेन्टिनाले बताईन् ।नेपाल प्रवेश गर्ने बित्तिकै बेग्लै अनुभुति प्राप्त भएको मारीयानोले बताए । नेपालका बारेमा पहिलेदेखि नै सुनेका थियौं सगरमाथा र लुम्बिनीको बारेमा जानकारी छ-उनले भने । घरबाट निस्कने क्रममा पोखरा चितवन र काठमाडौंको मात्र भ्रमण गर्ने योजना उनीहरुको रहे पनि नेपाल छाड्ने बेलासम्म लुम्बिनीको भ्रमण जसरी पनि गर्ने सोच उनीहरुको छ ।तीनवर्ष अघि मात्र विवाह बन्धनमा बाँधिएका यी जोडीले साईकल यात्राको उद्देश्य केही नरहे पनि सोख रहेको र नेपाल घुम्ने धेरै पहिलेदेखिको रहर अहिले पुरा भएको बताए ।यात्रा गर्नका लागि आफ्नै देशबाट गियर जडान भएको र दुबै जनाले एकसाथ चलाउन मिल्ने तीन पांग्रे साईकल ल्याएका छन् ।
स्थलमार्गले जोडिएका देशहरुमा उनीहरु साईकलबाट यात्रा गर्ने र असम्भव स्थानमा हवाईयात्रा गर्ने गरेको र यात्राका क्रममा अहिले सम्म त्यस्तो कुनै समस्या नआएको उनीहरुको बताउँछन् । टयान्गो नामक तीन पांग्रे साईकलमा सबै सामान लगायत आवश्यक सामग्री समेत उनीहरुले ल्याएका छन् । साईकलको पछाडि स्ट्यान्डमा आपुनो देश सहित भ्रमण गरेको देशको झन्डा फरफराउँदै हिड्ंदा अर्कै अनुभुति भएको उनीहरुको ठम्याई छ ।साईकलमा यात्रा गर्दा अति नै रोमान्चक भएको र अझै नेपालको पहाडी भु-भागमा झन् मजा आउने उनीहरुले बताए ।
विशेष प्रकारले निर्माण भएको साईकलमा गियरका साथ दुई जनाले चलाउन मिल्ने अगाडिको दुई चक्का भन्दा पछाडिको चक्का केही सानो र त्यसको बीचमा लगेज राख्न मिल्ने क्यारियर रहेको छ ।दैनिक ७ घन्टा सम्म साईकल चलाउने उनीहरुले एक दिनमा २ सय ५० किलोमिटर सम्म यात्रा गरेको बताउँछन् । नेपालका लागि १५ दिनको भिसामा आएका दुवैजना नेपालपछि तिब्बत र मलेसिया लगायतका मुलुक घुम्दै सेप्टेम्बर सम्म अर्जेन्टिना फिर्ता हुने बताएका छन् ।नेपाल पर्यटन वर्ष २०११ बारे अनभिज्ञ अर्जेन्टिनी जोडीले नेपालका बारेमा धेरै कुरा सुनेको र विश्वको राम्रो पर्यटकीय गन्तब्य रहेको बताउँदै स्वदेश फिर्ता गएपछि साथीहरुलाई नेपाल घुम्न जान आग्रह गर्ने बताए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !