अभाव चपाएर संघर्षको बाटोमा निपानेकी 'अञ्जुकुमारी'



प्रस्तुती:रुकु पोखरेल 
- दनुवार समुदाय हरेक क्षेत्रमा पिछडिएको । विहे गरेर पराइको घर जानु र त्यही परिवारका सदस्यलाई खुसी पार्नु  छोरीचेलीको काम हुन्थ्यो । २०३१ सालमा सिन्धुलीको निपाने ५ स्थित एउटा गरिब दनुवार परिवारमा जन्मनु भएकी अञ्जुकुमारी कुमर दनुवारले पनि सानै उमेरमा सामाजिक कुसंस्कारको सिकार बन्नु प¥यो । अभावै अभावमा हुर्कँदै गरेकी अञ्जुकुमारीको पनि विहे गर्ने निर्णय गरे उहाँका बाबुआमाले । पराई हातको सिन्दुर र पोते लगाएर उहाँ पराइघर पुग्नुभयो । सानैदेखी सामाजिक कुसंस्कारको बिरुद्ध लड्ने इच्छा थियो अञ्जुको । त्यसैले अञ्जुले विवाहपछि आफ्नो कर्म गाउँलाई कुसंस्कारमुक्त र विकसित बनाउन लाग्नुभयो । तत्कालिन पेप सिन्धुली नामक संस्थाको सहयोगमा २०६३ मंसिर २५ गते गठित तथा संचालित महिला हकहितका लागि महिला संजालकी सदस्य भएर निपाने गाउँको विकासमा जुट्नुभयो ।  त्यसबाहेक उहाँ गरिबी निवारण गाउँ समूहकी अध्यक्ष, ज्योती वचत तथा ऋण सहकारी संथाकी कोषाध्यक्ष र मिलिजुली प्राङ्गारिक तरकारी समुहकी सदस्यको रुपमा काम गरिरहनुभएको छ । अञ्जुको औपचारिक पढाई एसएलसीमात्र हो । उहाँ भन्नुहुन्छ, ‘काम गर्ने क्रममा विभिन्न समस्य आइपरेपछि महिलाले पनि धेरै पढ्नुपर्ने रहेछ भन्ने लागेको छ । त्यसैले उमेर ढल्किएपछि पनि कक्षा ११ मा भर्ना भएकी छु ।  धेरै निरक्षर महिलाहरूलाई साक्षर बनाउन सके समाज परिवर्तनमा सघाउ पुग्ने सोचले कक्षा छाडेर घरमा बसेका र पढ्दै नपढेका महिलाहरूलाई प्रौढ कक्षामार्फत साक्षर बनाई अहिले निपानेकै श्री जनकल्याण निम्न माध्यमिक विद्यालयमा पढ्न पठाएका छौँ । 

प्रौढ कक्षा पढेर छोडेका ११ जना महिलाहरू अहिले स्कुल भर्ना भएका छन् । ५ जना ४ कक्षामा, १ जना ६ कक्षामा र अरु ७ कक्षामा अध्ययनरत छन् ।’ अञ्जु अहिले आफू महिला हिंसाविरुद्ध पनि काम गरिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘हाम्रो समाजमा घरबाट निस्कन ज्यादै गाह्रो हुन्छ । घरका सदस्यहरू बुहारी घरबाट बाहिर गए घरको काम कसले गर्छ भन्थे । म भने घरको काम भरे गरौँला, अहिले बाहिरको गर्छु भनेर जबर्जस्ती निस्कन्थेँ । अरु गाउँठाउँका महिलाहरूले गरेको विकास देखेर हाम्रो गाउँ पनि त्यस्तै बनाउन पाए हुन्थ्यो भन्ने सधैँ लागिरहन्थ्यो । त्यसैले काममा खटिएकी छु । हाम्रो गाउँको पञ्चकन्या सामुदायिक वनमा २०६१ सालदेखि छाडा चरिचरण नियन्त्रण गरेर वन तथा जडिबुटिको रक्षा गरेका छौँ । 
महिलाहरूको लागि सरकारले छुट्याएको बजेट लडेर लिने गरेका छौँ । गत वर्ष महिलाको लागि राज्यले गाविस स्तरमा ७७ हजार ५ सय रुपैयाँ सीपमूूलक आयआर्जन कार्यक्रम अन्तर्गत छुट्याएको थियो । तर  गाउँ परिषद्वाट महिलाहरुको लागि थोरै पनि वजेट नदिएपछि  म सहित महिला संजालको अगुवाइमा गाविस कार्यलय तालावन्दी गरि परिषदै चल्न नदिएपछि मात्रै वजेट दिए । जति चुप लाग्यो त्यति पछि परिने रहेछ । त्यसैले चुप लागेर बस्नुहुँदैन । आफ्नो हक आफैले लिन जान्नुपर्छ । 
। त्यो रकमले महिलालाई ६ महिने  सिलाईकटाई तालिम दिएका थियौँ । हाल १५ जनाले आ– आफ्नो घरमा मेसिन राखेर सिलाईको काम सञ्चालन गरिरहेका छन् । त्यसले उनीहरूलाई गुजारा गर्न सघाउ पुगेको छ । यसपालीको बजेटबाट भने वडा नं.४ मा सुत्केरी केन्द्र राख्ने निर्णय गरेका छौँ । सुत्केरी केन्द्र संचालन गर्दा महिलाहरूले राज्यबाट १ हजार रुपैयाँ राहत पाउँने छन् । सुरक्षित सुत्केरी गराउने सेवा र औषधी पनि निशुल्क पाउने छन् । गाउँका महिलाहरूको खुसी समाजको र मेरो खुसी हो । मेरो सपना आज विपनामा परिणत भएको छ । दनुवार समुदायका महिला पनि आफ्नो अधिकार लिन अहिले सक्रिय भएका छन् । निरक्षर बस्नु नै महिला पछि पर्नुको मुख्य कारण हो भन्ने मलाई लाग्छ । आफुले आफुलाई चिन्न नसकेको र आफूमा भएको क्षमता देखाउन नसकेकैले महिला पछि परेका रहेछन् । यो मैले देखेको र भोगेको यथार्थ हो । त्यसैले अहिले गाउँका सबै महिला स्कुल जान्छन्, पढ्छन् र घरको काममा ध्यान दिने गर्छन् ।’ 
अञ्जुको सामाजिक कार्यप्रतिको लगन, महिला जागरणप्रतिको प्रतिबद्धता र निरन्तरको प्रयासका कारण निपाने गाउँको मुहारै फेरिएको छ । समाज परिवर्तनको अर्को कडी हो अधिकार मागेर हैन लडेर मात्र पाईन्छ भन्ने अञ्जुको मान्यता । त्यहि मान्यताका कारण समाजका हरेक कुसंस्कार र विपन्नतालाई चिर्दै समाज परिवर्तनको दिसामा अघि बढिरहेका छन् उहाँका पाईला निरन्तर । 

Related

विचाररसाहित्य 1593185000136940838

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item