कसको गायकी कस्तो ?
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6958.html

संगीतकार वसन्त सापकोटाको मूल्यांकन
राजेश पायल राई
गायकी ‘मार्बलस’ छ । स्वरमा भर्सटालिटी छ । जुनसुकै नायकलाई पनि उसको स्वर सुट हुन्छ । उसले शब्दको भाव छिटो बुझ्छ र मेलोडीलाई छिटो टिप्न सक्छ । समयको पक्का छ । रेकर्डिङमा पनि धेरै समय लगाउँदैन । त्यसैले ऊसँग काम गर्न एकदमै सहज हुन्छ । तर, गीत कम्पोज गर्दा ‘यो गीतलाई यसरी गाउँदा राम्रो हुन्छ’ भनेर जिद्दी गर्ने उसको बानी छ । संगीतकारले एउटा भावमा तयार पारेको गीतलाई परिमार्जन गर्न खोज्ने उसको स्वभाव सुधारेदेखि ऊसँग काम गर्न अझ सहज हुनेछ । मेरो फिल्मी यात्राको पहिलो गीत ‘सागरसरि चोखो माया’ उसले नै गाएको हो ।
स्वरूपराज आचार्य
शब्दको भावअनुसार गाउनसक्ने गायकका रूपमा मैले स्वरूपलाई लिन्छु । सेन्टिमेन्टल गीतमा उसको स्वर खुल्छ । ‘मिडिल रेन्ज’का गीत उसले जत्तिकै सायदै अरू गायकले गाउन सक्लान् । ऊ समय र काममा पनि सिन्सियर छ । त्यसैले ऊसँग पनि काम गर्न सजिलो छ । तर, उसको स्वर एउटा ‘प्याट्रन’मा मात्र जँच्छ, रोमान्टिक गीतमा उसको स्वर त्यति खुल्दैन । त्यसैले उसलाई म गायकीको दोस्रो नम्बरमा राख्छु ।
शिव परियार
शिव परियारसँग पनि काम गर्न सजिलो छ । क्लासिकल बेस उसको स्वरको विशेषता हो । सबै प्रकारका गीतमा उसको स्वर प्रस्ट सुनिन्छ । स्वरमा मिठास पनि छ । तर, फिल्मी गायनमा उसको स्वर केही नायकलाई मात्रै सुहाउँछ । मैले उसको शब्द उच्चारणमा समेत समस्या देखेको छु । गीतको शब्दले एउटा अर्थ खोजेको हुन्छ, तर गाउँदा अर्कै अर्थ लाग्ने गरी गाइदिन्छ । यसमा शिवले बढी नै मिहिनेत गर्नुपर्नेछ ।
दीपक लिम्बू
ऊ मिहिनेती छ । काममा बढी नै सिन्सियर देखिन्छ । गायकहरूमा सबैभन्दा राम्रो स्वभाव पनि उसैको लाग्छ । उसको गायकीमा भर्सटालिटी छैन । रोमान्टिक गीतमा मात्र उसको स्वर बढी खुल्छ । मेलोडी भाव बुझ्न सक्दैन । उसको स्वर ‘हाई रेन्ज’मा ठीकै छ । तर, ‘लो रेन्ज’मा समस्या छ । ऊसँग काम पनि अनौठो ढंगले हुन्छ । कहिले एक घन्टामै रेकर्डिङ सकिन्छ, कहिले चार÷पाँच घन्टा पनि लगाउँछ । त्यसैले उसलाई चौथो नम्बरमा लिने गरेको छु ।
अञ्जु पन्त
मेलोडियस गीतहरूमा उसको स्वर एकदमै राम्रो छ । आवाज प्रस्ट छ । जुनसुकै नायिकालाई पनि उसको स्वर सुट हुन्छ । तर, उनमा मैले धेरै समस्या देखेको छु । उनको फोन मुस्किलले उठ्छ । त्यसमाथि समयमा पनि उनी ‘पंचुअल’ छैनन् । रेकर्डिङ स्टुडियोमा ४÷५ घन्टासम्मै कुराइदिन्छिन् । उनी चाहिनेभन्दा बढी व्यावसायिक छिन् । उनलाई गाउन प्रस्ताव गर्दा त्यो गीत कस्तो छ, आपूmलाई सुट गर्छ कि गर्दैन भन्दा पनि पैसा कति आउँछ, पहिल्यै आउँछ कि आउँदैन भनेर डिलिङ गर्छिन् । त्यो बानी सुधार्न म उनलाई सुझाव दिन चाहन्छु । त्यसैले म उनलाई पाँचौँ नम्बरमा राख्छु ।
प्रमोद खरेल
गायकीमा भर्सटालिटी छैन । रेन्जको हिसाबले उसको स्वर सबै गायकको भन्दा राम्रो छ । शब्द उच्चारण पनि उत्तिकै राम्रो । उसको पनि स्वर सबै नायकलाई सुट हुँदैन । सेन्टिमेन्टल गीत उसले एकदमै राम्रोसँग गाउन सक्छ । तर, उसले गाउने रोमान्टिक गीतमा रोमान्टिक फिल आउँदैन । सेन्टिमेन्टल गीतमा बढी छाप छोड्नु नै उसको कमजोरी हो भन्ने मलाई लाग्छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !