अख्तियारको कारबाहीमा


राजविराज,  जेठ २। आर्थिक प्रलोभनमा परी जग्गा पास गर्ने सप्तरीका नौजना कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबुत प्रमाणहरु पठाएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुसन्धानबाट अदालतको आदेशसमेतको अवज्ञा गर्दै आर्थिक प्रलोभनमा परी नौजना कर्मचारी मिलेर जग्गा पास गरेको देखिएकोले कारबाहीका लागि सम्पूर्ण कागजप्रमाण आयोगको कार्यालय टङ्गाल, काठमाडौँ पठाइएको हो ।

मालपोत कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख सरयुगलाल दास, नायब सुब्बा जनार्दन देव, खरिदारद्वय रामनारायण शर्मा र पुरुषोत्तम ढकाल, कार्यालय सहायक लीला यादव, राजविराज नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत हरिनारायण राम रौनियार, ओभरसियर केवल दास, नायब सुब्बा देवराम यादव, खरिदार मो. आलमसमेत मिली अदालतको आदेशलाई अवज्ञा गर्दै आर्थिक लाभ लिई जग्गा पास गरेको अनुसन्धानबाट देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

सप्तरी जिल्ला अदालतले गत माघ ५ गते राजविराज–४ बस्ने विन्देश्वरीप्रसाद दासको नाममा रहेको राजविराज–४ स्थित गजेन्द्र चौकका जग्गाहरु यथास्थानमा राख्न निर्देशन दिएको थियो ।

उक्त निर्देशनसहितको पत्र मालपोत कार्यालयमा माघ ५ गते नै दर्ता भएपनि अढाई महिनापछि चैत २६ गते मालपोत कार्यालयका तत्कालीन कार्यालय प्रमुख दासले अरुकै नाममा जग्गा दर्ता गरी दिएका थिए ।

प्रमुख दासले राजविराज–४ स्थित गजेन्द्र चौकमा रहेको जग्गा प्लट नं.८÷२ को १९ धुर, वडा नं. ३ स्थित दर्जी लाइनको प्लट नं. ३÷२ को चार धुर, प्लट नं. ३७÷२ को चार धुर र प्लट नंं २÷४ को साढे आठ धुर गरी एक कट्ठा साढे १५ धुर जग्गा चण्डी दासको जेठा छोरा विन्देश्वरी दासका दुईजना छोरी बबिता र सुनिताको नाममा रजिष्ट्रेसन पास गरिदिएका छन् । विन्देश्वर दास नातामा सरयुग दासका ज्वाइँ पर्छन् ।

चण्डीप्रसाद दासका दुई श्रीमतीमध्ये जेठी सीतादेवीतर्फ विन्देश्वरी र सुशील दास तथा कान्छी श्रीमती भोलिदेवीतर्फ भूषण र तोजाराम दुई–दुई छोरा छन् ।

चारजना दाजुभाइबीच उत्पन्न जग्गासम्बन्धी अंश विवाद अदालतमा पुग्दा जग्गा यथास्थितिमा राख्न सप्तरी जिल्ला अदालतले मालपोत र नगरपालिकाको कार्यालयलाई पत्र पठाए पनि मालपोत र नगरपालिकाका कर्मचारी मिलेर विन्देश्वरीका दुई छोरीका नाममा जग्गा पास गरिदिएपछि यो मुद्दा सप्तरीमा निकै चर्चित बनेको छ । 

Related

विविध 6875391085907728006

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item