महासचिव बानको चासो
http://sindhulidarpan.blogspot.com/2012/05/s_1864.html
काठमाडौँ, जेठ २ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान–की मुनले भावी सङ्घीयताको विषयलाई लिएर नेपालका केही भागमा उत्पन्न तनाव र दैनिक जीवनमा परेको असरप्रति चासो व्यक्त गर्नुभएको छ ।
शान्तिपूर्णरुपमा विरोधका कार्यक्रम गर्न तथा अरुको मानवअधिकारको पूर्ण सम्मान गर्दै देशभर मानवीय पहुँच स्थापनामा व्यवधान सिर्जना नगर्न आन्दोलनरत पक्षलाई महासचिवले आग्रह गर्नुभएको उहाँका प्रवक्ताको कार्यालयले आज जारी गरेको वक्तव्यमा उल्लेख छ ।
श्री बानले आन्दोलनका कारण बढिरहेको तनाव घटाउनेतर्फ अर्थपूर्ण सम्बोधन खोज्न नेपाल सरकार समक्ष अनुरोध पनि गर्नुभएको छ ।
संविधान लेखनको प्रक्रियालाई सहज बनाउन तथा सङ्घीयतासम्बन्धी मतभिन्नताका प्रमुख विषयमा सहमति खोज्न पनि महासचिव बानले राजनीतिक दलहरुलाई अनुरोध गर्नुका साथै राजनीतिक स्वार्थभन्दा माथि उठेर कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
महासचिव बानले परम्परागतरुपमा सीमान्तकृत समूहहरुका चाहनालाई सम्बोधन गर्नेतर्फ विशेष ध्यान दिन आग्रह गर्दै सङ्घीय पद्धतिबाट आफ्ना अधिकार कुण्ठित हुन्छन् भन्ने केही समुदायमा उत्पन्न चिन्तालाई न्यून गर्न आवश्यक भएको बताउनुभएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !