अस्पतालमा सुत्केरी गराउनेलाई सुविधा
http://sindhulidarpan.blogspot.com/2012/05/s_15.html
मङ्गलबारे (इलाम), जेठ २ । अस्पतालमा सुत्केरी गराउने इलाम नगरपालिकाका ६० सुत्केरी महिलाहरूले नगरपालिका कार्यालयबाट विभित्र सुविधा लिएका छन् ।
इलाम नगरपालिका कार्यालयको सुरक्षित मातृत्व कार्यक्रमबाट चालु आर्थिक वर्षको १० महिनामा जनही रु एक हजार १४० का दरले रु ६८ हजार ४०० बराबरको सामग्री निःशुल्क प्राप्त गरेका हुन् । महिला सुत्केरी भएको लगत्तै अस्पतालको प्रमाणित चिठीसहितको आवेदन वा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाको सिफारिसका आधारमा तोकिएको केन्द्रबाट सुत्केरी सुविधा लिन सकिने प्रावधान रहेको कार्यालयले जनाएको छ ।
सुत्केरी महिलाका लागि नगरपालिकाले एक किलो घ्यू, दुई किलो मिश्री, एक पाउ ज्वानो, एकमिटर मखमल कपडा र पाउडर, मालिस तेल, साबुनसहितको बेबी प्याकेज दिँदै आएको छ । यस्तो सुविधा नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्दै आएका परिवारका सुत्केरी महिलाले मात्रै पाउने कार्यालयले जनाएको छ । इलाम नगरपालिकामा सुत्केरीका लागि यस्तो सुबिधा निकै पहिलेदेखि दिँदै आएको हो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !