निर्धारित समयमा संविधान जारी गर्न राष्ट्रपतिको सुझाव
http://sindhulidarpan.blogspot.com/2012/05/s_3924.html
काठमाडौँ, ८ जेठ । राष्ट्रपति डा. रामवरण यादवले प्रमुख राजनीतिक दलका नेतालाई सहमतिबाटै निर्धारित समयमा संविधान जारी गर्न सुझाव दिनुभएको छ ।
राष्ट्रपति डा. यादवले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारसँगको भेटमा विवादित विषयमा छलफलबाट सहमति खोज्न र यही जेठ १४ भित्र संविधान जारी गर्न प्रमुख दलसँग आग्रह गर्नुभयो ।
भेटमा राष्ट्रपतिले जेठ १४ भित्रै मिलेर संविधान जारी गर्न र थप विवादित विषयमा सहमति खोज्न आग्रह गर्नुभएको नेताहरूले जानकारी दिनुभयो । नेपाली काँग्रेसका सभापति कोइरालाले प्रमुख दलहरू मिलेर आजै परिणाम निकाल्ने गरी सहमति गर्न र निर्धारित समयमा संविधान जारी गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको जानकारी दिनुभयो । नेकपा (एमाले)का अध्यक्ष खनालले संविधान जारी गर्नाको विकल्प छैन भन्दै चाँडै सहमतिमा पुग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– संविधानसभाको म्याद थपिँदैन ।
यसैगरी, मोर्चाका अध्यक्ष गच्छदारले जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने बताउँदै प्रमुख चार राजनीतिक दल मिलेर सहमतिबाटै संविधान जारी गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको बताउनुभयो । प्रमुख चार दलका नेतासँगको भेटपछि राष्ट्रपति डा. यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच पनि भेटवार्ता भएको छ । सो अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको समसामयिक अवस्थाबारेमा छलफल भएको बुझिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !