गोरखामा रोट महोत्सव शुरु
http://sindhulidarpan.blogspot.com/2012/05/s_4689.html
राजेन्द्र न्यौपाने
गोरखा, बैशाख २४ ।
गोरखाको पवित्र भूमि एवं ऐतिहासिक स्थान गोरखाको गोरखनाथ गुफामा आजदेखी नवौं रोट महोत्सव शुरु भएको छ ।
महोत्सव शुरु भएसंगै देशको विभन्न भाग बाट श्रद्धालु भक्तजन आउने क्रम शुरु भएको छ । वैशाख पूर्णीमाका दिन अर्थात गुरु गोरखनाथ प्रकट भएको दिन पारेर सिद्धाश्रम सक्तिकेन्द्र नेपालको आयोजनमा महोत्सव शुरु भएको हो ।
चामल वा गहुँको पिठोमा घ्यू, नरिवल, ल्वाङ, सुकमेल, मिश्री, तेजपत्ता, मरिच, किसमीस, काजु, छोडा लगायतका ५२ विभिन्न मसला मिसाएर तयार गरिने रोट गुरु गोरखनाथको प्रिय वस्तु मानिन्छ । सामान्यतया रोट श्रद्धालुभक्तजनले अन्नबाली भित्राएपछि गुरु गोरखनाथलाई रोट अर्पण गर्ने प्रचलन रही आएको छ ।
महोत्सवको पहिलो दिन कुमारीहरुले १०८ घडा पानी लिएर गोरखा बजारको विभिन्न स्थानको परिक्रममा गरेका छन् । उनीहरु आजै गोरखनाथ गुफामा पुगेका छन् । बैशाख २४ गते देखी जेष्ठ ३ गते सम्म गरी ११ दिनसम्म संचालन हुने रोट महोत्सवमा १ लाख २५ हजार रोट गुरु गोरखनाथलाई चढाइने आयोजक सिद्धाश्रम शक्तिकेन्द्र नेपाल गोरखा शाखाका संयोजक किशोर अकेलाले जानकारी दिनुभयो ।
रोट महोत्सवमा सहभागी हुँदा मात्र पनि आफूले गरेको संकल्प पुरा हुने विश्वासका कारण महोत्सवमा देश तथा विदेशमा रहेका नेपालीहरुको उल्लेखीय सहभागीता रहने गरेको छ । महोत्सवको पहिलो दिन गोरखनाथ गुफा अगाडी गुरु गोरखनाथको झण्डा समेत फेरिएको छ ।
यसै विच रोट महोत्सवमा सहभागी हुनका लागि देशको विभिन्न भाग बाट गोरखा आउने क्रमम शुरु भएको छ । किमबदन्ती अनुसार गोरखनाथकै आशिर्वादले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेको र एउटा रोट र एक माना पानी खाएमा एक दिनको भोक समेत मेटिने विश्वास अझै कायमै छ ।
यस वर्ष महोत्सवमा लोकभजन तथा चुड्का र नृत्य प्रतियोगीता समेत हुने भएको छ । गुरु गोरखनाथलाई अर्पण गरिएको रोट देश तथा विदेशमा समेत प्रसादको रुपमा पठाउने गरिन्छ ।
रोट दुई किसिमको हुन्छ । भुङ्ग्रेरोट र ताईरोट । रोटहरु मध्ये गुरु गोरखनाथलाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्तिवद्र्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरनाथ जातीद्वारा घ्यूमा तयार पारीएको रोटीलाई रोट भनिन्छ । रोटमा ल्वाङग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता वस्तुहरु मिसाएर तयार गर्ने गरिन्छ ।
सानो – सानो आकारमा तयार गरिने यो रोटलाई नाथ प्रजातीका व्यक्तिहरुले मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासिक महोत्सव समेत रही आएको छ ।
रोटको ऐतिहासिक महोत्सवमा नेपाल एकिकरणका वेला पूव राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जाँदा उक्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासिल गरेको किंवदन्ती समेत पाइन्छ । गोरखाको गोरखनाथमा रोट चढाउन देशभरीका र विदेशबाट समेत भक्तजन आउने गरेका छन् । पछिल्लो समयमा २०६१ सालदेखि वर्षेनी सवालाख रोट चढाउने गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !