भ्रष्टाचार मुद्दामा प्रधानाध्यापकलाई उपस्थित हुन आदेश

राजविराज, जेठ १ । जिल्ला प्रशासन कार्यालयले सप्तरीको भगवतपुर गाविसस्थित भगवती राष्ट्रिय प्राथमिक विद्यालय, दुर्गापुरका प्रधानाध्यापकलाई जेठ १२ गते उपस्थित हुन आदेश दिएको छ ।

आर्थिक अनियमितताको छानविन थालेको जिप्रका सप्तरीले भगवतपुर– २ स्थित सो विद्यालयका प्रअ नागेश्वर मण्डललाई आयव्यय खर्चको सक्कल कागजात लिई आउन आदेश दिएको हो ।

रु आठ लाख ४९ हजार भ्रष्टाचार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक मण्डललाई इलाका प्रहरी कार्यालय हनुमाननगरमार्फत झिकाई जिल्ला प्रशासन कार्यालयले बयान लिँदा अन्तिम पटकका लागि कागजात ल्याउन आदेश दिएको बताइएको छ ।

प्रअ मण्डलले बाल विकासतर्फ शिक्षक नियुक्त नगरी २०६३ सालदेखि हालसम्मको तलब रु एक लाख १७ हजार, कामै नगरी विद्यालय व्यवस्थापन समितिको खर्च देखाएको रु ७२ हजार, महुली सामुदायिक विकास केन्द्रले बनाइदिएको शौचालय निर्माणको खर्च आफूले बनाएको भनी खर्च देखाएको रु दुई लाखलगायत रकम हिनामिना गरेको आरोप छ ।    

यस्तै आर्थिक वर्ष २०६३ देखि २०६८ असोजसम्म विद्यालयमा परिचर नियुक्त नगरी परिचरको तलब हिनामिना गरेको, भौतिक सुधारतर्फ आरआरएनबाट निकासा प्राप्त भई कामै नगरी भुक्तानी देखाएको रु दुई लाख ५० हजार, विद्यालय व्यवस्थापन समितिको निर्णयविना पिसिएफतर्फ खर्च गरेको रु दुई लाख १० हजार हिनामिना गरेको आरोप प्रअ मण्डलमाथि लागेको जिप्रकाका शाखा अधिकृत विष्णुरन्जन बरालले जानकारी दिनुभयो ।

एक वर्षअघि वैशाख २५ गते विद्यालय व्यवस्थापन समितिका सदस्य महेन्द्र पण्डित, महिला सदस्य देवकीदेवी मण्डल,  वडा नं. २ का महेन्द्र मण्डल, रमेशप्रसाद मण्डल र सञ्जयप्रसाद मण्डलले आयव्यय सार्वजनिक नगरी विभिन्न शीर्षकमा प्रधानाध्यापक मण्डलले रु आठ लाख ४९ हजार भ्रष्टाचार गरेकाले कारवाही गरी पाउँ भनी जिप्रका सप्तरीमा निवेदन दिएका हुन् ।

Related

विविध 783051901677367004

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item