कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सस्दैन:खनाल
http://sindhulidarpan.blogspot.com/2012/06/blog-post_18.html
काठमाण्डौ,असार ४ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अब कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन नसक्ने बताउनुभएको छ । आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई काठमाण्डूमा उद्घाटन गर्दै अध्यक्ष खनालले माओवादीको कारणले संविधानसभाको अन्त्य भएको भन्दै अब उसले चाहँदैमा चुनाव हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले अब एमालले राष्ट्रिय राजनीतिक निकास सुरु गर्ने बताउँदै राष्ट्रिय राजनीतिक निकासका लागि अब एमालेले पहल सुरु गर्ने बताउनुभयो । अध्यक्ष खनालले राष्ट्रिय भेलापछि निकासको तीर लिएर पुर्व मेचिदेखि पश्चिम महाकालीसम्म जाने बताउनुभयो । उहाँले आफूहरु जनजाति विरोधी नभएको र बहुपहिचानका आधारमा संघहरु निर्माण गर्ने कुरा पार्टीको १२ औ महाधिवेशनले नै पारित गरेको उल्लेख गर्नुभयो ।
संविधानसभाको विघटपछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेर पार्टीको धारणा तय गर्न नेकपा एमालेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु भएको हो । राष्ट्रिय सभागृहमा जारी भेलामा गएको जेठ १४ मा विघटन भएको संविधानसभा, नयाँ राजनीतिक परिवेश तथा पार्टीको आगामी योजनाको बारेमा छलफल हुने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । देशभरबाट भेला भएका नेता तथा कार्यकर्ताहरुको सुझावको आधारमा संघीयता, राज्यपुनर्संरचनाको स्वरुपलगायतका भावी संविधानका विषयवस्तुको बारेमा औपचारिक धारणा बनाइने सचिव पोखरेलले बताउनुभयो । भेलामा अध्यक्ष खनालले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परिक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी तथा सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग, अञ्चल समन्वय कमिटीका सचिवहरु र घोषित जसनंगठनका केन्द्रीय अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहने एमालेले जनाएको छ । भेलामा राजनीतिक तथा संवैधानिक संकटका सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरु प्रस्तुत तथा पारित गरिने एमालेले जनाएको छ । भेलामा अहिले बन्द सत्र सुरु भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !