फर्केर हेर्दा:" स्थानेश्वर देवकोटा"

http://sindhulidarpan.blogspot.com/2012/06/i_2163.html
"खरदारदेखि सहसचिवसम्म"
मान्छे हो, रीस त उठिहाल्छ तर सकभर रिसाउँदैनन् मातृभूमि विकास बैंक, सिन्धुलीका अध्यक्ष स्थानेश्वर देवकोटा । प्रशासन क्षेत्रमा लामै समय बिताउनुभएका देवकोटा सिन्धुलीको विकास र जिल्लावासीको आर्थिकस्तर उकास्न मातृभूमि विकास बैंक स्थापना गर्न लागेको बताउनुहुन्छ । जिल्लाका सरकारी बैंकहरू ग्रामीण क्षेत्रका जनताको पहुँचभन्दा बाहिर रहेको र बैंकको ऋणमा पनि ठूलाबडाको मात्र पहुँच भएकोले पनि जिल्लामा निजी स्रोतको बैंकको आवश्यकता भएको बताउनुहुन्छ उहाँ । त्यसकारण पनि मातृभूमि विकास बैंक सिन्धुलीको र जिल्लावासीको बैंक बन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । ‘मातृभूमि विकास बैंक सञ्चालनमा आएपछि जिल्लाका पिछडिएका वर्गले बढी फाइदा लिन सक्नेछन्’ बैंक स्थापनाको उद्देश्यबारे देवकोटा भन्छन्, ‘राष्ट्र बैंकको नियमअनुसार विपन्न वर्गका लागि छुट्याइनुपर्ने ५ प्रतिशत अन्य बैंकले कागजमा मात्र सीमित गरेका छन् । तर मातृभूमि विकास बैंकले व्यवहारमै उतारेर देखाउनेछ ।’

युवावयको अध्ययनको सुरुवात जनकपुरबाट गर्नुभएका देवकोटाले मानविकी र सामान्य प्रशासनमा स्नातकोत्तर, कानुनमा बी.एल. गर्नुका साथै म्यानचेस्टर युनिभर्सिटी लन्डनबाट पोस्ट ग्र्याजुएटसमेत गरिसक्नुभएको छ ।
०००
२०२५ असारदेखि भूमिसुधारको अस्थायी खरदारबाट सुरु गर्नुभएको हो उहाँले जागीर । त्यसपछि भूमिसुधारकै स्थायी खरदार, नायवसुब्बा, शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवसम्म हुनुभयो उहाँ । २०६५ साउन १३ गतेबाट रिटायर्ड देवकोटा जागीरे जीवनमा डोल्पा, सोलुखुम्बु र रौतहटमा स्थानीय विकास अधिकारी (एलडीओ) र रौतहट, कञ्चनपुर, सर्लाही, रूपन्देही, सुनसरी, ललितपुर र काठमाडौँमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुनुभयो । उहाँ केही महिना रक्षा मन्त्रालयको सहसचिवसमेत बन्नुभयो । जनआन्दोलनताका ललितपुरको र देशमा लोकतन्त्र आइसकेपछि काठमाडौँको सिडिओ हुनुभएका देवकोटा अवकाश पाउँदा कारागार व्यवस्थापन शाखाको निर्देशक हुनुहुन्थ्यो । जागीरबाट अवकाश पाएपछि पनि उहाँ धेरै समय आराम गरेर बस्न पाउनुभएन । अवकाश पाएको ३ महिनाभित्रै उहाँ वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशक हुनुभयो, अहिले यसैमा उहाँको निरन्तरता छ ।
०००
जागीरको सिलसिलामा देशका धेरै ठाउँ पुगे पनि एलडीओ भएर डोल्पा जाँदाको एउटा घटनाले सधैँ नै उहाँलाई तर्साउँछ । कुरो हो, २०४७ साउनको । जागीरमा कहिल्यै पनि दुर्गममा नपर्नुभएका उहाँलाई दुर्गम क्षेत्रमा पनि जान मन लाग्यो । नयाँ ठाउँ पनि डुलिने र तलबसुविधा पनि दोब्बर हुने । साथै बढुवाको लागि पनि सजिलो । यस्तै सोचेर उहाँ डोल्पा जानुभयो, एलडीओ बनेर । डोल्पामा उहाँलाई से–फोक्सुन्डो ताल अवलोकन गर्न मन लाग्यो । ६–७ जना अधिकृत र ५–६ जना अरू कर्मचारीका साथ लाग्नुभयो उहाँ, से–फोक्सुन्डो तालको अवलोकन गर्न । जानुपर्नेथ्यो डाँडैडाँडा, तर उहाँहरू ओरालो लाग्नुभयो । तल पुगेपछि बाटो छैन । फर्कौँ चिप्लो बाटो, जाऔँ रुखको जरा समातेर हिँड्नुपर्ने । तलतिर से–फोक्सुन्डोबाट छुट्टिएर आएको खोलाको ठूलो घुमाउने दहले सुसेली हालिरहेको । साहस गरेर त्यही बाटो जाने निधोमा पुग्नुभयो उहाँहरू । पहिले उहाँ उक्लिनुभयो, अरू साथीहरूको सहयोगमा भित्ताको जरा समात्दै । त्यसपछि पालैपालो अरूलाई तान्नुभयो, रुखको जरामा खुट्टा अङ्कुशे बनाई अड्काएर । अरू सबै उक्लिसकेका थिए, बाँकी थियो एकजना सहयोगी । उसको साथमा थियो– एउटा गह्रौँ भारी । उसकै पालोमा टेकिराखेको फलेक उल्टिएछ । आत्तिएर त्यो सहयोगी त माथि उक्लियो तर उहाँ भने त्यो घुमाउने दहमा खस्नुभयो, झम्लम्मै ।
पौडी त उहाँलाई खेल्न आउँथ्यो, तर उहाँलाई थाहा थियो– घुमाउने दहमा पौडनु हुँदैन । उहाँले यो पनि सुन्नुभएको थियो– त्यस्तो बेलामा सास रोकेर जिउलाई खुल्ला छाडिदिनुपर्छ । उहाँले त्यसै गर्नुभयो, माथिबाट अरू साथीहरूले डोरी रूखमा बाँधेर दहमा फालिदिए । त्यही डोरी समातेर उहाँ त्यहाँबाट निक्लन सफल हुनुभयो । “यहीँ आएर मर्न लेखेको रहेछ, अब म मरेँ भन्ने भइसकेको थियो”, उहाँ त्यस घटना सम्झँदै भन्नुहुन्छ, “से–फोक्सुन्डोबाट फर्केपछि त्यो दह कति गहिरो रहेछ भनेर नाप्यौँ, दह त २० फिट गहिरो पो रहेछ । त्यहाँका अरू साथीहरूले ‘हामी खसेको भए त्यहीँ मर्ने थियौँ, तपाईं त बाँचेर आउनुभयो, ल बधाई छ, तपाईंले पुनर्जन्म पाउनुभयो’ समेत भने ।”
नेपाल–भारत मैत्री सङ्घ सिन्धुलीको अध्यक्षसमेत रहनुभएका देवकोटाले विभिन्न काम तथा सेमिनारको सिलसिलामा बेलायत, फ्रान्स, जर्मनी, बेल्जियम, लक्जम्वर्ग, नेदरल्यान्ड, अमेरिका, थाइल्यान्ड, टर्की, दक्षिण कोरिया, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, दुबई, कतार, साउदी अरेबिया र भारतको भ्रमण गरिसक्नुभएको छ । वि.सं. २०२४ मा सिन्धुली चपौलीकै गोमा फुयाँललाई जीवनसङ्गिनी बनाउनुभएका देवकोटाका दुई छोरा छन् ।
— प्रवीण बुढाथोकी
(रोशी साप्ताहिकमा २०६६ जेठ २७ गते बुधबार प्रकाशित)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !