अश्लील चलचित्रविरुद्ध बोर्ड सक्रिय

काठमाडौं,  असार ७ । छायांकनकै क्रममा अघिल्लो बुधबार प्रहरीले हस्तक्षेप गरेर छायांकन रोकिदिएपछि अन्योलमा परेको चलचित्र नाइन ओक्लक अझै सुचारु हुन सकेको छैन । अश्लील दृश्य र संवाद राखिएको आशंकामा विवादमा तानिएको यो चलचित्रले दर्ता प्रक्रिया नै पूरा नगरी सोझै छायांकन सुरु गरेकाले नेपाल चलचित्र विकास बोर्डले छायांकन रोक्न निर्देशन दिएको थियो । गोदावरीस्थित एक घरमा ढोका थुनेर छायांकन भइरहँदा प्रहरीले हस्तक्षेप गरेको हो ।

‘दर्ता नै नगरी अति अश्लील चलचित्र छायांकन भइरहेको हामीले जानकारी पाएका थियौँ । त्यसैले छायांकन रोक्न सिडिओ कार्यालयमार्फत पहल गरिएको हो,’ बोर्डका सदस्य विकास आचार्यले भने । स्क्रिप्ट अध्ययन टोलीले सो चलचत्रिको स्कृप्टमै अश्लील संवाद देखिएकाले खारेजै गर्न सुझाब दिएको समेत उनले उल्लेख गरे ।
अध्ययन समितिले उक्त चलचित्रलाई स्क्रिप्टका आधारमा छायांकन अनुमति दिन नसकिने भन्दै रोक्न बोर्डसमक्ष सिफारिस गरेको थियो । ‘स्क्रिप्ट अध्ययन गर्दा हामीले सो चलचित्र अति उच्छृंखल र छाडा हुने देख्यौँ’, समितिका सदस्य सुरेशदर्पण पोखरेलले भने ।
चलचित्रका निर्देशक बाबुराम ढकाल भने प्रहरीले हस्तक्षेप गरेको कुरा स्किार्दैनन् । बोर्डले स्कृप्टको टुंगो लगाएर मात्र छायांकन गर्न भनेकाले अहिलेलाई स्थगित गरिएको बताए । ‘चलचित्रको दर्ताका लागि चाहिने सम्पूर्ण प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले बोर्डका कर्मचारीले नै ‘छायांकन गर्दै गर्नू’ भनेका थिए, त्यसैले छायांकन गरेका थियौँ, अहिले बोर्डकै निर्देशनमा रोकेका हौँ,’ उनले भने ।
तर, बोर्डका सदस्य आचार्य भने अहिलेसम्म कुनै पनि चलचित्रलाई बोर्डले विनादर्ता छायांकनको अनुमति नदिएको बताउँछन् । भन्छन्, ‘स्कृप्ट दर्ताविना छायांकन नगर्नू भनेर बकाइदा सूचना नै निकालेको छ बोर्डले ।’
स्कृप्ट अनुगमन समितिले नाइन ओक्लकको स्कृप्ट खारेज गर्न सिफरिस गरे पनि त्यो अधिकार कसैमा नभएको दाबी गर्छन् निर्देशक ढकाल । उनले भने, ‘स्कृप्टको कमीकमजोरी हटाउनेसम्म हुन सक्छ तर खारेजै गर्ने अधिकार कसैलाई छैन ।’
विनादर्ता नै सो चलचित्रले तीस प्रतिशत छायांकन सकिसकेको बुझिएको छ । सुमिना घिमिरे, धु्रव दत्त, दीक्षा रानीलगायत कलाकार मुख्य भूमिकामा छन् भने लेखन प्रकाश पुरीले गरेका हुन् ।
सुरुमा सो चलचित्रको नाम ए ६९ राखिएको थियो । सो नामै अश्लील भएको भन्दै चौतर्फी आलोचना भएपछि परिवर्तन गरेर नाइन ओक्लक राखिएको हो । स्क्रिप्ट दर्ता नगरी छायांकन सुरु नगर्न बोर्डले गरेको आग्रहलाई बेवास्ता गर्ने निर्माण समूहलाई त्यत्तिकै छाडे अश्लील चलचित्र बन्ने क्रम झनै लम्बिने भएकाले कारबाही गरेरै छाड्नुपर्ने बोर्डका एक कर्मचारीले बताए । स्कृप्टका विषयमा आधिकारिक निर्णय भने बोर्डले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएको छ । पछिल्लो समय सस्तो मनोरञ्जनका नाममा लगातार जसो अश्लील एवं छाडा संवादसहितका चलचित्र निर्माणको बाढी आउन थालेपछि बोर्डले कडाइ सुरु गरेको हो ।- सौर्य दैनिक 

Related

मनोरञ्जन 4658983375857664547

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item