जेठ १४ पछि चार दल एउटै थलोमा
http://sindhulidarpan.blogspot.com/2012/06/i_5189.html
काठमाडौं, असार ६ । संविधानसभा विघटन पछि पहिलो पटक एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बसेको छ । कांग्रेस पार्टी सानेपामा आज बसेको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, चुलिदै गएको गतिरोध अन्त्यको प्रयास, विदेशी हस्तक्षेपलगायतमा छलफल भएको नेताहरुले बताएका छन् । कांग्रेसको पहलमा चार दलका शीर्ष नेताहरुको बैठक पहिलो पटक बसेको हो । बैठकमा सरकारले एक तर्फी रुपमा घोषणा गरेको निर्वाचन, आचार संहिता उलंघन लगायतमा पनि छलफल भएको नेताहरुले बताएका छन् ।
मुलुकलाई राजनीतिक गतिरोधबाट निकास दिन सहमतिकै बाटो बाट जानुपर्ने भन्दै आगामी दिनमा छलफललाई निरन्तरता दिने सहमति गरेको नेताहरुले बताएका छन् । ‘गतिरोध हटाउनका लागि राष्ट्रिय सहमति एक मात्र विकल्प हो,’ बैठकबाट बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने संवैधानिक कानूनी र राजनीतिक सबै जटिलताको समाधान सहमतिबाटै हुन्छ ।’ उनले सहमतिका लागि कांग्रेसले गरेको अग्रसरता प्रयासको प्रशंसा गरेका छन् । ‘यसलाई निरन्तरता दिएर निकास निकाल्नुपर्छ,’ दाहालले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राजनीतिक निकासका लागि छलफल आरम्भ भएको बताए । उनले भने, ‘छलफल भएपनि कुन विन्दुबाट जाने भन्ने बाटो पत्ता लागेको छैन ।’ एमाले नेता माधवकुमार नेपालले पनि सहमतिको विकल्प नरहेको भन्दै एमाओवादीलाई केही लचक भएर आउन सुझाव दिएका छन् । उनले मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै चिन्ता समेत जनाए । बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाबाट विजय गच्छेदार लगायतका शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !