अब ‘मिनी ब्लुफिल्म’ बनाउँछु


काठमाडौं,  असार ५ । खचाखच पत्रकारका माझ नायक तथा निर्माता जयकिसन बस्नेतले सोमबार ‘मिनी ब्लुफिल्म’ बनाउने बताए । चलचित्र सेन्सर बोर्डले उनको पछिल्लो चलचित्र तँ त साह्रै सप्रिस् नि बद्रीका विभिन्न दृश्य अनि संवादमा कैँची लगाउन आदेश दिएपछि उनले बोर्डलाई यसो भनेर घुक्र्याएका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘चलचित्रका राष्ट्रिय हितका सन्देशलाई पनि सेन्सर गर्नुपर्ने हो भने अब मिनी ब्लुफिल्म बनाउँछु ।’ आफ्नो चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिनुपर्ने माग पनि उनले गरे । चलचित्रमा आफूले सम्पूर्ण नेपाली जातीयताका आधारमा नभई एकताका आधारमा अघि बढ्नुपर्ने, बाह्य शक्तिले जति नै प्रयास गरे पनि नेपाली दाजुभाइ जातीय आधारमा फुट्नु नहुने सन्देश दिएकामा सेन्सरले यसैलाई हटाउन भनेको उनले बताए । ‘मूलधारका विषयवस्तुमा रहेर सामूहिक हितको सन्देश दिलाउने चलचित्रले पनि युनिभर्सलाई सर्टिफिकेट पाउँदैन भने के अब ब्लुफिल्म बनाउनुपर्ने हो,’ उनले भने । अन्यथा, चलचित्रको हार्डडिस्क सेन्सर बोर्डमा लगेर जलाउने चेतावनी पनि उनले दिए ।
सेन्सर बोर्डका अध्यक्ष सुशील ओझा भने चलचित्रमा जातीय अन्तद्र्वन्द्व गराउन सक्ने खालका दृश्य रहेकाले तिनलाई हटाउन भनिएको बताउँछन् । ‘हामीले राष्ट्रिय एकताको सन्देश हटाउन भनेका छैनौँ, चलचित्रमा क्षत्री र नेवार समुदायबीच अन्तद्र्वन्द्व गराउने खालका संवाद र दृश्य हटाउनुपर्ने देखिन्छ,’ उनले भने ।
सुशीलका अनुसार बोर्डको निर्देशनअनुरूप बस्नेतले ती दृश्य मिलाएर थप प्रक्रियाका लागि सोमबार आउने बताएका थिए । तर, सोमबार दिनभर कुर्दा पनि उनी नआएको सुनाउँदै उनले भने, ‘यता हामीलाई आउँछु भनेर कुराए, उता हंगामा गर्न थालेछन् ।’
निर्माता बस्नेत भने सेन्सर अध्यक्षको कुरो झुट भएको बताउँछन् । ‘उनीहरूले त्यो दृश्य काट्न भनेका छन्, जुन दृश्य चलचित्रको मुख्य थिम हो,’ उनले भने, ‘त्यसैले सेन्सरमा जानुको सट्टा सोमबार मिडियामाझ गएको हुँ ।’ सेन्सर पदाधिकारीले आफ्नो चलचित्रका भिलेन पात्र सम्राट सापकोटालाई लक्षित गर्दै किन नाक लामो भएको कलाकार राखेको भनेर अनावश्यक बखेडा झिकेको पनि उनले आरोप लगाए, ‘यस्तै हो भने कसैलाई किन नाक थेप्चा राखेको भन्लान् अनि कसैलाई किन कालो, गोरो वा अरू केही राखेको भन्लान्् । यीबाहेकका कलाकार कहाँबाट ल्याउनु ?’ अहिलेका छाडा चलचित्रको सेन्सर गर्ने बोर्डले मूलधारको चलचित्र नबुझेको उनको आरोप छ ।
बोर्ड अध्यक्ष ओझाले भने बस्नेतको आरोप पूरै अस्वीकार गर्दै आफूहरूले कलाकारका बारेमा केही कमेन्ट नगरेको बताए । ‘यो कुरा किन भन्नुभएको हो, उहाँलाई नै थाहा होला, हामीले कानुनी कुरा बोल्ने हो, कानुनले बन्देज लगाएको कुरामा मात्र सेन्सर लगाउँछौँ ।’ कतिले भने बस्नेतको यो हंगामालाई चलचित्रको प्रचारप्रसार गर्ने सस्तो रणनीति भनेर आलोचना पनि गरेका छन् ।
आगामी २९ गतेबाट प्रदर्शन गर्ने भनिएको चलचित्रमा जयकिसनका अलावा रेजिना उप्रेती, सुशील क्षेत्री, सुनील थापा, दिनेश शर्मा, शुभेच्छा थापा, शंकररत्न महर्जन, सुभाष गजुरेल, उत्तम केसी, शूरवीर पण्डित, आनन्द थापा लगायत कलाकारको अभिनय रहेको छ । यसको निर्देशन जयकिसनका दाजु शोभित बस्नेतले गरेका हुन् । श्रोत :सौर्य दैनिक 

Related

मनोरञ्जन 3991939963345833262

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item