होटेल तथा लजमा छापा;अवैध धन्दा गरिरहेकाहरु पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/07/i_5155.html
इटहरी,असार १७ । प्रहरीले शनिबार इटहरी तथा आसपासका क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टहरुमा छापा मारी अवैध यौन कार्य तथा लागुऔषध कारोबार गर्नेहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट आएको प्रहरी टोलीसँगै इलाका प्रहरी कार्यालय इटहरी र पकली तथा सिआरभीसमेतको चारवटा टोलीले एकसाथ होटेल तथा लजमा छापा मारेको हो ।
त्यस क्रममा विभिन्न होटेल तथा लजबाट दर्जनाँै जोडी, जुवाडे र केही लागु औषधको दुव्र्यसनीसमेत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक सागर थापाका अनुसार छापा मार्ने क्रममा विभिन्न होटेल, लज तथा रेस्टुराँबाट यौनजन्य तथा अन्य गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशङ्कामा २४ पुरुष र १७ महिलालाई पक्राउ गरिएको छ । प्रहरी टोलीले इटहरीको पश्चिमलाइनस्थित भत्केको पुल छेउको टिपटप होटेल एन्ड रेस्टुरेन्टबाट बिक्रीका लागि राखिएका केही लागुपदार्थसमेत फेला पारेका छन् । सो होटेलबाट ४९ थान कोरेक्स, तीन फाइल टिडी जेसिक, केही थान सिरिन्ज र एक पोका कण्डमसमेत प्रहरीले फेला पारेको छ । होटलबाट लागुपदार्थको कारोबारमा संलग्न होटेल सञ्चालक मोरङ उर्लाबारी–६ मङ्गलबारेका सुवास विक, उनका एक सहयोगी र एक महिला कर्मचारीसमेत पक्राउ परेका छन् ।
सोही क्षेत्रका केही होटेलबाट तास खेलिरहेका आधा दर्जन जुवाडेलाई समेत प्रहरीले छापा मार्ने क्रममा पक्राउ गरेको छ । प्रहरी टोलीले होटेल तथा लजमा छापा मार्ने क्रममा इटहरीको बसपार्क, धरानलाइन, विराटनगर लाइन र चोक आसपास क्षेत्रका होटेल तथा लजमा समेत छापा मारेर केहीलाई पक्राउ गरेको थियो ।
होटेल व्यवसायीले भने प्रहरीले अनावश्यक रुपमा छापा मारी आफूहरुको व्यवसाय चौपट बनाएको र राम्रा ग्राहकलाई समेत गलत आरोपमा पक्राउ गर्दा होटल व्यवसायीको पेसा सङ्कटमा पर्ने बताएका छन् । होटेल व्यवसायी सङ्घका अध्यक्ष अनुरोध थापाले होटेलभित्र गैरकानुनी काम गर्नेलाई कारबाही हुनुपर्नेमा आफूहरु सहमत भए पनि सबै होटललाई एउटै कसीमा राखेर हेर्न नहुने बताए । उनले राम्रा होटेलमा आउने ग्राहकलाई भड्काउने गरी प्रहरीले सञ्चालन गरेको छापा अभियान तत्काल रोकिनुपर्ने मँगसमेत गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !