मोटरसाइकल दाइजो नल्याएको भन्दै श्रीमतीको हत्या

http://sindhulidarpan.blogspot.com/2012/07/news_7058.html
वीरगन्ज,साउन ८ । दाइजोका निहुंमा बारामा एक महिलाको हत्या भएको छ । विश्रामपुर–३ मुसहर्वा टोलकी २२ वर्षीया बिन्तीदेवी साह कलवारको शनिबार बिहान हत्या भएको हो । पति सन्तोष साह र ससुरा शिवलाल साह कलवारले बिन्तीको हत्या गरेका हुन् । मागेजति दाइजो नल्याएको भन्दै सन्तोषले परिवारका सदस्यको सहयोगमा बिन्तीको हत्या गरेको विभिन्न नेपाली अनलाईन सस्करणहरुले छापेका छन् ।
हत्यालगत्तै शनिबार दिउँसै उनीहरूले बिन्तीको शव स्थानीय बंगरी खोलाको बगरमा जलाएको प्रहरीले जनाएको छ । हत्यापछि सन्तोषसहित बुबा शिवलाल र आमा फरार छन् । सन्तोषको परिवारका सबै सदस्यहरू फरार रहेकाले बिन्तीको हत्या भएको आशंका गरिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । ‘आइतबार सन्तोषको घर पुग्दा घरमा कोही भेटिएनन्,’ इन्स्पेक्टर घिमिरेले भने, ‘घरको ताल्चा फोडेर घरभित्र पस्दा भुइँ लिपपोत गरेर सफासुग्घर पारिएको थियो,’ उनले थपे, ‘घरको माहोल हेरेपछि थप आशंका पैदा गराएको छ ।’ आजको शौर्य दैनिकले समाचार छापेको छ ।

भारतको मोतीहारी जिल्लाको बेला गाउँ माइती भएकी बिन्तीको २४ जेठ २०६७ मा सन्तोषसँग मागीविवाह भएको थियो । विवाहका बेला बिन्तीको माइतीले नगद र सरसामानसमेत चार लाख रुपियाँ बराबरको दाइजो दिएका थिए । बिन्तीका बुबा कुञ्जविहारीका अनुसार सन्तोषले माइतीमा मोटरसाइकल माग्न तीन महिनादेखि बिन्तीलाई दबाब दिँदै आएका थिए ।
मोटरसाइकलका लागि सन्तोषसहित उनका परिवारका सदस्यले बिन्तीलाई पटकपटक मानसिक र शारीरिक यातना पनि दिँदै आएका थिए । ‘माइतीबाट मोटरसाइकल मागेर ल्याउनु भन्दै छोरीलाई उनीहरूले दिनहुँजसो कुटपिट गर्दै आएका थिए,’ कुञ्जविहारीले आइतबार प्रहरीसँग भने । दाइजोका लागि छोरीलाई कुटपिट गरिएको थाहा पाएर कुञ्जविहारी गत शुक्रबार बिन्तीको घर विश्रामपुरमै पुगेका थिए ।
दुईतीन महिनामा पैसाको जोहो गरेर मोटरसाइकल घरमै पुर्याइदिने आश्वासन दिएर उनी बिहीबार बेलुकी घर फर्किएका थिए । ‘मैले मोटरसाइकल किनेर दिन्छु भनेकै थिएँ,’ कुञ्जविहारीले भने, ‘तर, भोलिपल्ट नै छोरीको हत्या भयो ।’ शनिबार बिहान सन्तोषले फोन गेरर बिन्तीको मृत्यु भएको खबर दिएलगत्तै कुञ्जविहारी दिउँसो २ बजे विश्रामपुर पुगेका थिए । उनी पुग्दा सन्तोषका परिवारजनले बिन्तीको शव खोलामा लगेर जलाइसकेका थिए । दाइजोको निहुँमा बिन्तीलाई उनका पति, सासु र ससुराले पटकपटक कुटपिट गर्ने गरेको सन्तोषका छिमेकीले पनि बताएका छन् ।
यसअघि २२ चैतमा पनि बाराको कलैया–१४ विश्वम्भरपुरका शंकर कुशवाहाले दाइजो नल्याएको निहुँमै आफ्नी पत्नी ललिताकुमारीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । हत्याका आरोपी शंकरलाई प्रहरीले त्यही दिन उनकै घरबाट पक्राउ गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !