गाईजात्रामा रेखा थापाको उछितो


काठमाडौं, साउन  २२ । यसपटकको तितेजिरे मेरिबास्सै गाईजात्रा महोत्सवमा हास्य कलाकारहरूले नायिका रेखा थापालाई तारो बनाएका छन् । उनको छोटो मिनिस्कर्ट प्रसंगदेखि असफल वैवाहिक सम्बन्धसम्म गाईजात्राको मसला बनिरहेको छ ।
आफूमाथि गरिएको व्यंग्य हेर्न शनिबार प्रज्ञाभवनमा आएकी रेखाको अनुहार दयनीय देखिएको थियो । रेस्लिङ शीर्षकको प्रस्तुतिमा सीताराम कट्टेल धुर्मुसले मिनिस्कर्टको प्रसंग झिकेर व्यंग्य गर्दा नायिका थापा सँगै रहेकी आमासँग कुरा गर्ने बहानामा भुइँतिर हेरिरहेकी हुन्थिन् । खचाखच भरिएका दर्शकले रेखामाथि गरिएका व्यंग्यलाई ताली र हाँसोले साथ दिइरहेका थिए ।
व्यंग्य खाँदा–खाँदा असहज अनुभूति गरिरहेकी रेखालाई मनोज गजुरेलले एकचोटि उठिदिन आग्रह के गरेका थिए, हाँस्ने मुडमा रहेका दर्शकलाई बहाना मिलेछ, झन् मच्चीमच्ची हाँस्न थाले । रेखा देब्रे हातको नङ टोक्दै आफूलाई सहज बनाउन खोज्थिन्
तर सक्दिनथिन् ।
दीपकराज गिरीलगायतले प्रस्तुत गरेको गिद्धैगिद्धको सहर नामक सामग्रीले पनि रेखालाई छोडेन । दीपाश्री निरौला छोटो कट्टु र टि–सर्ट लगाएर रेखाको रूप धारण गरिरहेकी थिइन् । कथित ‘लव गुरु’ कहलिएकी रेखालाई फेरि घोचे दीपकले । यसपालि उनले रेखा र छविको टुटेको सम्बन्धलाई समाते, ‘आफ्नै श्रीमान्सँग वैवाहिक सम्बन्धको ठेगान नहुनेलाई पनि लवगुरु भन्न मिल्छ ?’
कुनै बेला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कम्मर मर्काई–मर्काई नाचेकी रेखाको त्यो प्रसंग पनि व्यंग्यको मसला बनेछ हास्य कलाकारलाई । अनि, दर्शकलाई हाँसोको सामग्री । अर्काकी श्रीमती लिएर हिँडेका प्रचण्डपुत्रको प्रसंगसँग जोड्दै फेरि घोचे दीपकले, ‘बाबुसँग नाच्नुसट्टा छोरासँग नाचेकी भए त अहिलेसम्म छोरै जन्मिसक्ने रहेछ नि †’
समग्रमा गिद्धैगिद्धको सहर अहिले उठिरहेका जातीय मुद्दा र त्यसले निम्त्याउन सक्ने विखण्डनप्रति लक्षित थियो । तीन भागमा बाँडिएको नेपाललाई तीनतिरबाट लुछाचँुडी गर्दै मान्छेको स्वरूप गिद्धमा
परिणत हुने प्रस्तुति व्यंग्यात्मक थियो अनि भावनात्मक पनि ।


कति व्यंग्य प्रधानमन्त्री एवं उपस्थित अन्य व्यक्तित्वप्रति लक्षित थिए । आफूलाई लक्ष्य गरेको व्यंग्यमा रातो अनुहार लगाएर बस्नेहरू अरूलाई गरिएका व्यंग्यमा चाहिँ दिल खोलेरै हाँसिरहेका थिए । प्रधानमन्त्रीकै उपस्थितिमा उनैलाई लक्षित गरिएका व्यंग्य प्रस्तुति हेर्न पाउँदा दर्शक स्वाद मानेर हाँसेको हाँस्यै गरे । प्रधानमन्त्री डा. बाबुराम
भट्टराई अन्त्यसम्मै बसेर कार्यक्रममा रौनक थपिरहेका थिए ।
गायिका इन्दिरा जोशीलाई लक्षित गर्दै ‘म नेपाली साकिरा हुँ’ भन्दै आएकी कुञ्जना घिमिरे ‘सुन्तली’ ले पनि दर्शकदीर्घामा छाएको मनोरञ्जनको पारो घट्न दिइनन् । प्रस्तुतिक्रममा उध्रेको चोली गीतमा नृत्य प्रस्तुत हुने बताए पनि अन्त्यमा नदेखाइँदा दर्शक आयोजकप्रति गुनासो गरिरहेका थिए । प्रज्ञाभवनमा सञ्चालन भइरहेको यो कार्यक्रम भदौ २ सम्म चल्नेछ ।
त्यसै गरी, राष्ट्रिय सभागृहमा पनि झ्याइँकुटी झ्याइँ, मेरिबास्सै र जय होस् टेलिसिरियलको संयुक्त प्रस्तुतिमा अर्को गाईजात्रा महोत्सव सञ्चालन भइरहेको छ । दमन रूपाखेती, शेखर खनाल, खेम शर्मा, केदार घिमिरेलगायत कलाकारको हास्यव्यंग्यात्मक प्रस्तुति रहेको यो महोत्सवचाहिँ साउन २७ सम्म चल्ने बताइएको छ ।
साभार:सौर्य दैनिक 

Related

मनोरञ्जन 5083939644464301425

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item