ललिता
http://sindhulidarpan.blogspot.com/2012/09/article.html
- ईटहरीको काम सकेर बुटवल जानपर्ने थियो त्यो दिन । यस्तै दिनको करिब अढाई बजे ईटहरी बसपार्क पुगेँ । बस त २ बजे नै छुटिसकेको रहेछ । अब अर्को बस सात बजे आउँछ, बिहान ४ बजे बुटबल झार्दिन्छ ।
मुनाल यातायातको काउन्टरबाट यत्ति जानकारी पाएपछि ७ बजेकै बसको टिकट लिएर कुर्न बाहेक बिकल्प थिएन म सँग ।
ओ हो साढे ४ घण्टा, अब कसरी कुर्नेहोला । चिन्तित थिएँ म तर बाध्यपनि थिएँ , कुर्नुको बिकल्पै थिएन् । यताउता टहलिरहेको थिएँ । निक्कै गर्मी भयो ।
करिब ३८ डिग्रीको भदौरे गर्मी छल्नको लागी चिसो पिउन ईटहरी वसपार्कको एउटा होटलमा छिरेको मात्र थिएँ, मेरो मुखबाट एक्कासी यो नाम निस्कियो,
‘ललिता ???’
मैले बोलाएको देखेर मलाई चिसो ल्याईदिने उनी छलिईन् ।
मैले फेरि बोलाएँ, ‘ललिता..................’
उनले सुन्या नसुने झै गरेपछि मैले होटलको साहुजीलाई बोलाएँ र सोधेँ, ‘अघि यहाँ चिसो ल्याईदिने केटीको नाम ललिता हैन ?’
‘हो ’, साहुजीले मुन्टो हल्लाए ।
मैले जसरी भएपनि उनलाई बोलाईदिन आग्रह गरेँ ।
साहुजीले नै भनेपछि उनले नकार्न सकिनन् । आएर शिर निहुराएर उभिईन मेरो छेऊमा ।
मैले सोधेँ, ‘तिमी ललिता हैन ?’
उनले मुन्टो हल्लाईन् ।
‘मलाई चिन्यौ ’ मैले फेरि सोधेँ ।
अँ, चिनेँ’ उनको जवाफ आयो ।
पुरानो थियो उनको र मेरो चिनाजानी । उनी मेरो मावली गाऊँककी चेली थिईन् । उमेरले लगभग म भन्दा ५– ६ बर्ष सानी भएपनि म मामाघर गएको बेलामा उनी मेरो साथी हुन्थीन् ।
करिब ३ बर्ष अगाडी काठमान्डौंको न्युरोडमा एकपटक भेटभएको थियो, ‘के गर्दैछौ आजकल ?’ ‘एकजना आन्टीको घरमा बसेर काम गर्दै पढदैछु ।’
राम्रो, राम्रोसंग पढनुपर्छ है ।’ यत्तिमात्र भन्न भ्याएको थिएँ त्यो बेला ।
३ बर्षपछि आज उनलाई यो ठाऊँमा देख्दा मलाई पत्याउनै गारो भैरहेको थियो । छोटो वनपिस कपडा लगाएकी, दाहिने ढाडमा पुतलिको टाटु खोपाएको उनको कपडा बाहिरबाट स्पष्टै देखिन्थ्यो ।
‘अनि, अहिले यहाँ , ईटहरीमा ? के गर्दैछौ ?’
मेरो आश्चर्य मिश्रीत भावको प्रश्नमा उनले टार्न खोजिन् , ‘केही हैन् । यत्तिकै । आन्टीको होटल हो अनि आएकी ।’
मलाई उनको जवाफमा त्यति विश्वाश लागेन् । शायद उनले मलाई झट्टै बिश्वाश नगरेकाले पनि होला खुलेर बोल्न नचाहेकी जस्तो लाग्यो ।
मैले उनको बिश्वाश पाउन फेरि प्रश्न गरेँ , ‘चिन्न त चिनेऊ नी मलाई ?’
चिनेँ, तपाई निर्मला दिदिको छोरा हैन त ?’ उसले थपी, ‘एफ एम रेडियोमा कार्यक्रम चलाउनुहुन्थ्यो, तपाईले चलाएको दुखबाँडे आधा हुन्छ खुशी बाँडे दोब्बर भन्ने कथाको कार्यक्रम त म नछुटाईकन सुन्थेँ ।’
![]() |
| तस्विर:गुगल |
ईटहरीको वसपार्क क्षेत्रको एक होटलमा चिसो पिउन पसेको म । सुनिन्थ्यो, ईटहरीमा अहिले क्याविन र रेष्टुरेन्टका नाममा खुल्लमखुल्ला यौनब्यापार हुनथालेको छ । हुनत ः बाहिरबाट हेर्दा सामान्य चिसो पाउने कोल्ड ड्रिंक पसल थियो त्यो । तर त्यो क्षेत्रको वारेमा सुनेका कुराहरुले गर्दा म उनी बारे झनै बढि जान्न चाहन्थेँ ।
के गर्छिन् ललिता त्यहाँ ? कसरी आईपुगिन ? हुनत ललिताको हकमा मैले सोचेको जस्तो नहुनपनि सक्छ । इटहरीको बारेमा जे सुनेको थिएँ, त्यसबाट ललिता टाढा नै हुनपनि सक्छिन् । तरपनि यो कुरा म उनीवाटै सुन्न चाहन्थेँ ।
यहाँ कुरा गर्न मिल्दैन् , माथी रुम छ । रुममा गएर बसेर कुरा गरौ न । ’ उनले यत्ति भनेपछि म उनको पछि लागेँ । अँध्यारो कोठा, कोठामा एउटा चारपाई, र चारपाईमा पातलो डस्ना र मैलो तन्ना थियो । चुरोटको गन्ध ह्वास्सै आईरहेको थियो कोठाबाट ।
*********
पुर्वी नेपालको ईलाम जिल्लाको एक गाऊँमा थियो ललिताको घर । मेरो मावलीगाऊँ पनि त्यहीँ हो । उनका बुबा बिष्ट सर गाउँकै बिद्यालयका मास्टर थिए, अदुवा, अम्लिसो,अलैची जस्ता इलामेली खेतीपाती पनि गर्थे, एमालेका गाऊँका नेतापनि थिए, वडाध्यक्षमा हारेका नेता हुन् । एउटा छोरा सदरमुकाम ईलाम बजारमा महेन्द्ररत्न क्याम्पस पढ्थ्यो ।
ललिता सानी थिईन, गाऊँकै बिद्यालयमा पढथिन् । सुखसाथ जिवन वितिरहेको थियो । तर पछिल्लोपटक १० बर्ष अगाडी २०५९ सालमा मामाघरपुग्दा गाउँमा न बिष्ट सर थिए, न उनको परिवार, न त उनको घरखेती नै बाँकी थियो ।
गाऊँमा सुनियो । छोरा सदरमुकाममा पढदापदै तत्कालिन माओवादीको बिद्यार्थी राजनितिमा लाग्यो । त्यही क्रममा ०५४ सालमा सेनाले इलाम बजारबाट पक्राऊ गरे । बेपत्ता बनाएको छोराको अहिलेसम्म अत्तोपत्तो छैन् , सुनियो भैरवनाथ गणमा मारिए रे । छोरा बेपत्ता भएपछि बिछिप्त बनेका ललिताका बुबा बिष्टसर पनि बिस्तारै बिस्तारै एमालेबाट माले हुँदै माओबादीमा ढल्के । शिक्षण पेशा नै त्यागेर पार्टीको होलटाइमर कार्यकर्ता भएर हिँडे ।
पछि सुनियो, पश्चिमतिर खटिएको वेलामा दोहोरो भिडन्तमा सेनाको आक्रमणमा परेर बिष्टसरपनि शहिद भए रे । उनको मृत्युको खबरले बिछिप्त बनेकी ललिताकी आमाले उनको काजक्रिया गरिन् । यतिबेलासम्मपनि छोराको अत्तोपत्तो केही भएन् ।
बिष्टसरको मृत्यु, छोरा बेपत्ता हुनु जस्ता अैरोमाथी पैरो पल्टेपछि बिष्टीनी बज्यैको दिन दुःखमय बन्दै गयो । उमेरैमा बिधवा बन्नपरेको पीडा छ छँदैथ्यो, त्यसमाथी गाउँलेको हेपाहा बचन र छिछि र दुरदुर सहन सकिनन् । उनका खेतवारीपनि अर्कैले खाईदिए र गाउँबाट उनलाई बोक्सीको आरोप लगाएर लखेटे । उनीसगै १० बर्षको उमेरमा गाऊँबाट धपाईन ललितापनि ।
‘यहाँ कोठामा यत्तिकै बस्योभने साहुले कराँउँछ , के ल्याऊँ ?’ एकैछिन् छाएको सन्नाटा ललिताको आवाजले भँग भयो ।
‘तपाईं रक्सी बियर केही लिनुहुन्छ ?’ उनले प्रश्न थपिन् ।
‘हैन, म पिऊँदिन् । जवाफ फर्काएँ ।
‘त्यसोभए म पिउँछु , २ वटा बियर र चुरोट लिएर आउँछु है ।’
मैले नाई भन्न सकिन् । आखिर मेरी मावली गाउँकी चेली कसरी यहाँसम्म आईपुगिन भन्ने कुरापनि बुझ्नुथियो । घडी हेरेँ भर्खर ४ बजेको थियो । अझै ३ घटा गाडी कुर्नथियो ।
आफ्नो थाकथलो छाडेर भाग्नुपरेपछि ललिताकी आमा बिष्टिनी बज्यै झापातिर बसेकी छिन् रे भन्ने पनि सुनिएको थियो गाऊँमा, पोईला गईन् रे छोरीसगै लिएर पनि भन्थे । यहाँभन्दा धेरै थाहा थिएन् ।
यत्तिकैमा हातमा बियरको बोतल समाएर चुरोटको सर्को सर्काउँदै आईपुगिन् ललिता । लाग्थ्यो उनले ती चुरोटका धुवाँहरुको सहारा लिएर आफ्ना पिडाहरु उडाउन खोजिरहेकी छिन्, बिर्षन खोजिरहेकी छिन् आफ्ना सबै बिगतहरु ।
तर मलाई जान्नुथियो उनको बिगत, यो १० बर्षयता के के भयो र उनी यो ठाऊँमा कसरी आईपुगिन् ।
मैले प्रसंग कोट्याएँ , ‘बा र दाजुलाई त्यस्तो नराम्रो भएछ । मामाघर नगएको पनि १० बर्ष भयो । १० बर्ष अगाडी मामाघर जाँदा तिमीहरुले गाउँ छाडिसकेका रहेछौ ।’
‘हो दाजु बेपत्ता भएदेखीनै हाम्रो घरमा बैरिका आँखा लागे, त्यसपछि त यो आँसु भन्ने चिज कैले रोकिएन् । झर्दा झर्दा अब त आँसु नै सकिईसके ।’यति भनेर उसले फेरि फुग चुरोटको धुवाँ उडाई र माथी छततिर एकनाशले टोलाएर हेरिरहि ।
म एकछिन् चुप रहेँ ।
‘संसार हेर्दा जति सफा र राम्रो छ भित्रभित्रै यो त्यत्ति नै फोहर र घिनलाग्दो छ सर, उसले आफ्नो पीडा र अनुभव दुवै बोली । ’
‘कसरी ?’ मैले कुरो खोतल्न शुरु गरेँ ।
हामी गाऊँ छाडेर हिँडन परेको त तपाईंले थाहा पाईसक्नुभयो होला ?’ प्रश्न गरि ।
अँ, त्यो त उ वेलै थाहा भएको ।’ मैले जवाफ दिएँ ।
‘त्यसपछि हामी झापाको विर्तामोड आयौं । मेरी आमाले अर्को एक ब्यक्तिसंग बिहे गर्नुभयो । तर त्यो मान्छे त दानव नै रहेछ । ’
म सुनिरहेँ ।
उ भन्दैथिई , ‘ त्यसबेला म १४ बर्षकी मात्र थिएँ । एकदिन रक्सी खाएर मलाई नै जवरजस्ति गर्न खोज्यो । झट्केलो बाबुबाट यस्तो ब्यबहार मलाई र आमा दुवैलाई सह्य भएन् । अनी आमाले त्यहाँबाट भगाएर मलाई एकजना चिनेको दिदिलाई भनेर काठमान्डौं पठाउनुभयो । उनै दिदिले चिनेको एउटा घरमा काम गर्न भनेर म काठमान्डौं आएको थिएँ । त्यो घरमा पनि ३ बर्षसम्म बसेँ ।’
म एकटकले उसको कुरा सुनिरहेको थिएँ । उ निरन्तर चुरोटको धुवाँ उडाउँदै बियरको चुस्की लिएर आफ्ना कुराहरु मलाई भन्दै थिई । त्यसबेलासम्म एक वोतल बियर र भुईंभरी दर्जनबढी चुरोटका ठुटा निभेको छरपस्ट देखिन्थ्यो । घडी हेरेँ साँझको साढे ५ बजिसकेको थियो ।
उसले आफ्ना कुरा निरन्तर भन्दैगई ,‘म बस्ने त्यो घरको छोरा थियो करिब २४ बर्षको ....करिब त्यो घरमा बसेको अढाई बर्षपछि.......उसले एकदिन बाबुआमा नभएको मौका पारेर मलाई जवरजस्ती यौनसम्बन्ध राख्यो । म चाहेर पनि बोल्न सक्ने अवस्थामा थिईन् । बोलुँ , त्यहाँबाट निस्केर जाने ठाऊँ थिएन् , नबोलुँ यी सब कर्तुतहरु म सहन सकिरहेको थिईन् । तैपनि आफ्नै भाग्य नै यस्तै रहेछ भनेर चुपचाप बसिरहेँ । तर त्यो भन्दा ठुलो बज्रपात मलाई त्यसबेला पर्यो जव म गर्भवती भएको थाहा पाएँ । घरको मालिक्नीलाई भनेँ यो कुरा । तर मेरो कुरामा बिश्वाश गरेर मलाई सहानुभुति दिनुको सट्टा मलाई औषधी खुवाएर जवरजस्ति गर्भपतन गर्न लगाए र त्यसको भोलिपल्टै त्यो घरबाट निकालिदिए । उसको छोरोले पनि त्यो बेला केही बोलेन् ।’
ललिताका आँखामा पीडाका भावहरु स्पष्टसंग देखिईरहेको थियो । उ भन्दैथिई, ‘सबैतिरबाट पीडै पीडा भएपछि म काठमान्डौंको सडकमा पुगेँ । कैयौं रात भोकभोकै पानीमात्र खाएर रत्नपार्कको सडक पेटीमा सुतेँ । त्यहाँ रहँदापनि सबैका गिद्धे नजर मैमाथी पर्थे । कोही जाने हैन भन्थे, कोही हजार रुपैंया दिन्छु भन्थे । यी सबबाट अवाक भएर न बाँच्नु न मर्नुको दोषाँधमा बाँचिरहेको थिएँ म । सासभएपनि जिवन थिएन मेरो शरिरमा । मर्नपनि सकिरहेको थिईन् ।’
ओ हो, कतीधेरै पीडामाथी पीडा पर्न सकेको ललितालाई, म मनमनै सोचिरहेको थिएँ ।
उसले भन्दैगई, ‘यत्तिकैमा एकदिन रत्नपार्कमै एकजना दिदि भेटिनुभयो । बहाँले मलाई नजिकै बागबजारको दोहरी रेष्टुरेन्टमा वेटरको काम लगाईदिनुभयो । वेटर भनेको के हो, वेटरले के काम गर्ने सम्मपनि थाहा थिएन् । त्यही दिदिले भनेकोले यत्तिमात्र बुझेको थिएँ, वेटरले रेष्टुरेन्टमा आएका ग्राहकलाई अडर गरेअनुसार खानेकुरा दिने काम गर्नुपर्छ ।’
‘२५ सय रुपैंया तलब दिन्छु ,बस्नेखाने ब्यबस्था त्यहीँ गरिदिन्छु भनेको थियो साहुले । काम गरेँ त्यहाँपनि ६ महिना जति । तर त्यहाँ काम लगाईदिने दिदिले भनेजस्तो खानेकुरा पुर्याईदिने मात्रै काम होईन् रहेछ ....ग्राहकलाई खुशी पार्न जेपनि गर्नुपर्ने । उनीहरुले भनेअनुसार गर्नुपर्ने..यदी गरेन भने साहुलाई भन्दीने र साहुले कामबाट निकालिदिने धम्कीदिन्थ्यो ।’
‘आखिर यस्तै लेख्या रहेछ भनेर चुपचाप स्विकार गरेँ आफ्नो भाग्यमा लेखेको कुरो भनेर । बिस्तारै बिस्तारै त्यही काम गर्दैगर्दा म रक्सी, बियर र चुरोट खान थालेँ र क्रमश ः ग्राहकहरुसंग सम्पर्कमा बाहिर बाहिर गएर शरिर बेच्न थालेँ । यहि माहोलमा रमाउन थालेँ म ..अब त जिन्दगी केहीपनि होईनरहेछ भन्नेजस्तो लाग्यो । बिस्तारै बिस्तारै त्यो दोहरीबाट पाएको पैसाले मलाई अपुग हुनथाल्यो । त्यसपछि त्यहीको २ जना साथीहरुसंगै ठमेलको डान्स रेष्टुरेन्टमा काम गर्नथालेँ । अनी त मेरो सिधा ब्यापार नै देहब्यापार बन्नपुग्यो । तपाईंलाई ३ बर्षअघि न्युरोडमा भेटदा म त्यही ठमेलको डान्स रेष्टुरेन्टमा काम गर्थे...दैनिक ५ जना सम्म शारिरिक सम्पर्क राखेँ मैले ।’
ललिताको कुरा एकटकले सुनिरहँदा म स्तब्ध भैसकेको थिएँ । लाग्थ्यो, साँच्चीकै कसैको ब्यथा सुनिरहेको छैन्, एउटा कारुणिक चलचित्र हेरिरहेको छु । उसले फेरि एक गिलास वियर एकै सासमा रित्याई ।
*********
रात पर्नै लागेको थियो । ७ बजेको गाडी चढन अब म संग आधाघंटामात्र समय थियो ।
‘अनि अहिले ईटहरीमा कसरी ?’ मैले सोधेँ ।
‘करिब ३ बर्ष काठमान्डौंको डान्स, क्याबिन र दोहरीमा काम गरेपछि म फेरि एकजना साथीको साथ लागेर ईंटहरी आएँ र अहिले यहाँ छु ।’
अनी के के गर्छौ यहाँ ?’
‘सबैथोक ।’
‘सबैथोक, भन्नाले ?’
‘ग्राहकले चाहेको सबैथोक बेच्छु ।’ उसले भनी ।
‘शरिरपनि ?’ मैले सोधेँ ।
‘किन र सर ? तपाईंले आवाज बेचेर खानहुने, बुद्धी बेचेर खानहुने । मैले म संग भएको शरिर बेचेर खान नहुने ? ’
म झस्केँ उसको जवाफले । हुन्छपनि भन्न सकिन हुन्नपनि भन्न सकिन् ।
उसले थपी, ‘तपाईंसंग पो बोल्ने कला छ , आवाज छ , रेडियोमा आवाज बेचेर खानुहुन्छ । मसंग त भाग्यले यही शरिरमात्र दियो, अनी यही बेचेर नखाए के गर्ने त ?’
उसको तारन्तर प्रश्नले मेरो दिमाग तात्यो । ‘यस्तो काम गर्नेलाई त समाजले राम्रो नजरले हेर्दैन नी, छिछि र दुरदुर गर्छन् ,इज्जत दिँदैनन्, बेस्या भन्छन् ।’ अलि रुखो जवाफ फर्काएँ मैले नी ।
‘बेस्या ?’,
रक्सीले मातिईसकेको स्वरमा उसले आफ्नो भित्रको भाव निकाल्दैथिई.....‘कुन इज्जतको कुरा गर्दैहुनुुहुन्छ सर तपार्इं ? मेरो दाई बेपत्ता भएपछि मेरो बाऊ लाई माओवादी भनेर माओवादीमा लाग्न बाध्य पार्ने गाउँले बेस्या कि म बेस्या ? बाऊ मरेपछि आमालाई दुब्र्यबहार गरेर गाऊँ निकाला गर्ने बेस्या कि म बेस्या ? म माथी यौनदुब्र्यहार गर्ने मेरो झट्केलो बाऊ बेस्या कि म बेस्या ? मलाई पेट बोकाएर गर्भ तुहाउने मेरा मालिकको छोरा र मालिकको परिवार बेस्या कि म बेस्या ? अनि, हरेक साँझ मेरो शरिरको मोलतोल गर्न आउने ती भलादमी भनाउँदाहरु बेस्या कि म बेस्या ?’
म अवाक भएँ ।
उसले भन्दैगई,‘ हेर्नुस सर, हामी बेस्या होईनौं , हामीलाई यो काम गर्न बाध्य बनाउने ती पात्रहरु बेस्या हुन् । अहिले तपाईं म संग यो कोठामा गफ गरेर बसिरहनुभएको छ नी, तल साहुले मेरो काँचो मासुको भाऊ बिलमा जोडिसक्यो, १ हजार रुपैंया । त्यसमा पनि ५ सय उसले आफैं राख्छ, ५ सय मलाई दिन्छ । अनी दिनभरी भलादमी भएर हिँडने पुलिस, सेना, कर्मचारी, पत्रकार रातपरेपछि सवै आफ्नो असलियत देखाउन यहाँ आईपुग्छन् । अनी, भन्नुस सर, यी निर्लज्जहरु बेस्या हुन् कि म बेस्या ?’
उनको कुराको जवाफ दिन सकिन मैलेँ । तरपनि मनमनै भने....तिमीभन्दापनि तिमीलाई यो स्थितिमा ल्याईपुर्याउने नै हुन बेस्या । यत्ति मात्र बोल्नसकेँ । घडी हेरेँ , सात बजिसकेको थियो । बस आउने बेला भयो । तल ओर्ले, नभन्दै ललिताले भनेझैं साहुले विल बनाईसकेको रहेछ......
कोठा नम्बर ४
कोठा ३००
खाना १०००
बियर २ वटा ८००
चुरोट १ बट्टा २००
जम्मा २३००
साहुको विल अनुसार उनीलाई २ वोतल बियर खुवाएर बात मारेको २३०० रुपैंया तिरेर म त्यहाँबाट निस्के । बस आईसकेको रहेछ । चढेँ । एकछिन्मा हुईकिएँ ....ईटहरी छाडेर धेरै परसम्म पुग्दापनि मलाई ललिताको त्यही प्रश्नले घोचिरह्यो, म बेस्या कि ती समाजका कुपात्रहरु बेस्या ????
समाप्त :
प्रस्तुती : पवन न्यौपाने ,काठमाण्डौ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !