नारायणकाजी श्रेष्ठ न्यूयोर्क जाँदै
http://sindhulidarpan.blogspot.com/2012/09/newyork.html
काठमाण्डौ,असोज ६ ।
संयुक्त राष्ट्रसङ्घको ६७ औँ महासभामा नेपालका तर्फबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्नुहुने भएको छ । महासभामा भाग लिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठ आज न्यूयोकै जाँदै हुनुहुन्छ ।
आठ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ न्यूयोर्क जान लाग्नुभएको हो । नेपाली प्रतिनिधिमन्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका सचिव जयमुकुन्द खनाल, परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयको राष्ट्रसङ्घीय महाशाखाका प्रमुख दीपक धिताल, र उपसचिव रामकाजी खड्का, नायव शिष्टाचार महापाल गणेश ढकाल, प्रधानमन्त्रीका स्वकीय सचिव फणिन्द्र देवकोटा, मन्त्री श्रेष्ठका स्वकीय सचिव शङ्कर दुलाल र नेपाल टेलिभिजनका छायाकार रामेश्वर शुक्ल सहभागी हुनुहुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालको तर्फबाट परराष्ट्रमन्त्री श्रेष्ठले यही असोज १२ गते महासभालाई सम्बोधन गुर्नहुने कार्यक्रम छ । उहाँले मुलुकमा जारी शान्तिप्रक्रिया, राजनीतिक स्थिति, संविधान लेखनमा भएका प्रयास, जलवायु परिवर्तनका कारण परेको प्रभाव, विश्व शान्ति, राष्ट्रसङ्घको सुधारलगायत विषयमा नेपालको धारणा प्रस्तुत गर्नुहुने छ । यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले अमेरिका बसाईको क्रममा विभिन्न मुलुकका समकक्षीहरूसँग भेटघाट गर्नुहुने छ । सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको नेपालले सन् १९६० मा पहिलोपटक महासभामा भाग लिएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !