जनकपुर म्याराथनका तीनवटै सिल्ड नेपाली सेनालाई




जनकपुर, असोज १३ ।
स्मार्ट सेल जनकपुर क्रस कन्ट्री म्याराथन –२०१२ को सिल्ड रामेछापका नेपाली सेनाले हात पारेका छन् । रंगभूमि मैदान बाह्रबिघामा आज  आयोजित म्याराथनमा पाँच हजार धावक सहभागी भए । 
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार फुल म्याराथन (४२.१९५ किलोमिटर), मिनि म्याराथन (१० किलोमिटर) र भेट्रान्स म्याराथन (३ किलोमिटर) को छुट्टाछुट्टै दुरीमा सहभागीहरु दौडेका थिए । फुल म्याराथनमा नेपाल र भारतका एक सय ७५, मिनि म्याराथन अन्तर्गत विद्यालय स्तरीय पुरुष तर्फ दुई हजार सात सय, महिला तर्फ चार सय, खुल्लामा पुरुष तर्फ पाँच सय पचास र महिला तर्फ डेढ सय तथा भेट्रान्समा १५ जना सहभागी दौडेका थिए । भेट्रान्समा ४० वर्ष नाघेका पुरुषहरु मात्र सहभागी भएका थिए । 
जनकपुर म्याराथनको मुख्य आकर्षण जनकपुर–ढल्केवर–जनकपुर ४२.१९५ किलोमिटरको दुरी दुई घण्टा ५२ मिनेट ३० सिकेन्डमा पार गरेर रामेछाप नेपाली सेना होमलाल श्रेष्ठ विजेता घोषित भए । दुई घण्टा ५४ मिनेट १० सिकेन्डमा दुरी तय गरेका सिन्धुलीका नेपाली सेना ज्ञानप्रसाद भट्टराई दोस्रो विजेता भए । तेस्रो विजेता घोषित भएका सर्लाहीका नेपाली सेना विमल कन्दङ्वाले सोही दुरी पार गर्न तीन घण्टा ११ मिनेट ३१ सेकेन्ड लगाएका थिए । उनीहरुलाई क्रमशः ५० हजार, २५ हजार र १० हजार नगदका साथै ट्रफी र प्रशंसा पत्र प्रदान गरिएको छ । 
मिनि म्याराथन अन्तर्गत खुल्लामा पुरुष तर्फ २९ मिनेट ६ सेकेन्डमा १० किलोमिटरको दुरी पार गरेर काठमाडौंका नेपाली सेना लालबहादुर थापाले प्रथम पुरस्कार कब्जा गरे । सोही दुरीमा २९ मिनेट २० सिकेन्ड लगाएका तेह्रथुमका उमेश कन्दङ्वा दोस्रो र ३० मिनेट १० सिकेन्ड लगाएका काठमाडौंका कुष्ण बाँनियाले तेस्रो पुरस्कार हात पारे । 
खुल्लामै महिला तर्फ ३६ मिनेट ५१ सिकेन्डमा दुरी तय गरी काठमाडौं सशस्त्र प्रहरीकी गीता खत्री प्रथम भइन् । ३८ मिनेट २१ सिकेन्डमा दौड पुरा गरेकी काठमाडौंकी सोनुजय राई र एक घण्टा तीन मिनेट ३६ सिकेन्ड लगाएकी जनकपुर गौरी क्याम्पसकी छात्रा सर्वज्योति सिंह क्रमशः दोस्रो र तेस्रो स्थान सुरक्षित गर्न सफल भएकी थिइन् । 
मिनिम्याराथनमै विद्यालय स्तरीय छात्र तर्फ भक्तपुरका लक्ष्मण काफ्ले ३३ मिनेट १० सिकेन्डमा दौड पुरा गरी प्रथम भए । ३३ मिनेट २० सिकेन्ड लगाएर नेपालगञ्जका श्यामसुन्दर लामिछाने दोस्रो र ३३ मिनेट ३८ सिकेन्ड खर्चका काठमाडौंका राजु श्रेष्ठ तेस्रो स्थानमा कायम भए । विद्यालय स्तरीयकै छात्रा तर्फ भक्तपुरकी शर्मिला क्षेत्री (४३ मिनेट ३५ सिकेन्ड) प्रथम, भोजपुरकी मिरा राई (४५ मिनेट २ सिकेन्ड) द्वितिय र भक्तपुरकी रिना कपाली (४७ मिनेट २७ सिकेन्ड) तृतिय भइन् । 
बाह्रबिघा मैदान, बेल्ही चोक, पिराडी चोक, रामानन्द चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, विषहरा चोक, कदम चोक, भानु चोक, मिल्स एरिया, वंशी चोक, थापा चोक हुँदै पुनः बाह्रबिघा मैदानसम्म दश किलोमिटरसम्मको दुरीमा दौडेका मिनि म्याराथनमा सहभागी सबै चरणका प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार पुरस्कार राशी तोकिएको थियो । 
४० वर्ष उमेर नाघिसकेका खेलप्रेमीहरुलाई उत्साह बढाउने उदेश्यले आयोजित तीन किलोमिटरको दुरीको भेट्रान्समा १५ जना कुदेका थिए । भेट्रान्समा धनुषा खजुरीका ४१ वर्षीय भुवनेश्वर मैनाली १२ मिनेट २ सेकेन्डमा तीन किलोमिटरको दुरी पार गरी प्रथम विजेता चयन भए । १४ मिनेट २० सेकेन्डमा दुरी तय गरेका सिरहाका ४१ वर्षीय प्रदीप यादव दोस्रो र १४ मिनेट २९ सेकेन्ड लगाएका धनुषा चक्करका ५७ वर्षीय गौरी मण्डल ललित तेस्रो भए । उनीहरुलाई आयोजक संस्थाले प्रशंसा पत्र प्रदान गरेको थियो । 
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पानसमा दीप प्रज्ज्वलन गरेर म्याराथन उद्घाटन गरेपछि दौड सुरु भएको थियो । दौडमा देखिएको सहभागीको उत्साह र सहभागीताको प्रशंसा गर्दै तिमल्सिनाले जनकपुरको खेल प्रतिस्पर्धा राखेप र खेलकुद मन्त्रालयले गराउन सक्नुपर्ने भन्दै यहाँको खेलकुद विकासमा राष्ट्रिय चासो हुनुपर्नेमा जोड दिए ।  

विदेशी खेलाडी सहभागी भएन

क्रस कन्ट्री म्याराथन भनिएपनि भारतका ५० र नेपालका बाहेक अन्य मुलुकका खेलाडी सहभागी भएनन् । कम्तीमा डेढ दर्जन मुलुकका खेलाडी सहभागी गराउने दावी गर्दै आएका आयोजकले राष्ट्रिय खेलकुद परिषद र एथलेक्सि संघको कमजोरीको कारण विदेशी खेलाडी आउन नसकेको जिकिर गरेको छ । ‘हामीले आमन्त्रित गरेका मध्ये अधिकांस मुलुकका खेलाडी आउने इच्छा जाहेर गरेपनि राखेप र एथलेटिक्स संघले प्रभावकारी पहल गर्न नसक्दा विदेशी खेलाडीहरु आउन सकेनन्’ आयोजक खेलकुद तथा संस्कृति विकास कोष जनकपुरका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो ।  

Related

प्रमूखखबरहरु 4802642150651849654

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item